माइतीघरका गायक तथा बलिउडका महान कलाकार मन्ना डेको निधनमा मर्माहत

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते ११:३९ मा प्रकाशित

Manna-deyकाडमाण्डु– गत अक्टोबर २४ का दिन भारतीय चलचित्र क्षेत्र बलिउडका एक महान कलाकार मन्ना डेको ९४ वर्षको उमेरमा बैङ्गलोरस्थित नारायण हृदयालय अस्पतालमा निधन भएको छ । नेपाली गीत तथा चलचित्र माइतीघरमा समेत दुईवटा गीतमा कर्णप्रिय स्वर दिनुभएका मन्ना डे नेपालीबीच पनि लोकप्रिय छन् ।

नेपाली चलचित्र माइतीघरमा मन्ना डेले गाएका ‘जय जय जननी नेपाल’, ‘जिन्दगीलाई जितले होइन, हारले स्वागत गरी’ शीर्षकका गीत आज पनि नेपालीबीच अत्यन्त प्रिय छन् । भारतीय बलिउडको स्वर्णयुगका रूपमा चिनिने सन् १९४० देखि १९६० सम्मको अवधिमा मन्ना डे एक कालजयी गायक थिए ।

प्रख्यात हिन्दी चलचित्रमा समावेश भएका ‘लागा चुनरी मे दाग, छुपाउँ कैसे, घर जाउँ कैसे’ ‘ए मेरी जोहरा जबीँ, तुझे मालुम नहीँ तु अभि तक हे हसीँ और मै जबाँ’, ‘जिन्दगी कैसे है पहेली हाय’, ‘तु प्यारका सागर है’, ‘बाबु सम्झो इशारे,’ ‘ए मेरे प्यारे वतन’, ‘ए रात भिगी भिगी’, ‘ये दोसती हम नहीं तोडेँगे’, ‘ए भाइ जरा देखके चलो’, ‘आओ ट्वीस्ट करेँ’, ‘एक चतुर नार करके श्रृङ्गार’, ‘पुछो ना कैसे मैने रइन बिताई’, ‘एकपल जैसे जुग बिताई’ जस्ता अविस्मरणीय हिन्दी गीत आज पनि शास्त्रीय सङ्गीतप्रेमी भारतीय र नेपाली माझ लोकप्रिय छन् ।

बलिउड क्षेत्रका चर्चित गीतकार, सङ्गीतकार तथा गायक मन्ना डेको निधनको समाचारले भारतीयलाई मात्र होइन नेपालीलाई पनि दुःखी बनायो । एक गैरनेपाली भएर पनि नेपाली गीतका भाव र मर्म राम्ररी आत्मसात गर्न सफल र गीतगङ्गामा भिजेका मन्ना डेलाई चिन्ने नेपालीहरूले उहाँको निधनमा सहृदय श्रद्धाञ्जली अर्पण गरे ।

उनले पाँच दशकभन्दा बढी समयसम्म भारतीय सङ्गीत क्षेत्रमा अतुलनीय योगदान दिएका थिए । भारतका वरिष्ठ सङ्गीतकर्मीका रूपमा प्रसिद्धी कमाएका उनी विगतका केही महिनादेखि श्वासप्रश्वासमा समस्या लगायत विभिन्न रोगबाट थलिएका थिए । उपचारकै क्रममा गत अक्टोबर २४ गते बिहान हृदयगति बन्दभई उनको निधन भएको हो ।

बृद्धावस्थामा उनले पत्नीबियोग सहनुपरेको थियो । उनकी पत्नी सुलोचना कुमारनको सन् २०१२ मा निधन भइसकेको थियो । उनका दुई पुत्रीहरू – ५७ बर्षिया सुरोमा र ५५ बर्षिया सुमिता छन् । उनका करिब चार हजार गीत भारतीय सङ्गीत क्षेत्रमा रेकर्ड भएका छन् । आफ्नो मातृभाषा बङ्गालीमा उहाँले एक हजार २६२ गीत रेकर्ड गराएका छन् ।

त्यस्तै भारतका एक दर्जन भन्दा बढी प्रान्तीय र उर्दू भाषामा उहाँका एक हजार भन्दा बढी गीत रेकर्ड गरिएका छन् । उनको निधनप्रति भारतीय कलाकारिता क्षेत्रले निकै ठूलो दुःख मनाउ गर्दै यसका कारण भारतको कलाक्षेत्रले अपुरणीय क्षति व्यहोरेको टिप्पणी गरिएको थियो ।

भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले दिनु भएको श्रद्धाञ्जली सन्देशमा डेको निधनले आफू दुःखी भएको र भारतीय सङ्गीत क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको बताएका थिए । त्यसै गरी बलिउडमा वर्तमानमा प्रमुख स्थान बनाउन सफल सबैले डेको निधनमा हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन् ।

