
काठमाण्डु, २४ कात्तिक– यही कात्तिक २९ देखि मङ्सिर १२ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुने विश्वकप क्रिकेट छनोट प्रतियोगिता (टी–ट्वान्टी) मा नेपाली टोली छनौट भएमा उनीहरुलाई विभिन्न पुरस्कार दिने निजी क्षेत्रका व्यवसायीहरुले घोषणा गरेका छन् ।
आइतबार आयोजित कार्यक्रममा निजी क्षेत्रका आठ व्यावसायिक कम्पनीले खेलाडीलाई हौसला बढाउँदै पुरस्कार दिने घोषणा गरेका हुन् । एस् ट्राभल्स, बजाज कम्पनी, मेगा बैंक, एफवान सफ्ट, भोइथ समूह, गोल्डस्टार जुत्ता, युनिलिभर नेपाल र किङ्स कलेजले नेपाली टोली छनोट भएमा दुई वर्षका लागि दुई–दुई जना खेलाडीलाई रोजगारी दिने घोषणा गरेका हुन् ।
त्यसैगरी गोला प्रथाबाट प्रत्येक महिना दुई वर्षसम्म दुई जना खेलाडीलाई मासिक रु १५ हजार दिने घोषणा कार्यक्रममा गरिएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले नेपाली टोली विश्वकप क्रिकेटमा छनोट भएमा उत्कृष्ट नेपाली खेलाडीलाई टोयोटा कम्पनीका तर्फबाट टोयोटा कार दिने घोषणा गरे ।
सोही कार्यक्रममा पञ्चकन्या ग्रुपका महाप्रबन्धक प्रदीपकुमार श्रेष्ठले नेपाल क्रिकेट संघलाई रु एक लाख नगद सहयोग गरे । नेपाली टोलीका कप्तान पारस खड्काले पुरस्कार सहयोग घोषणाले खेलाडीहरुको मनोबल बढेको बताउँदै नेपाललाई छनोट चरणमा पुर्याएर छाड्ने दृढता व्यक्त गरे ।
केही समयअघि बर्मुडामा सम्पन्न आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री जितेर आएको नेपाली क्रिकेट टोली विश्वकप छनोट प्रतियोगितमा प्रतिस्पर्धा गर्न आइतबार साँझ दुबई प्रस्थान गर्दैछ । प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । रासस