
नुवाकोट, २६ कात्तिक– नेपाली काँग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं १ का उम्मेदवार अर्जुननरसिंह केसी चढेको गाडीलाई लक्षित गर्दै आज दिउँसो पेट्रोल बम प्रहार भएको छ ।
क्षेत्र नं १ को मदानपुरका मतदातासँग मत माग्दै सदरमुकाम विदुरमा आयोजित आमसभामा सहभागी हुन आउँदै गर्दा नेता केसी चढेको गाडीलाई लक्षित गरी पासाङ ल्हामु राजमार्गको मदानपुर–८ जुरेथुममा मोटरसाइकलमा आएका अपरिचित दुई युवाले पेट्रोल बम प्रहार गरेको हो । पेट्रोल बम प्रहारबाट केसीको गाडीमा क्षति नभए पनि चुनावी सभामा सहभागी हुन विदुर आउँदै गरेको बा५च ६२५३ नं को टाटामोबाइल गाडीमा लागेको थियो ।
गुडिरहेको गाडीमा बम प्रहार हुँदा गाडीमा सामान्य क्षति भएको छ भने गाडीमा सवारलाई केही नभएको नेपाली काँग्रेस नुवाकोटले जनाएको छ । विदुरमा पत्रकारसँग कुरा गर्दै उम्मेदवार केसीले भने, ‘विचारले भिड्न नसक्ने लाछीहरुले लुकिछिपी आक्रमण गर्छन् । काँग्रेस कुनै पनि आक्रमणबाट विचलित नभई चुनावी अभियानमा अघि बढ्छ ।’ रासस