बाघ मार्ने हामी,जुंगा उखेल्ने गगन ?

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ८:२९ मा प्रकाशित

Pasangनन्दकिशोर पुन ‘पासाङ’ एकीकृत माओवादीका केन्द्रीय सदस्य हुन् । १० वर्षे सशस्त्र युद्धताका अधिकांश समय माओवादी सैन्य मोर्चाको प्रमुखका रुपमा काम गरेका उनी ४ मंसिरको संविधानसभा निर्वाचनमा काठमाण्डु–४ बाट उम्मेदवार छन् । पासाङ र काँग्रेस युवा नेता गगन थापाको उम्मेदवारी रहेका कारण काठमाण्डु–४ चर्चाको शिखरमा छ । चुनावी अभियानका क्रममा काठमाण्डुको कपन ह्याण्डबल चौरमा भेटिएका पासाङसँग काठमाण्डु टुडेले लामो कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीको सम्पादित अंशः

घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ, मतदातासँग के भनेर भोट मागिरहनुभएको छ ?

घरदैलो अभियान एकदमै राम्रो भइरहेको छ । घरदैलो अभियानका क्रममा जनताहरुले संविधान बनोस् । स्थानीयतहमा विकास निर्माणका काम पनि होस् । मतदाता र नेतृत्वबीचको सम्बन्ध राम्रो होस् । पहिलाजस्तो जितेर गएपछि फर्किएर नआउने प्रक्रियाको अन्त होस् भनिरहनुभएको छ ।

जवाफमा जनतालाई के भन्ने गनुभएको छ ?

जनताका गुनासालाई मैले जायज रुपमा लिएको छु । हामीले जितेर गएपछि पहिलो भूमिका मुलुकलाई समयमै अग्रगामी संविधान दिनु हो । व्यक्तिगत र पार्टीगत रुपमा छिटोभन्दा छिटो संविधान निर्माण गर्न पहल गर्नु मेरो कर्तव्य हनेछ । यसअघि पनि हाम्रो पार्टीले संविधानसभाबाट संविधान जारी गर्न सक्दो प्रयास गरेकै हो । तर मुख्य दलहरुका बीचमा संघीयता र शासकीय स्वरुपजस्ता केही महत्वपूर्ण विषयमा सहमति हुन नसक्दा मुलुकले संविधान पाउन सकेन ।

यसपटक ६ महिनासम्म सहमतिको कोसिस हुन्छ, सहमति नभए संविधानसभामा मतदानको प्रक्रियाबाट विवादित विषयको टुंगो लगाइन्छ । दलहरुबीच त्यसबारे सहमतिसमेत भइसकेको छ । हामीले चुनावी घोषणापत्रमा पनि ढिलोमा एक वर्षभित्र संविधान जारी गरिसक्ने प्रतिबद्धता जनाएका छौ । त्यसपछिको प्रमुख कार्यभार मुलुकको विकास निर्माण र आर्थिक समृद्धि हो । त्यसका लागि हामीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकास योजना घोषणापत्रमार्फत अघि सारेका छौं ।

मतदाताहरुबाट कस्तो प्रतिक्रिया आइरहेको छ ?

मतदाताहरुले मप्रति देखाएको व्यवहारबाट एकदमै उत्साहित छु । म जहाँजहाँ जान्छु, त्यहाँत्यहाँ जनताले अवीर, माला लगाएर सगुन खान दिएर स्वागत गरिरहनुभएको छ । जनसहभागिता पनि तुलनात्मक रुपमा मेरैमा धेरै छ । सबैले गणतन्त्र ल्याउन केन्द्रीय भूमिकामा रहेर लडेका कारण मैले नै जित्नुपर्छ भनिरहनुभएको छ । काठमाण्डु–४ का करिब ८० प्रतिशत जनता मेरो पक्षमा छन् ।

तपाईं माओवादी सेनाका पूर्वलडाकु प्रमुख हुनुहुन्छ , त्यतिखेर ‘बुलेट’ को राजनीतिमा हुनुहुन्थ्यो, अहिले ‘ब्यालेट’ को राजनीतिमा हुनुहुन्छ, यी दुईमा के फरक हुँदोरहेछ ?

