मालद्धीपमा राष्ट्रपति चयनका लागि मतदान

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते ६:१७ मा प्रकाशित

माले,२३ कात्तिक–अन्तत:मालद्धीपमा राष्ट्रपति चयनका लागि स्थानीय समय अनुसार शनिवार बिहान ७ बजेदेखि चार सय ७५ मतदानकेन्द्रमा मतदान शुरु भएको छ । अदालतले पुनः निर्वाचन गराउन दिएको आदेश अक्टोबर १९ मा कार्यान्वयन हुने अनुमान गरिएको थियो तर सबै दलले मतदाता सूचीलाई स्वीकार नगरेको र अदालतको निर्देशिका पालना नगरेको भनी प्रहरीले उक्त निर्वाचनलाई रोकेको थियो । सेप्टेम्बर ७ मा भएको पहिलो निर्वाचनलाई सर्वोच्च अदालतले रद्द गरिदिएको थियो । अदालतले मतदाता सूचीलाई सबै उम्मेदवारले स्वीकार नगरेको भनी उक्त निर्वाचन रद्द गरेको हो ।
सरकारी प्रवक्ताले शनिबारको निर्वाचनका लागि सबै कुरा तयार भएको र निर्वाचनमा भाग लिने तीनै पक्षले मतदाता सूचीलाई स्वीकार गरेको जाMaldives.svgनकारी दिए । राष्ट्रपतिका प्रवक्ता मसुद इमादले शनिबारको निर्वाचनका लागि मालद्वीप तयार रहेको बताए । एक निर्वाचन अधिकारीले अक्टोबर १९ को निर्वाचन हुन नदिएका दुई दलले निर्वाचन हुन दिन सहमति व्यक्त गरेको बताए ।
निर्वाचन आयोगका प्रवक्ताले शनिबारको निर्वाचनका लागि तयारी भएको र कसैले पनि ५० प्रतिशतको सीमा नाघ्न नसकेमा आइतबार अर्को चरणको निर्वाचन हुने बताए । सरकारले संवैधानिक सङ्कट आउन नदिन प्रयास गरिने पनि जनाएको छ ।
अधिकारीहरूले मालद्वीपभर तथा यस मुलुकका नागरिक बसोबास गर्ने केही विदेशी राजधानीमा मतदान हुने बताए । तीन लाख ५० हजार सुन्नी मुसलमान रहेको मुलुकमा मतदाता सङ्ख्या दुई लाख ४० हजार रहेको छ ।
पदमुक्त भएका र प्रतिस्पर्धामा अघिल्लो स्थानमा रहेका पूर्व राष्ट्रपति मोहमद नसिदले आफूले पहिलो चरणको निर्वाचनमै विजय हासिल गर्ने आशा गरेको बताएका छन् । सेप्टेम्बर ७ को निर्वाचनमा नसिदले ४५ प्रतिशत मत प्राप्त गरेका थिए । राष्ट्रपति वाहिदले उक्त निर्वाचनमा सबैभन्दा कम मत प्राप्त गरेपछि यस निर्वाचनमा भाग लिएका छैनन ।
आफ्नो अभियानको अन्तिम भाषणमा नसिदले आफूहरूले यो निर्वाचन पहिलो चरणमै जित्ने दाबी गरे ।     शनिबारको निर्वाचन यस महिना राष्ट्रपतिको निर्वाचन गर्ने तेस्रो प्रयास हुनेछ । वर्तमान राष्ट्रपतिको पदावधि आउँदो सोमबार अन्त्य हुँदैछ र संवैधानिक सङ्कट आउन नदिन उक्त दिनसम्म नयाँ राष्ट्रपतिबारे निर्णय भइसक्नुपर्छ ।
अमेरिका, बेलायत तथा क्यानडाले पुनः निर्वाचन पनि असफल भए यो मुलुकलाई क्षतिकारक हुने चेतावनी दिएका छन् । कोलम्बोमा रहेका एक कूटनीतिज्ञले नसिदले यस निर्वाचनमा विजय हासिल गरे पनि उनलाई शक्ति हस्तान्तरण गर्ने कुरामा आफ्नो आशङ्का रहेको बताए । क्षेत्रीय शक्ति भारतले पनि पदमुक्त हुन लागेका राष्ट्रपति मोहमद वाहिदलाई निर्वाचन हुनदिन दबाब दिएको छ ।
मालदिभियन डेमोक्र्याटिक पार्टीका प्रमुख नसिद मुलुकको पहिलो निर्वाचित राष्ट्रपति हुन् र सुरक्षा सेनाले प्रदर्शन तथा विद्रोह गरेपछि उनले सन् २०१२ को फेब्रुअरी महिनामा राजिनामा दिएका थिए ।
नसिदको प्रमुख प्रतिद्वन्द्वी प्रोग्रेसिभ पार्टीका नेता अब्दुल्लाह यामिन रहेका छन् र उनी पूर्व राष्ट्रपति मौमुन अब्दुल गयुमका भाइ हुन् । गयुमले यस मुलुकमा तीन दशकसम्म शासन गरेका थिए । तेस्रा उम्मेदवारको रूपमा व्यापारी कसिम इब्राहिम रहेका छन् ।     रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us