दाजू प्रधानमन्त्रीलाई स्वदेश फर्काउने बहिनी प्रधानमन्त्रीको प्रयास असफल

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १६:०९ मा प्रकाशित

Thai PM
बैंकक, २६ कात्तिक–थाइल्यान्डका प्रधानमन्त्री यिङ्लक सिनावात्राले गत सातादेखि दिनदेखि जारी रहेको सरकारविरोधी आन्दोलन तत्कालै रोक्न सबै विपक्षीहरूलाई आग्रह गरेका छन ।
त्यहाँको संसदले पारित गरेको आममाफीसम्बन्धी कानुन पारित गरेपछि त्यसको विरोधमा विपक्षीहरुले विगत करिब एक हप्तादेखि  आन्दोलन जारी राखेका छन् ।
तर सो कानुन भने थाइ संसदको माथिल्लो सदनले असफल गराइदिएको छ । सोमबार राति अबेर बसेको थाइ संसदको माथिल्लो सदनले उक्त विधेयकलाई सर्वसम्मतले असफल गराइदिएको छ ।
उक्त विधेयक असफल भएपछि पनि मङ्गलबार पनि आन्दोलन जारी नै रहेकोले प्रधानमन्त्री सिनावात्राले सबै विपक्षीहरुलाई आन्दोलन रोक्न आग्रह गरेकी हुन ।
विपक्षीहरुले मङ्गलबार पनि आन्दोलन जारी राखेका र बुधबारदेखि तीन दिनसम्म आम हड्तालको आयोजना गरेका छन् । सो हड्ताल रोक्न प्रधानमन्त्रीले मङ्गलबार एक विज्ञप्तिमार्फत आग्रह गरेकी हुन । उनले दिनहूँको आन्दोलन एवम् हड्तालले नागरिकको दैनिकीमा पनि समस्या पारेको र यसले थाइल्यान्डको प्रमुख आर्थिक आयको रूपमा रहेको पर्यटन उद्योगमा पनि  नकारात्मक असर पारेको बताएकी छन ।
सो कानुनको विरुद्धमा राजधानी बैंककमा मंगलवार पनि विपक्षीहरूले विरोध प्रदर्शन गरेका छन् । जारी सो प्रदर्शनलाई नियन्त्रणमा लिन सरकारले हजारौँको सङ्ख्यामा प्रहरी परिचालन गरेको छ ।
प्रधानमन्त्री सिनावात्राले भ्रष्टाचारको मुद्दा सामना गर्न नसकि विदेशमा निर्वासनमा रहेका आफ्ना दाजु एवम् पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई स्वदेश फर्किने सहमतिका लागि सो कानुन ल्याएको विपक्षीहरूले जनाएका छन् ।
विपक्षी दलका हजारौँ कार्यकर्ता सडकमा ओर्लिएर सो कानुनको विरोध गर्दै सो कानुनको खारेजीको माग गरिरहेका छन् । उक्त कानुन वर्तमान सरकारको बहुमत रहेको थाई संसदको तल्लो सभाले हालै पारित गरेको थियो ।
प्रधानमन्त्री सिनावात्राले भने देशमा एकताको भावना जागृत गर्न र राष्ट्रियता र विकासका लागि एकताबद्ध भएर अघि बढ्न सबै राजनीतिक दल तथा बिचारहरू अटाउन सक्ने गरी सो आममाफीसम्बन्धी कानुन ल्याइएको मङ्गलबार बताएकी छन ।
पूर्व प्रधानमन्त्री थाकसिन भ्रष्टाचारसम्बन्धी मुद्दा लागेका कारण विदेशमा रहेका छन् । यो कानुन पारित भएको भएमा भने उनलाई स्वदेश फर्किने बाटो खुल्ने थियो । हप्तादिनको बन्दका कारण थाइल्याण्डको अर्थिक क्षेत्रमा करोडौँ अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us