
काठमाण्डु, २६ कात्तिक– संविधानसभा निर्वाचन अनुगमन गर्न सशस्त्र प्रहरी बलले वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा अधिकारसहितको दस्ता (फ्लाइड स्क्वाड) परिचालन गरेको छ ।
पाँचवटै विकास क्षेत्रमा गठन गरिएको सो दस्ता मंगलबारदेखि सक्रिय भई निर्वाचन अवधिभर कायम रहने प्रहरी नायब उपरीक्षक अजय छतकुलीले बताए । उनका अनुसार सो दस्तालाई निर्वाचनका लागि एपिएफ इकाइलाई उपलब्ध गराइएको बजेट, सवारी साधन, इन्धन, सञ्चार उपकरण, बन्दोबस्तीका सामानको सदुपयोग भए नभएको तथा मानवअधिकारको रक्षा, राम्रो बोली व्यवहार र आर्थिक अनुशासन भए नभएकाबारे पनि अनुगमन गरी तत्कालै सम्बन्धित क्षेत्रबाटै आवश्यक निर्देशन दिनसक्ने अधिकार दिइएको छ ।
यसैगरी चौविसै घन्टा खुल्ला रहने केन्द्रीय तथा क्षेत्रीय निर्वाचन सेलमा जनशक्ति थप गरी आजैदेखि उच्चस्तरका प्रहरी अधिकृतको नेतृत्वमा देशभरको निर्वाचनसम्बन्धी गतिविधि रेखदेख तथा नियन्त्रण हुने व्यवस्था मिलाइएको पनि बताइएको छ ।