हामीले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना गरी मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि १० वर्षसम्म सशस्त्र जनयुद्धको नेतृत्व गर्यौं‍ । ऐतिहासिक रुपले त्यो हिजोको आवश्यकता थियो । सबैलाई थाहै छ कि मैले बुलेटको राजनीतिमा सदैव अग्रणी र निर्णायक भूमिका खेलें । जनसेना प्रमुखका रुपमा अधिकांश ठूला फौजी मोर्चाको प्रत्यक्ष नेतृत्व म आफैंले गरेको थिएँ ।

त्यसैका कारण देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, सामानुपातिकजस्ता राजनीतिक उपलब्धी हासिल भएका हुन् । पहिचानको राजनीति स्थापित गर्ने काम पनि हामीले नै गरेका हौं । यदि जनयुद्ध भएको थिएन भने नेपालमा यति छिट्टै गणतन्त्र सम्भव थिएन । नेपालमा जुनसुकै ठूला राजनीतिक परिवर्तन सशस्त्र संघर्षबाटै भएको छ । ००७ साल र २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि काँग्रेसले वा २०२८ सालमा तत्कालीन नेकपा माले र हालको एमालेले सशस्त्र संघर्ष चलाएकै हुन् । हामीले पनि २०५२ सालमा हतियार उठायौं ।

यद्यपि मैले अघि उल्लेख गरेको भन्दा हामीले गरेको विद्रोह निकै व्यवस्थित र योजनावद्ध थियो । अहिले हामीले शान्तिप्रक्रियाको महत्वपूर्ण पक्ष सेना समायोजनको काम सम्पन्न गरेका छौं । हामी बुलेटबाट प्राप्त राजनीतिक उपलब्धी ब्यालेटबाट संस्थागत गर्ने ठाउँमा छौं ।

विगतमा तपाईं घरमा बसिरहेको सामान्य युवालाई बन्दुक बोकाएर युद्धमा जान सहमत गराउनुहुन्थ्यो र उसलाई मर्न वा मार्नका लागि तयार पार्नुहुन्थ्यो । अहिले मतदाताको घरघरमा गएर भोट दिनुस् भनिरहनुभएको छ । यी दुईमध्ये कुनचाहिं काम सजिलो लाग्यो ?

समय सन्दर्भका आधारमा दुवै समयमा दुवै कुरा चुनौतीपूर्ण काम हुन् । जनयुद्धको समयमा मानिसलाई परिवर्तनको माहौलमा होम्नु त्यति सजिलो थिएन । त्यो भूमिका मैले कुशलतापूर्वक निर्वाह गर्न सकें । हामीले हजारौं युवाको सहभागितामा विशाल जनमुक्ति सेनाको संरचना तयार पारेका थियौं । त्यसको नेतृत्व गर्ने अवसर मैले पाएँ । जनमुक्ति सेना मात्र होइन आमजनता नै हाम्रो पार्टीको नेतृत्वमा गोलबन्द भए । जनताको साथ पाएरै हामीले जनयुद्धलाई यो उचाइसम्म ल्याउन सकेका हौं । अहिले परिस्थिति फेरिएको छ ।

शान्तिपूर्ण राजनीतिमा वा भनौं व्यालेटको मोर्चामा जनतालाई ‘कन्भिन्स’ गरेर नयाँ संविधान र आर्थिक सामाजिक रुपान्तरणको पक्षमा उभ्यान मिहेनत गर्नैपर्छ । माओवादीको त्याग र बलिदानबाटै मुलुकमा राजनीतिक परिवर्तन आएको हो भन्ने कुरा जनताले बुझेको पनि छ । संविधानसभा र गणतन्त्रको सक्कली आमा एकीकृत माओवादी नै हो । त्यसकारण एमाओवादीका उम्मेदवारलाई नै भोट दिनुपर्छ भन्ने भावना जनतामा छ । त्यसमा पनि जनयुद्धमा खासखास भूमिका निर्वाह गर्ने पात्रहरुका कारण यो परिवर्तन सम्भव भएको हो । उनीहरूलाई जिताउनुपर्छ भन्ने कुरा आमजनताले राम्ररी बुझेका छन् । त्यसैले मेरो विजय सुनिश्चित छ । म ढुक्क छु ।

