
जाजरकोट, २७ कात्तिक– हिंसात्मक गतिविधिमा लागेकोमा असहमति जनाउ“दै मोहन वैद्य नेकपा–माओवादीका ४४ कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
लामो समयदेखि आफूहरु पार्टीमा सक्रिय रहेको र पार्टीको केन्द्रीय नेतृत्वले शान्तिपूर्ण बहिष्कार गर्ने भने पनि तल्लोस्तरमा पार्टीले हिंसात्मक गतिविधि सुरु गरेर बम पड्काउने र भौतिक आक्रमण गर्नेजस्ता गतिविधि गरेर जनताको अधिकार कुण्ठित गर्न थालेकाले आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको उनीहरुले बतए ।
नेकपा–माओवादीका नेताहरु नरबहादुर गिरी, नारायण खत्री, विज्ञान पुन, भरत रावल, नरबहादुर नेपाली, लालबहादुर थापालगायत ४४ जनाले बुधबार दल्लीमा पत्रकार सम्मेलन गरी सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
माओवादीको आक्रमणबाट एमाओवादी चार घाइते
त्यस्तै चुनाव प्रचारका क्रममा जाजरकोटको ढिमे–१ दम्दाला पुगेका एकीकृत नेकपा माओवादीका कार्यकर्तामाथि नेकपा–माओवादी कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणबाट एकीकृत माओवादीका चार जना कार्यकर्ता घाइते भएका छन् ।
घाइते भएकाहरुमा एमाओवादीका विष्णु मल्ल, शान्तबहादुर बस्नेत, सुशील जैसी र चेतबहादुर रावल रहेका छन् । उनीहरुको टाउको र खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले बताए । एकीकृत माओवादी जिल्ला संयोजक टेकबहादुर रावल प्रचार सकेर राति सुतिरहेको अवस्थामा वैद्य माओवादीका राष्ट्रिय जनस्वयम्सेवक संघका बलबहादुर मल्लको नेतृत्वमा आएको टोलीले राति ३ बजे आक्रमण गरेको बताए ।
एमाओवादी र काँग्रेसबीच झडप
यसैगरी क्षेत्र नं २ को मजकोटमा एकीकृत माओवादी र नेपाली काँग्रेसबीच झडप हुँदा नेपाली काँग्रेसका क्षेत्र नं २ का क्षेत्रीय सभापति वीरेन्द्र शाही घाइते भएका काँग्रेसका प्रेस संयोजक राजबहादुर सिंहले बताए । अहिले स्थिति तनावग्रस्त रहेको बताइएको छ ।