स्वतन्त्र उम्मेदवार नै प्रमुख चुनौती

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १:४२ मा प्रकाशित

surkhet-mapसुर्खेत, २७ कात्तिक– सुर्खेतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले यतिबेला निर्वाचन प्रचारप्रसारलाई चरम उत्कर्षमा पुर्याएका छन् । एकै दिनमा एउटै राजनीतिक दल तथा उम्मेदवारले १२ भन्दा बढी स्थानमा घरदैलो र सभा गर्ने गरेका छन् ।

तीनवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा पाँच महिला र तीनजना स्वतन्त्र उम्मेदवारसहित ४७ जना चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्र नं १ मा तीनजना महिलासहित १४, क्षेत्र नं २ मा दुई महिला र दुई स्वतन्त्रसहित १८ जना र क्षेत्र नं ३ मा एक स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । क्षेत्र नं १ र ३ मा स्वतन्त्र उम्मेदवारको चुनौती प्रमुख दलहरुलाई नभएको भए पनि क्षेत्र नं २ मा भने स्वतन्त्र उम्मेदवार नै प्रमुख दलको पहिलो चुनौती बनेका छन् ।

क्षेत्र नं ३ मा दीपेन्द्रसिंह विसी स्वतन्त्र उम्मेदवार छन् । उनको उम्मेदवारीले पनि त्यस क्षेत्रका उम्मेदवारहरुको मतमा प्रभाव पार्ने अनुमान छ । यता क्षेत्र नं २ मा शिवप्रसाद उपाध्याय र खगेन्द्रप्रसाद थानी स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । यो क्षेत्रमा त स्वतन्त्र उम्मेदवार उपाध्याय नै प्रमुख प्रतिस्पर्धी दलहरुको मुख्य चुनौती बनेका छन् ।

उपाध्याय यो क्षेत्र कै लोकप्रिय र जनतासँग घुलमिल भएका नेता भएका र ४० वर्ष राजनीतिमा बिताएकाले पनि सर्वसाधारण दलका उम्मेदवारभन्दा पनि उनीप्रति आकर्षित भएका छन् । उपाध्याय सुर्खेतको कम्युनिस्ट अगुवा नै हुन् । पछिल्लो समय नेकपा (एमाले) जिल्ला कमिटी सुर्खेतका उपाध्यक्ष रहेका उपाध्यायले पार्टीको टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र रुपमा उम्मेदवार दर्ता गरेका थिए ।

सामान्यतः एमालेमा नै रहेर राजनीति गरेकाले एमालेका उम्मेदवार यामलाल कँडेलका लागि मात्रै उपाध्यायको उम्मेदवारीले चुनौती थपिएको अनुमान गरिए पनि उनको उम्मेदवारीले यस क्षेत्रका प्रतिस्पर्धी मानिएका नेपाली काँग्रेसका हृदयराम थानी र एमाओवादीका भीमबहादुर मल्ललाई पनि चुनौती थपिएको छ । हुन त उपाध्यायको पक्षमा एमालेका जिल्ला कमिटीका पदाधिकारी र कार्यकर्ताहरु नै बढी प्रचारमा लागेका छन् तर नेकपा–माओवादी र नेपाली काँग्रेसका कार्यकर्ताहरु पनि उपाध्यायको प्रचारमा खुलेर लागेका छन् । नगरवासी भएकाले उपाध्यायका नातेदार र छिमेकी अन्य कुनै दल नभनी उनकै प्रचारमा लागेका छन् । अन्य राजनीतिक दलको भन्दा दुई हजार मतले आफू अगाडि रहेको उपाध्यायको दाबी छ ।

अघिल्लो निर्वाचनमा क्षेत्र नं २ मा प्रमुख तीन दलको निकै प्रतिस्पर्धा भएकाले यसपटक एउटा दलको थोरै मत स्वतन्त्र उम्मेदवारको पक्षमा गयो भने पनि अर्काे दलको उम्मेदवारलाई प्रत्यक्ष फाइदा हुने अनुमान यहाँका प्रमुख दलहरुको छ । एमाओवादीका उम्मेदवार भीमबहादुर मल्ल उपाध्याय स्वतन्त्र उम्मेदवार बनेकाले आफूलाई जितका लागि सहज भएको विश्लेषण गर्छन् । उनले आफ्नो पार्टीको थोरै मत उपाध्यायलाई गए पनि अघिल्लो निर्वाचनमा विजयी भएका एमाले उम्मेदवार कँडेललाई आउने ३० प्रतिशत मत उपाध्यायलाई जाने बताए ।

यता अघिल्लो निर्वाचनमा एमालेका कँडेलका प्रतिद्वन्द्वी बनेका नेपाली काँग्रेसका हृदयराम थानीले पनि नाता र छिमेक भएका कारण आफ्ना केही कार्यकर्ता उपाध्यायको पक्षमा लागेको भए पनि आफूले थोरै मतले मात्रै पराजित हुनुपरेकाले यसपटक कँडेलको मत उपाध्यायले काट्दा आफू विजयी हुने निश्चित भएको दाबी गरे । तर नेपाली काँग्रेसका यस क्षेत्रका असन्तुष्ट सबै कार्यकर्ता पार्टीका उम्मेदवारलाई जिताउनभन्दा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उपाध्यायकै पक्षमा उभिएका छन् ।

अघिल्लो संविधानसभाको निर्वाचनमा कुल ७६ हजार ७४६ मतदाता रहेको यस क्षेत्रमा यसपटक ५८ हजार ९०० मतदाता मात्रै रहेकामा स्वतन्त्र उम्मेदवार उपाध्यायले १२ हजार मत ल्याउने सर्वेक्षण गरेपछि यहाँका प्रमुख दलका उम्मेदवारलाई निकै चुनौती भएको अनुमान गरिएको छ । अघिल्लो निर्वाचनमा विजयी उम्मेदवार एमालेका कँडेलले १६ हजार २९७, उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका थानीले १४ हजार ६९३ र एमाओवादीका सीता नेपालीले १४ हजार ४४१ मत प्राप्त गरेका थिए ।

विशेषगरी स्वतन्त्र उम्मेदवार उपाध्यायका लागि लाटिकोइली गाविस, रतु गाविस, साटाखानी गाविस र नगरपालिकाको ५, १०, ११ १२ र वडा नं. ६ बलियो मानिन्छ । स्वतन्त्र उम्मेदवार उपाध्यायका लागि बलियो मानिएका यी गाविसहरु र नगरका विभिन्न क्षेत्रमा प्रमुख दल काँग्रेस, एमाओवादी र एमालेले पटकपटक सभा तथा घरदैलो गर्ने गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us