तपाईंले चाहना राखेको भए गृहजिल्ला रोल्पाबाटै टिकट पाउने अवस्था थियो । जहाँ तपाईंले मत माग्न नगएकै भए पनि जित्न सक्नुहुन्थ्यो । काठमाण्डुकै पनि अरु क्षेत्रमा तपाईंलाई सजिलो थियो । तर किन काठमाण्डु–४ जस्तो चुनौतीपूर्ण क्षेत्र रोज्नुभयो ?

तपाईंले भनेको कुरा सही हो । रोल्पा मेरो जन्मथलो र कर्मथलो मात्र होइन एकीकृत माओवादीको आधारइलाका पनि हो । मैले चाहेको भए पार्टी नेतृत्वले उतैबाट टिकट दिन्थ्यो, यो पनि सत्य हो । त्यहाँ म सजिलै जित्थें पनि । त्यो बाहेक संघर्षका दौरानमा मैले ठूला फौजी मोर्चाहरुको नेतृत्व गरेका दाङ, म्याग्दी, अछाम, अर्घाखाँचीलगायत जिल्लाका जुनसुकै क्षेत्रबाट पनि म सजिलै जित्न सक्थें । काठमाण्डुका अरु क्षेत्र पनि हुनसक्थे । पार्टीका साथीहरुले पूर्वदेखि पश्चिमसम्म दर्जनौं स्थानमा पहिलो नम्बरमा राखेर मेरो नाम सिफारिस गरेका थिए । यहाँबाट पनि पहिलो नम्बरमै नाम गएको थियो । मेरो इच्छाको कदर गरेर पार्टीले मलाई काठमाण्डु–४ बाटै उम्मेदवार बनायो । यो क्षेत्रमा विगतमा काँग्रेस र एमालेले आलोपालो जित्दै आएका थिए । उनीहरुबाट आजित भएका यहाँका जनता हाम्रो पार्टीको नेतृत्व चाहिरेका थिए ।

यहाँका जनता क्रान्तिकारी र परिवर्तनका पक्षमा छन् । क्रान्तिकारी जनताको नेतृत्व क्रान्तिकारी र परिर्वतन पक्षधरबाहेक अरुले गर्नै सक्दैन । जनता परिवर्तनका पक्षमा भएर पनि नेता यथास्थितिवादी र पश्चगामी भएका कारण काठमाण्डु भएर पनि कयौं कारणले पिछडिएका ठाउँहरु पनि यस क्षेत्रमा छन् । जनता परिवर्तनकामी र नेता यथास्थितिवादी देखिसकेपछि मैले यहाँका जनताको नेतृत्व गर्नुपर्छ भनेरै चुनौती मोलेको हुँ । मेरो विगत नै चुनौतीमा खेलेर सफलता हात पार्नु हो । जनयुद्धका बेलामा पनि चुनौतीपूर्ण ठाउँमा पार्टीको विचार पुर्‍याउने र एजेण्डा स्थापित गर्ने भूमिका निर्वाह गरेको छु । अहिले पनि म चुनौती मोल्नबाट पछि हट्नु हुँदैन भन्ने मान्यता राखेर काठमाण्डु–४ मा उम्मेदवार बनेको हुँ ।

योगदानका हिसाबले तपाईं र काँग्रेसतर्फका तपाईंका प्रत्यासी गगन थापा दुवै संविधानसभाका लागि आवश्यक हुन् । तर एउटै क्षेत्रमा निर्वाचन लडेका कारण दुईमध्ये एउटा नेता संविधानसभाबाहिरै रहने अवस्था आयो भनेर चुक्चुकाउनेहरु पनि देखिएका छन्, यसमा के भन्नुहुन्छ ?