सन् १९१९ को मे १ का दिन जन्मनुभएका मन्ना डेको खास नाम प्रबोधचन्द्र डे हो र उहाँका काका कृष्णचन्द्र डेले उनलाई मन्ना डे भन्ने उपनाम राखिदिएका थिए  । कृष्णचन्द्र आफैँ पनि प्रख्यात गायक र चलचित्र कलाकार थिए । मन्ना डे आफ्ना काका कृष्णचन्द्रबाट प्रभावित थिए । कोलकाताको स्थानीय विश्वविद्यालयमा स्नातक तहको अध्ययन पूरा गरेपछि मन्ना डे मुम्बई गएका थिए ।

सुरुमा मुम्बईका सङ्गीतकर्मीहरूले उनलाई पत्याएनन् र एउटा मामूली चलचित्र सहायकको जागीरमा केही बर्ष अल्झिनुपर्‍यो । सन् १९४३ मा लोकप्रिय हिन्दी चलचित्र ‘तमन्ना’ मा पहिलोपटक पाश्र्वगायकको भूमिका निभाएपछि उनको पहिलो गीतले मुम्बईमा तहल्का मच्चायो र त्यसपछि उन साँच्चिकै गायक कहलिए ।

यसको सात वर्षपछि मसाल चलचित्रमा उनले गाएका गीत आजपर्यन्त हिन्दी चलचित्रका सङ्गीतप्रेमीहरूका जिब्रोमा झुन्डिईरहेको छ । सन् २००९ अक्टोबर २१ का दिन तत्कालीन भारतीय राष्ट्रपति प्रतिभादेवी सिंह पाटिलले मन्ना डेलाई ५५ औं राष्ट्रिय चलचित्र पुरस्कार दिवसको उपलक्ष्यमा ‘दादासाहेब फाल्के पुरस्कार’ले विभूषित गरे ।

हिन्दी चलचित्र जगत बलिउडका सर्वाधिक उत्कृष्ट सङ्गीत वा चलचित्रकर्मीलाई यस्तो पुरस्कारले सम्मानित गरिन्छ । चार दशकभन्दा बढी समय सङ्गीत साधना र पाश्र्वगायनमा समर्पित भएकै कारण उनी यस पुरस्कार जित्न सफल भएका थिए । उनको अन्तिम गीत सन् २००६ मा ‘उमर’ नामक चलचित्रका लागि रेकर्ड गरिएको थियो । यस प्रकार उनले ८७ बर्षको उमेरसम्म पनि सङ्गीत क्षेत्रमा साधना र योगदान पुर्‍याएका थिए । उनले सदाबहार र कालजयी शास्त्रीय गीत मुक्तकण्ठले गराएका छन् ।

विशाल भारतमा सङ्गीत र चलचित्र क्षेत्र एक आपसमा आवद्ध र अभिन्न अङ्ग समेत हुन् । एकाध अपवादलाई छोडी चलचित्रसँग आवद्ध नभएका गीत सङ्गीत जनमानसमा कर्णप्रिय भएका छैनन् र हुने लक्षण पनि देखिँदैन ।

जनसङ्ख्याको हिसावले विश्वकै दोस्रो ठूलो मुलुकमा सङ्गीत र गायन क्षेत्रमा मान इज्जत पाउन निकै कडा परिश्रम गर्र्नुपर्छ । त्यसमाथि पनि आफूले गाएका गीत विशाल जनमानमा पुग्न निकै प्रचारप्रसारको आवश्यकता पर्दछ । यी आवश्यकतालाई लोकप्रिय चलचित्रले मात्र पूरा गर्नसक्छन् ।

बलिउड चलचित्र क्षेत्रमा समकालीन उत्कृष्ट पुरुष गायक मुकेश, किशोरकुमार, मोहमद रफी, महेन्द्र कपूर, तलत महम्मूद, गुलाम अली, शैलेन्द्र सिंह, भूपेन्द्र सिंह, के.जे. येसुदास, युनुस फाजमी, जसपाल सिंह जस्ता समकक्षीको पङ्क्तिमा उभिन र लोकप्रिय हुन मन्ना डेले कठीन परिश्रम गर्नुपरेको थियो । लामो समय लागे पनि उहाँले गाएका शास्त्रीय गीत सबै कालजयी र चर्चाको शिखरमा छन् ।

सङ्गीत, गीत र वाद्यवादनबाट उत्पन्न ध्वनि जात, जाति, भाषा वा राष्ट्रिय सिमानाका बन्धनबाट सँधैभरी मुक्त हुन्छन् । सङ्गीत सम्राट मन्ना डेलाई यस आलेखमार्फत हार्दिक श्रद्धाञ्जली । रासस (श्रोत : विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्था तथा इन्टरनेटका सामाग्री)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us