अमेरिकाद्वारा मालद्वीपलाई चेतावनी

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १३:४३ मा प्रकाशित

माले– २६ कात्तिक– मालद्वीपका राष्ट्रपति मोहमद वाहिदले आफ्नो कार्यकाल सम्पन्न भएपछि पनि पदमा कायम रहन गरेको निर्णयले प्रजातन्त्रलाई जोखिममा पारेको भनी अमेरिकाले मङ्गलबार आलोचना गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार मध्यरातपछि कार्यावधि सकिएपछि पनि वाहिदले पदमा कायम रहन गरेको निर्णय यसअघि कहिल्यै नभएको बताएको छ । हिन्द महासागरमा अवस्थित यस मुलुकमा दुई महिनामा तेस्रो पटक पनि मतदान कार्य अवरुद्ध भएको छ । विदेश मन्त्रालयका प्रवक्ता जेन प्साकीले एक विज्ञप्तिमा राष्ट्रपतिको कार्यले आफूले छनौट गरेका नेता छान्न पाउने मालद्वीपका जनताको अधिकार जोखिममा परेको आरोप लगाएका छन् । उक्त विज्ञप्ति कोलम्बोस्थित अमेरिकी दूताबासले जारी गरेको हो ।

राष्ट्रपति वाहिदले आफू दोस्रो चरणको मतदान नोभेम्बर १६ मा नभएसम्म पदमा कायमै रहने घोषणा गरेका छन् । मालद्वीपको सर्वोच्च अदालतले आइतबार मतदान हुनु केही समय अगाडि उक्त मतदानलाई स्थगन गरेको थियो । उक्त कार्यलाई अमेरिकाले विरोध जनाएको छ भने यसले थप अन्तर्राष्ट्रिय आलोचना निम्त्याउने अनुमान गरिएको छ ।

अमेरिकाले मालद्वीपको सर्वोच्च अदालतले दोस्रो चरणको मतदान रोकेर प्रजातान्त्रिक प्रक्रियामा अनुचित रूपमा हस्तक्षेप गरेको आरोप लगाएको थियो । यसअघि सोमबार मालद्वीपका सभामुखले पनि राष्ट्रपति वाहिदलाई संविधानले तोकेको कार्यावधिभन्दा अधिक दिन पदमा कायम रहने अधिकार नभएको बताएका थिए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us