जनताका यस्ता कुरालाई ध्यानजर गरेरै मैले भनेको थिएँ कि गगनजी यो ठाउँबाट नउठ्दा ठीक हुन्छ । मैले एक वर्षअघि नै काठमाण्डु–४ बाट उठ्ने मनस्थिति बनाइसकेको थिएँ । सञ्चारमाध्यममार्फत पनि मैले पहिल्यै काठमाण्डु–४ मा उठ्दै छु भनेको थिएँ । गगनजीलाई प्रत्यक्ष र अप्रत्यक्ष दुवै हिसाबले खबर गरिराखेको थिएँ कि म उठ्दै छु त्यसैले तपाईं यो क्षेत्रबाट नउठ्दा ठीक हुन्छ । अन्तिममा टिकट पाउने अवस्थामा समेत सञ्चारमाध्यममार्फत अपिल गरेको थिएँ, गगनजीले अन्तै रोज्दा ठीक हुन्छ ।

तर मेरो त्यो सदासयता र हार्दिकताको मर्म नबुझी उहाँले केही सञ्चारमाध्यममार्फत पासाङ डराएर काठमाण्डु–४ बाट भाग्दैछ भन्ने हल्ला चलाउनुभयो । मेरो आग्रहमा त सहजता र सौहार्दता थियो । तर प्रचार उल्टो गरियो । त्यसमाथि गगनजीका बारेमा अन्तिमसम्म पनि उहाँको पार्टीमा विवाद थियो । बागी उम्मेदवारी दिने अवस्थासम्म बन्यो । तर विवाद हुँदाहुँदै जानिबुझी उहाँ मसँग भिड्न आउनुभएको हो । गगनजीकै कारण सुप्रभा घिमिरेजस्ती स्थापित, जुझारु र स्वच्छ छविकी नेतृले पार्टी नै छाडेर बागी उम्मेदवार बन्नुपर्ने अवस्था आयो । त्यसो नहुनुपर्थ्यो, यो मेरा लागि पनि दुःखद पक्ष हो । उहाँले हठ नगरी मलाई छोडेको भए आजीवन काँग्रेसमा त्याग गरेकी स्थापित नेतृले म काँग्रेसमा छैन भन्ने घोषणा गर्नुपर्ने थिएन ।

यसबाट काँग्रेस र स्वयम् गगनजीलाई नै नोक्सानी पुगेको छ । त्यसमा मेरो भन्ने केही छैन । भूमिकाको कुरा गर्ने हो भने विगत संविधानसभामा उहाँ समानुपातिक सभासद् हुनुहुन्थ्यो । उहाँले त्यतिखेर कस्तो रोल खेल्नुभयो भन्ने त इतिहास साक्षी छ नि । उहाँले के गर्न सक्नुहुन्छ र के गर्न सक्नुहुन्न भन्ने कुरा राम्ररी बुझिसकिएको छ । पहिचानसहितको संघीयताका पक्षमा उहाँका सोचाई र अडान कस्तो छ भन्ने कुरा पनि प्रष्ट छ । उहाँ संघीयता र पहिचानविरोधी हुनुहुन्छ । अर्को भुल्नै नमिल्ने कुरा के छ भने उहाँ काँग्रेसको केन्द्रीय सदस्य हो । उहाँको पार्टी नै परिवर्तनको पक्षमा छैन भने उहाँ कसरी क्रान्तिकारी ? पार्टीमा उहाँले भनेका कुनै पनि कुरा लागू अवस्था छैन । अनि उहाँमा जतिसुकै सकारात्मक उर्जा भए पनि त्यसको के अर्थ ?

सिंगो संरचना नै यथास्थितिवादी छ भने एकजना व्यक्तिले चाहंदैमा केही गर्न सक्ने स्थिति रहँदैन । उहाँको पार्टीले पूरानो विचार र यथास्थिति नछाड्ने अनि उहाँ चाहिं कसरी धुरुन्धार क्रान्तिकारी हुन सक्नुहुन्छ ? उहाँले पार्टीको लाइन मानेर काम गर्ने हो । उहाँको काम भनेको बूढो नेतृत्वले जे भन्छ त्यही गर्ने हो । त्यसैले उहाँले केही गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्दैन । जनताले पनि यो कुरा बुझिसकेको छ । दोश्रो कुरा पार्टीको नयाँ विचार भए न उहाँको हुने हो । उहाँको संघीयताविरोकी छवि बनिसकेको छ । हामी दुवै युवा हौं । तर उहाँ र ममा धेरै अन्तर छ ।

