नेपालगञ्ज, २४ कात्तिक– कांग्रेस सभापति सुशील कोइरालाले आफू मरे पनि निर्वाचन नरोकिने बताएका छन् ।
बाँकेको नेपालगञ्जस्थित आफ्नै निवासमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ४ मंसिरमा निर्वाचन भएरै छाड्ने बताए । निर्वाचन रोक्न कुनै पनि बहानाले काम नगर्ने उनको भनाइ छ ।
कोइरालाले आमजनता, राजनीतिक दल र निर्वाचन आयोग निर्वाचनको पक्षमा रहेकाले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले कुनै हातलमा निर्वाचन भाँड्न नसक्ने दाबी गरे ।
‘म मरे पनि निर्वाचन रोकिन्न’, कोइरालाले भने’, ‘वैद्यजीहरुले पनि निर्वाचन रोक्न सक्नुहुन्न ।’ कोइरालाले जनतालाई आतंकित पार्ने गरी बम राख्ने काम रोक्न पनि वैद्य माओवादीलाई आग्रह गरे ।
उनले लोकतान्त्रिक संविधान र स्थायी सरकारका लागि काँग्रेसलाई बहुमत दिन आग्रह गरे । संविधानसभाको पहिलो बैठक बसेको एक वर्षभित्र मुलुकलाई संविधान दिने प्रतिबद्धता पनि उनले दोहोर्याए ।