चुनावका लागि मातृभूमि फर्कन एनआरएनको आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते १०:५७ मा प्रकाशित

NRN-logoकाठमाण्डु, २२ कात्तिक– गैरआवासीय नेपाली संघ (एनआरएन)ले विश्वका विभिन्न मुलुकमा रहेका गैरआवसीय नेपालीलाई मंसिर ४ गते हुने संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरी नयाँ संविधान निर्माणमा योगदान गर्न मातृभूमि फर्कन आग्रह गरेको छ ।

संघका अध्यक्ष शेष घलेले शुक्रबार एक वक्तव्य जारी गरी नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि संविधान अपरिहार्य भएको र त्यसका निम्ति हुन लागेको संविधानसभा निर्वाचनमा सघाउन आफू र परिवारका सदस्यलाई नेपाल ल्याउन आग्रह गरेका छन् ।

सबै राजनीतिक दललाई चुनावको सफलताको कामना गर्दै वक्तव्यमा भयरहित वातावरणमा शान्तिपूर्ण निर्वाचन भई नेपालले संविधान प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ । ‘सुशासन प्रवद्र्धन गर्दै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन र नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मा उच्च पार्न संविधान पहिलो शर्त हो’, वक्तव्यमा भनिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us