दुई उम्मेदवारको अवस्था अज्ञात

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ४:०७ मा प्रकाशित

इलाम, २७ कात्तिक– मंगलबार राती अपहरित इलाम र झापा क्षेत्र नम्बर ३ का सङ्घीय लिम्बुवान् राज्य परिषदका उम्मेदवार गोपाल थेवेको अवस्था अझै अज्ञात छ । चुनाव प्रचारप्रसारको सिलसिलामा झापा पुगेका थेवे अपहरणमा परेका थिए ।

उनलाई आफ्नो कब्जामा रहेको भनी नचिनेका व्यक्तिले राति विर्तामोडबाट ०२३–५४२९६१ नम्बरको टेलिफोनबाट परिषदका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङवालाई फोन गरेका थिए । अज्ञात व्यक्तिले आफ्नो कब्जामा रहेको बताएपछि थेवे अपहरणमा परेको पुष्टि भएको परिषद्का इलाम जिल्ला अध्यक्ष डम्बर लोरिङदेनले बताए ।

इलामको प्याङ निवासी थेवेको खोजीका लागि इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहाललाई समेत जानकारी गराएको लोरिङदेनले जानकारी दिए । प्रजिअ खतिवडाका अनुसार थेवेको अवस्था अज्ञात रहेको र खोजीकार्य जारी रहेको जानकारी दिए ।

आमा पार्टीकी उम्मेदवार पनि वेपत्ता

यसैबीच नेपाल आमा पार्टीको झापा क्षेत्र नम्बर ५ की प्रत्यक्ष उम्मेदवार चिन्तादेवी ढुङ्गेल बेपत्ता भएकी छिन् । चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा रहेकी ढुङ्गेल २४ गते साँझदेखि सम्पर्कविहीन भएको नेपाल आमा पार्टी जिल्ला कार्य समिति झापाले जनाएको छ ।

झापाको सतासीधाम– ८ स्थित माईधारमा घरदैलो कार्यक्रममा रहेकी ढुङगेलको अपहरण भएको हुनसक्ने सो पार्टीले निकालेको प्रेस बिज्ञप्तीमा उल्लेख छ । उनी परिवार, आफन्त र पार्टीको सम्पर्कमा नरहेको उम्मेदवार ढुङगेलका श्रीमान श्रीप्रसाद धिमालले जानकारी दिए ।

नेपाल आमा पार्टी र उनको परिवारले उम्मेदवार ढुङ्गेलको खोजी गरिदिन प्रशासन, मानव अधिकारवादी संघसंस्था, पत्रकार, नागरिक समाजलगायतसँग अनुरोध गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us