राष्ट्रपतिले पद त्यागे मात्र वार्तामा बस्ने

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ११:५४ मा प्रकाशित

बेरुत, २५ कात्तिक– सिरियाली विपक्षीहरु सरकारसँगको वार्तामा सशर्त रुपमा मात्र सहभागी हुने भएका छन् । विपक्षीहरुलाई सिरियामा हुन लागेको शान्ति वार्ताका लागि गरिएको आग्रहपछि उनीहरुको सो भनाई आएको हो ।

विपक्षीहरुले सिरियामा जारी रहेको हिंसाको शान्तिपूर्ण समाधानका लागि हालका त्यहाँका राष्ट्रपति बसार अल असादले पद त्याग्नुपर्ने वा उनले अर्काेलाई शक्ति हस्तान्तरण गर्नुपर्ने माग गरेका छन् । टर्कीको इस्तानबुलमा तीन दिनदेख जारी रहेको विपक्षीहरुको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा भएको निर्णयमा राष्ट्रपति असादले पूरै शक्ति हस्तान्तरण गरेपछि मात्र वार्ताको टेबलमा बस्ने जनाइएको छ ।

साथै सो बैठकले सिरियाली राष्ट्रपति असाद र उनका हालका सहयोगीलाई सिरियामा आगामी दिनमा हुने सङ्क्रमणकालीन अवस्थाको व्यवस्थापन गर्ने अधिकार पनि नरहेको सो बैठकको निर्णयमा जनाइएको छ । विपक्षीहरुको सो बैठकले उक्त निर्णय गरिएको समाचारको एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

यस विषयमा सिरियाली सरकारका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । उक्त निर्णयपछि अमेरिकी विदेशमन्त्री जोन केरीले विपक्षीका तर्फबाट आएको निर्णयलाई हेरेर वार्ता अघि बढ्ने प्रतिक्रिया दिए । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us