रामचन्द्र र सुजाता बसेको होटलमा एमाले कार्यकर्ताको आक्रमण

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १५:५० मा प्रकाशित

खोटाङ, २६ कात्तिक–नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा आधा दर्जन कार्यकर्ता घाइते भएका छन् ।
छुट्टाछुट्टै ठाउँमा भएको झडपमा दुवैतर्फका आधा दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका हुन् । जिल्लाको दक्षिणी गाविस खोटाङ बजारमा आयोजित काँग्रेसको चुनावी सभा सकेर होटलमा बसिरहेको अवस्थामा एमाले कार्यकर्ताले आक्रमण गरेपछि सोमबार साँझ झडप भएको काँग्रेस खोटाङका जिल्ला सभापति तथा क्षेत्र नं २ का उम्मेदवार विष्णुकुमार राईले जानकारी दिए ।    काँग्रेस उपसभापति रामचन्द्र पौडेल र नेत्री सुजाता कोइरालाले सम्बोधन गरेको कार्यक्रमपछि स्थानीय कुमार उदासको होटलमा बसिरहेको अवस्थामा एमालेका शिव फुयाँल, कुमार पराजुलीलगायतका २५÷३० जनाको समूहले आफूहरूमाथि आक्रमण गरेको राईले बताए ।
उम्मेदवार राईसहित समानुपातिक उम्मेदवार हीरा गुरुङ, रविप्रकाश राई, तीर्थराज भट्टराई, केदार ओझालगायतमाथि आक्रमण गरिएको काँग्रेस खोटाङका सदस्य भूपेन्द्र राईले बताए ।
घटनास्थलमा प्रहरी उपस्थित भए पनि मुकदर्शक बनेर हेरिरहेको सभापति राईको आरोप छ । उम्मेदवार राईका अनुसार झडपमा तीर्थराज भट्टराई र केदार ओझा घाइते भएका छन् । उनले भने,“एमाले हार्ने निश्चित भएपछि हामीमाथि आइलाग्न थालेको हो ।”
घटनाबारे मङ्गलबार दुवै पक्षबीच भएको छलफलमा एमालेले झन्डा तथा पोस्टर च्यातेको स्वीकार गर्दै माफी मागेपछि मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले बताए ।
यसैबीच, दोर्पा चिउरीडाडामा पनि सोमबार राति झडप हुँदा चारजना एमाले कार्यकर्ता घाइते भएका छन् । स्थानीय डिल्ली गुरुङ एमाले परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको विषयलाई लिएर भएको झगडामा दोर्पा चिउरीडाडा–९ का लालबहादुर गुरुङ, तिलक थापा, नेर्पा–५ का नरसिंह खड्का र शिवजी खड्का घाइते भएका हुन् ।
गुरुङ काँग्रेसमा प्रवेश गरेपछि घरैमा आक्रमण गर्न गएपछि भीडन्त भएको प्रहरी नायब उपरीक्षक साहको भनाइ छ ।
उम्मेदवार बेपत्ता
नेपाल आमा पार्टीकी झापा क्षेत्र नं ५ की प्रत्यक्षतर्फकी उम्मेदवार चिन्तादेवी ढुङ्गेल बेपत्ता भएकी छन । झापाको सतासीधाम–८ स्थित माईधारमा चुनावी प्रचार तथा घरदैलो कार्यक्रममा रहेकी ढुंगेल २४ गते साँझदेखि बेपत्ता भएको नेपाल आमा पार्टी जिल्ला कार्य समिति झापाले जनाएको छ ।
नेपाल आमा पार्टीका केन्द्रीय सचिव पवनकुमार कटुवाल र झापा जिल्ला अध्यक्ष खड्गनारायण सिंह राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बेपत्ता ढुङ्गेलको अवस्थाका बारेमा खोजबिन गरिदिन मानव अधिकारवादी संघसंस्था, पत्रकार, नागरिक समाज, प्रहरी प्रशासनसँग अनुरोध गरिएको छ ।

युथफोसले आफना कार्यकर्ता माथि आक्रमण गरी मोटरसाइकल तोडफोड गरेको संघीय समाजवादीको आरोप

संघीय समाजवादी पार्टीले आफ्ना कार्यकर्तालाई नेकपा (एमाले)का कार्यकर्ताले कुटपिट गर्नुका साथै दुईवटा मोटरसाइकलसमेत तोडफोड गरेको आरोप लगाएको छ ।
झापाको शान्तिनगर–१ को जुनेली गाउँमा सोमबार साँझ पार्टीका गाउँ समिति अध्यक्ष नरेन्द्र काङवाङको घरमा खाना खाइरहेको बेला एक्कासी एमालेका भातृ संगठन युथफोर्सका कार्यकर्ताहरुले आक्रमण गरेपछि चारजना घाइते भएको पार्टीका केन्द्रीय सदस्य विश्वदीप लिङ्देनले विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका हुन ।
उक्त आक्रमणमा परी काङवाङसहित पार्टीका जिल्ला उपाध्यक्ष केवलराम राई, बबलु तामाङ, लोकबहादुर चेम्जोङ र १५ वर्षीया मुना थापा, मगर घाइते भएको उनले बताए । त्यसपछि को १ प ११३७ र मे १ प ६७९७ नम्बरको मोटरसाइकल तोडफोड गरिएको उनले जानकारी गराए । यस घटना सम्बन्धमा स्थानीय प्रशासनमा जानकारी गराइसकिएको र प्रशासनले कारबाही नगरे आपूmहरु प्रतिकारमा उत्रने चेतावनी उनले दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us