उहाँ सुखका साथ सहरमा हुर्किएको खानदानी परिवारको मान्छे हो । मिडियामा अरुभन्दा फरक र मीठा कुरा गरेर कमाएको लोकप्रियताले उहाँमा घमण्ड पनि छ । तर म देशकै विकट ग्रामीण क्षेत्रमा जन्मिएको, माटोसँग खेलेर हुर्किएको र दुःख कष्टका साथ संघर्ष गरेको व्यक्ति हुँ । मैले आफ्नो पूरै जीवन संघर्षमा बिताएको छु । मिहेनत र परिश्रमका साथ गोलीसँग खेलेर, मृत्युसँग जुधेर आएको युवा हुँ । पटकपटक मृत्युको मुखबाट बचेको छु । त्यसैले गगनजी र मेरो बीचमा धेरै अन्तर छ । उहासँग मेरो तुलनै हुन सक्दैन । हामीबीच आकास–पातालको अन्तर छ । यद्यपि केके र कहाँकहाँ अन्तर छ, यो छुट्याउने जिम्मा जनताको हो । तर गगनजी र मलाई एकै ठाउँमा राखेर दाँज्न खोज्नु मैले गरेको योगदानको अवमूल्यन हो ।

गगन थापाको पनि त गणतन्त्र स्थापनामा योगदान छ नि होइन र ? उहाँलाई रुचाउने पंक्ति पनि त कम छैन नि नेपालमा ?

मैले उहाँले सिन्को नै भाँच्नुभएको छैन त मैले पनि छैन नि । तपाईंले सोधेपछि मैले भन्नैपर्ने हुन्छ कि बाघ हामीले मारेका हौं, हामीले मारेको बाघको जुगा उखेलेर उहाँले बहादुरीता देखाउन खोज्नुभएको हो । गणतन्त्र ल्याउन कसको कति भूमिका छ भन्ने कुरा जनताले राम्ररी बुझेका छन् । म गणतन्त्र ल्याउनुपर्छ भनेर २०५२ सालमा जनयुद्धमा लाग्दा गगनजी कहाँ हुनुहुन्थ्यो र के गर्नुहुन्थ्यो कसलाई थाहा छैन र ?

साहित्यकार खगेन्द्र संग्रौला पहिला गगन थापाको चुनाव प्रचारमा गएको कुरा आएको थियो, पछि उहाँ तपाईंकोमा पनि देखिनुभयो । खासमा त्यो के भएको ?

खगेन्द्रजी चुनावी घरदैलो अभियानकै दौरान मलाई भेट्न आउनुभएको थियो । उहाँका अनुसार गगनजी मत माग्दै उहाँकोमा पुग्नुभएको रहेछ । त्यहीबेला खिचाएको फोटो गगनजीले चलाखीपूर्वक मेरो प्रचारमा खगेन्द्र भन्ने ढंगले बाहिर ल्याइदिनुभएको हो रे । त्यसरी भ्रम छरेको कुरा मलाई मन परेन भन्नुभयो । खगेन्द्रजी केही समय मसँगै पनि हिंड्नुभयो । चुनाव तपाईंले नै जित्नुपर्छ भन्नुभयो । परिवर्तनको समग्र प्रक्रियामा राजनीतिक नेतृत्व प्रचण्ड र फौजी नेतृत्व पासाङले गरेको हुनाले पासाङले नै जित्नुपर्छ भन्ने उहाँको भनाइ थियो ।

उम्मेवारी दिएपछि पनि गगन थापासँग तपाईंको कुरा भएको छ ?

भएको छैन । मैले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा पटकपटक गरेको आग्रह इन्कार गरिसकेपछि उहाँलाई फेरि त्यही कुरा भनिरहनुको के अर्थ रह्यो र ?

