
काठमाण्डु, २३ कात्तिक– क्रिकेटप्रेमी एवम् प्रशंसकहरूले यही कात्तिक २९ देखि मङ्सिर १२ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुने विश्वकप क्रिकेट छनोट प्रतियोगिता (ट्वेन्टी–ट्वेन्टी)मा भाग लिने नेपाली टोलीलाई राष्ट्रको प्रतिष्ठालाई हृदयंगम गर्दै मैदानमा उत्रन आग्रह गरेका छन् ।
केही समयअघि बर्मुडामा सम्पन्न आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री जितेर आएको नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार वितरण तथा विश्वकप छनोट प्रतियोगितमा स्पर्धा गर्न आइतबार दुबई प्रस्थान गर्ने सो समूहलाई बिदाई गर्न शनिबार आयोजित कार्यक्रममा उनीहरूले त्यस्तो आग्रह गरेका हुन् ।
खेलाडीलाई ४० हजार
बहुराष्ट्रिय कम्पनीद्वय पेप्सी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले आयोजना गरेको उक्त कार्यक्रममा दुबै संस्थाका प्रमुखहरूले टिम क्याप्टेन पारस खड्कासहित १४ जना खेलाडीलाई जनही रु २०–२० हजार प्रदान गरे । प्रोत्साहनस्वरुप उनीहरूले प्रति खेलाडी रु ४० हजार प्राप्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव शान्तिराम शर्माले नेपालको युवा पुस्ता र खेलप्रेमी जमातले राजनीतिक दलका नेता र मन्त्रीभन्दा पनि नेपाली क्रिकेट खेलाडीलाई नायकका रुपमा लिएकाले खेलाडीहरूप्रति उनीहरूमा रहेको विजयको आशालाई हेक्का राखेर खेल्न अनुरोध गरे ।
राष्ट्रको प्रतिष्ठा जोगाउन ज्यान दिने
नेपाली टिमका क्याप्टेन खड्काले राष्ट्रको प्रतिष्ठा जोगाउन आफू नेतृत्वको टोलीले दिलोज्यान दिएर मैदानमा उत्रने प्रण गरे । कार्यक्रममा नेपाल क्रिकेट सङ्घका पदाधिकारीका साथै नगद पुरस्कार दातृ संस्थाका प्रमुखहरूले खेलाडीको आत्मबल बढाउन थोरै भएपनि आफूहरूले पुरस्कारको व्यवस्था गरेको बताए ।
नेपालमा क्रिकेट खेलको इतिहासमा पहिलोपटक विश्वकप छनोट प्रतियोगितामा नेपाल सहभागी हुँदैछ । दुबईको खेल जितेमा केही समयपछि न्यूजिल्यान्डमा हुने विश्वकपमा नेपाल भिड्नेछ ।