
काठमाण्डु, २१ कात्तिक–जापानी नागरिकको सहयोगमा स्थापित एसिया फ्रेन्डसिप नेटवर्क (एएफएन) ले नेपालका ग्रामीण भेगका पाँच दर्जनभन्दा बढी सामुदायिक विद्यालयको भवन निर्माणमा सहयोग गरिसकेको छ ।
सरकारले विद्यालय भवनका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिरहेका बेला अन्तर्राष्ट्रिय दातृ निकायले गर्ने सहयोगबाट नेपालका विद्यालय लाभान्वित हुँदै आएका छन् । यद्यपि, नेपालका कुन निकाय वा व्यक्तिले सरकारी विद्यालयमा के कति सहयोग गरिरहेका छन् भन्नेबारे आधिकारिक विवरणको अभिलेख पाइँदैन ।
एएफएनले नेपालमा सन् १९९६ मा पहिलोपटक काभ्रेको धनेश्वर माविमा भवन निर्माणका लागि सहयोग गरेको थियो । सहयोगको पछिल्लो शृङ्खलामा नुवाकोट जिल्लाको कविलास गाविसस्थित सन्सारी प्राथमिक विद्यालयमा निर्माण हुने ६ कोठे पक्की भवनको आज शिलान्यास भएको छ ।
हाल नेपालमा रहेका नेटवर्कका अध्यक्ष इसिमारु युजिरेले आज भवनको शिलन्यास गर्दै नेपालका बालबालिकाको शिक्षाका लागि जापान सरकारले भौतिक पूर्वाधार निर्माणका लागि सक्दो सहयोग गर्ने विश्वास दिलाए । भवनका लागि १३ लाख ६५ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । हाल सो विद्यालयको भवन जीर्ण अवस्थामा छ ।
स्थानीय समाजसेवी पूर्णलाल श्रेष्ठले जिल्लाको विकट गाविसमा निर्माण हुन लागेको विद्यालयबाट बालबालिकालाई अध्ययनमा सजिलो हुने बताए ।
तेह्र जिल्लाका ५० वटा विद्यालयमा भवन निर्माणका लागि सहयोग गरेको यो संस्थाले सन् २०१४ भित्र यस्ता सहयोग ८० वटा विद्यालयसम्म बढाउने लक्ष्य लिएको छ ।
जापानी नागरिक युजिरो पहिलो पटक नेपाल भ्रमणमा आएका बेला नेपालका तराई तथा पहाडी क्षेत्रका बालबालिकाले भवनबिना नै पढिरहेको देखेपछि उनको व्यक्तिगत सहयोग र पहलमा विद्यालयलाई सहयोग दिन सुरु गरिएको हो । हाल सो संस्थाले कास्की, ओखलढङ्गा, रामेछाप, सर्लाही, पर्सा, महोत्तरी, रुकुम, स्याङ्जा, प्युठान, नुवाकोट, म्याग्दी र बारालगायतका जिल्लामा विद्यालय भवनमा सहयोग गरिसकेको छ ।
एएफएनका दक्षिण एसियाली प्रतिनिधि गणेशमान लामाले संस्थाले भवन निर्माणका साथै आधुनिक तालिम, शिक्षक अभिमुखीकरण, विद्यालय खाजा, विद्यार्थीमैत्री वातावरण, छात्रवृत्ति कार्यक्रम, आधुनिक बालगृह, खेल उत्सव, अपागङ्ता भएका बालबालिकालाई सीप, दैवी प्रकोपमा सहयोगजस्ता क्षेत्रमा कार्य गरेको जानकारी दिए ।
संस्थाले एक विद्यालयमा पाँच कोठे एक तले भवन निर्माणका लागि रु ३० लाखसम्म सहयोग दिएको छ ।