त्यसो भए गगन थापा घमण्डी हुनुहुँदो रहेछ है ?

व्यक्तिगत रुपमा उहाँलाई म त्यसो भनेर आरोपित गर्न चाहन्न । हामीले वैचारिक प्रतिवाद गर्ने हो । मैले अघि पनि भनें गगनजी मेरो पटकपटकको आग्रह लत्याएर खोजीखोजी मसँग भिड्न आउनुभएको हो । नआएको भए जाति हुन्थ्यो । दुवै जना जित्नुपर्ने व्यक्ति हुन् भन्ने शुभचिन्तकलाई त्यो कुरा राम्ररी बुझिदिन मेरो नम्र निवेदन छ ।

तर लोकतन्त्रमा सकैले कसैलाई मसँग चुनाव लड्नै पाउँदैनस् भन्ने कुरा त सुहाए न नि ?

मैले त्यसो कहाँ भनेको छु र ? त्यसो भनेको भए गगनजीले त्यसलाई कति ठूलो बनाएर प्रचार गर्नुहुन्थ्यो होला । लोकतन्त्रमा प्रतिस्पर्धा गर्ने छुट सबैलाई छ । तर मैदानमा उत्रिइसकेपछि खेलको नियमअनुसार जनताले दिएको परिणाम स्वीकार्न तयार हुनुपर्छ ।

तपाईंले गगन थापाकी आमासँग समेत भोट माग्नुभएछ ? के भन्नुभयो उहाँले ?

घरदैलो अभियानका क्रममा केही दिनअघि उहाँको घरमा पुगेको थिएँ । उहाँको भाई र आमालाई भेटें । एकदमै राम्रो व्यवहार गर्नुभयो । आमाले ‘चुनाव जितेर आउनु’ भन्ने आशिर्वाद दिनुभयो । गगनजी मात्र होइन, एमालेका निर्मल कुईंकेल र राप्रपा नेपालका उद्धव पौडलेसहित काठमाण्डु–४ मा उम्मेदवारी दिएका सबैको घरमा पुगेर भोट मागेको छु ।

झण्डै डेढ वर्षअघि तपाईंका दुवै मिर्गौलाले काम गर्न छाडे र अस्पताल भर्ना हुनुभयो । उपचारका लागि विदेश जान पार्टीको शीर्ष नेतृत्व र परिवारबाट ठूलै दवाव आएको सुनिन्थ्यो तर तपाईं जानुभएन । अहिले त्यही विषयलाई लिएर कतिपय मान्छेहरुले तपाईंलाई राष्ट्रवादी नेताको उपमा दिएको पाइन्छ । के तपाईंले मानिसहरूको सहानुभूति बटुल्नकै लागि त्यसो गर्नुभएको थियो ?

पहिलो कुरा त जतिखेर मेरो दुवै मिर्गौला ‘ड्यामेज’ भयो, त्यतिखेर निर्वाचनमा उठ्नुपर्छ त्यसका लागि ‘पब्लिक सेण्टिमेण्ट’ जित्नुपर्छ भन्ने कुरा मेरो दिमागमै थिएन । दोस्रो कुरा कुन मुर्खले ज्यानै जोखिममा राखेर सस्तो लोकप्रियताका लागि जीवनै धरापमा राख्ने काम गर्ला ? म आत्मबल उच्च भएको मानिस हुँ । मलाई यहीं निको हुन्छु भन्ने आत्मविश्वास थियो । अर्को कुरा स्वदेशी चिकित्सक, औषधि र उपचार पद्दतिप्रति मेरो विश्वास हिजो पनि थियो र आज पनि छ । त्यतिखेर मात्र होइन, म अघिदेखि नै आफ्नो देशका डाक्टरहरूको विश्वास गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । आफ्नो देशमा भएको कुरामा विश्वास गरेर मात्र आफूलाई विश्वास गर्न सकिन्छ । त्यति मात्र होइन म आफ्नो उपचारका लागि पार्टी वा राज्यलाई आर्थिक बोझ बोकाउनु हुँदैन भन्ने मान्यता राख्दछु । भविष्यमा पनि म त्यस्तो काम गर्न चाहन्न ।

Nanda-Kishor-Punतपाईंले चुनावी अभियानको सुरुमै आफ्नो उपचारमा संलग्न डा. भोला रिजाललाई भेट्नु भएछ । के भन्नुभएको थियो उहाँले ?

उहाँको जन्मदिनका अवसरमा म शुभकामना दिन घरमै गएको थिएँ । डा. रिजाल खुसी हुनुभयो । विजयको शुभकामना दिनुभएको छ । तपाईं राष्ट्रवादी नेता हो, तपाईंले हामीमाथि भरोसा गरेकै कारण नेपालका चिकित्सकहरुले गर्व गर्ने अवसर पाएका छन् भन्नुभयो । उहाँहरुले मेरो नयाँ जीवन दिनुभएको छ, उहाँहरुकै योगदानले आज मैले नयाँ जीवन पाएको छु ।

त्यसका लागि उपचारमा संलग्न सबै चिकित्सकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । जसले जीवन दिएको छ, उसले भोट पनि दिन्छ भन्ने अपेक्षा छ । डाक्टरहरु सबैले विचारमा जेजे भए पनि हामी भोट दिन्छौं भन्नुभएको छ । आफ्ना नातागोता र आफन्तलाई पनि मत दिनका लागि आग्रह गरिरहनुभएको छ ।

तपाईं लडाकु प्रमुख भएर पनि शान्तिप्रक्रियापछि ‘लो प्रोफाइल’ मै बस्नुभयो किन ?

मेरो स्वभाव नै चर्चामा आउने खालको छैन । सयुक्त राष्ट्रसंघले प्रमाणीकरण गरेका १९ हजार २ सय हतियारबद्ध दस्ताको नेतृत्व गरेको थिएँ । शान्तिप्रक्रिया टुंग्याउने दौरानमा र चार वर्ष लामो कष्टप्रद अस्थायी शिविरको बसाइमा जतिसुकै असन्तुष्टि भए पनि हामीले कहिल्यै अधैर्यता देखाएनौं । सैन्य संगठनको प्रमुखका नाताले मैले शान्तिप्रक्रिया र सेना समायोजनमा जिम्मेवार र सन्तुलित भूमिका नखेलेको भए सायद शान्तिप्रक्रिया धैरै जटिल हुने थियो ।

के मैले हामी अपमानजनक समायोजनका पक्षमा छैनौं, त्यसैले सबै बाहिर जाऔं भनेर अपिल गरेको भए सबैले साथ दिन्थे । त्यसपछि परिणाम के आउनसक्थ्यो होला ? अध्यक्ष प्रचण्डले पार्टीको दस्तावेजमै सो कुरा उल्लेख गर्नुभएको छ । एउटा व्यक्तिलाई मुलुकको महत्वपूर्ण समस्या समाधानका लागि त्यति ठूलो अवसर आउनु चानचुने कुरा होइन । यद्यपि त्यसको मूल्यांकन जनताले गर्ने हो । यतिखेर म निर्वाचनको मैदनमा छु, मलाई लाग्छ मेरो योगदानको कदर जनताले निर्वाचनमा गर्नेछन् । मप्रति इतिहासले अन्याय गर्नेछैन भन्नेमा विश्वस्त छु ।

तपाईंहरुसँग हिजो युद्ध लडेका केही मानिसहरु मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीमा छन् । निर्वाचन बहिस्कार अभियान चलाइरहेका उनीहरुलाई के भन्नुहुन्छ ?

लोकतन्त्रमा हरेक नागरिकलाई निर्वाचनमा भाग लिने र नलिने दुवै अधिकार छ । तर कसैको मताधिकार छिन्ने अधिकार भने कसैलाई छैन । राजनीतिक रुपले निर्वाचनको विरोध गर्ने कुरामा उहाँहरुका आफ्नै दृष्टिकोण होलान् । त्यसमा मेरो भन्नु केही छैन । मलाई लाग्छ उहाँहरुले चाहेर पनि निर्वाचन बिथोल्न सक्नुहुन्न । निर्वाचन हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us