झलनाथलाई सर्लाहीमा पनि चुनाव जित्न कठिन

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ३:११ मा प्रकाशित

सर्लाही -राष्ट्रिय राजनीतिमा स्थापित तथा आफ्नो वर्चस्व कायम राखेका नेता उम्मेदवार भएको सर्लाहीमा चुनावको वातावरण निकै तातेको छ ।Jhalanath-Khanal

अघिल्लो संविधानसभा निर्वाचनमा जिल्लाबाट चार स्थान हासिल गरेको मधेसवादी दलको सङ्गठन विस्तार वडा तहसम्म पुगे पनि राष्ट्रिय राजनीतिमा आफ्नो वर्चस्व र दखल राख्ने मधेसवादी दलका चार केन्द्रीय अध्यक्षको गृह जिल्ला भएको सर्लाहीमा पार्टी विभाजनको असर आगामी मङ्सिर ४ को निर्वाचनमा पर्ने देखिन्छ ।
मधेसमा आफ्नो प्रभाव पार्न नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले सर्लाही क्षेत्र नं १ बाट आफ्नो उम्मेदवारी दिएका छन् । खनाल थपिएपछि केन्द्रीय अध्यक्षको सङ्ख्या पाँच पुगेको छ । खनालसँग तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस सद्भावना पार्टी (तमसपा)का  अध्यक्ष महेन्द्रप्रसाद यादव र चुरे भावर चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यप्क्ष बद्रीप्रसाद न्यौपाने कडा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने हस्ती चुनावी मैदानमा उत्रेपछि यहाँको चुनावी वातावरण तात्नाको साथै सबैको ध्यान खिंचिएको छ । काँग्रेस, एमाले, एमाओवादी, सद्भावना, तमलोपा, तमसपा, मधेसी जनअधिकार फोरम नेपाल, फोरम (लोकतान्त्रिक)ले सर्लाहीका तीन–तीन  क्षेत्रमा उम्मेदवार खडा गरी जित्ने जिकिर गर्दै आइरहेका छन् ।
अघिल्लो निर्वाचनमाक्षेत्र नं १ बाट एमाओवादीका उम्मेदवार लुमडीप्रसाद धिमालभन्दा दुई हजार ४०० बढी मत ल्याएर एमालेका प्रकाश पाख्रिनले जितेका थिए भने यस पटक यस क्षेत्रमा एमालेका अध्यक्ष खनालले उम्मेदवारी दिएका छन् । एमालेले खनालका लागि सर्लाही क्षेत्र नं १ सुरक्षित ठाने पनि जिल्लाका पूर्व एमाले सचिव रुपनारायण सिंहले पार्टी त्याग गरेकाले खनालका लागि यो क्षेत्र सहज नभएको उम्मेदवारबीच चर्चा चलिरहेको छ ।
खनालका लागि सुरक्षित मानिएको क्षेत्र नं १ मा एमाओवादीका शम्भुलाल श्रेष्ठ, नेपाली काँग्रेसकी सुशीला कार्की, तमलोपाका रामचन्द्रसिंह कुशबाहा र  सद्भावनाका रुपनारायणसिंह दनुवार पनि चर्चामा रहेका उम्मेदवार हुन् । सद्भावनाका दनुवारले केही मत प्रभावित गर्न सक्ने सम्भावना छ ।
एमाले छाडी मधेसवादी दलमा गएका महेन्द्रप्रसाद यादव मधेसबाट खनालले नजितून् भन्ने चाहना राख्छन । सर्लाहीको मोहनपुरमा चुनावी प्रचारका क्रममा घरदैलो गर्दा भेटिएका यादव भछन–खनालले उम्मेदवारी दिएकै क्षेत्रबाट एमाले त्यागेर सयौँ कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गरिसकेका छन् ।
विसं २०५६ को निर्वाचनमा एमालेका तर्फबाट चुनाव जितेका यादवसँग क्षेत्र नं १ का एमाले कार्यकर्तासँग व्यक्तिगत रुपमा राम्रो सम्पर्क रहेकाले यादवको उम्मेदवारीले खनाललाई अप्ठेरो पर्न सक्ने अड्कल सर्लाही क्षेत्र नं १ का मतदाताले गरेका छन् ।
अघिल्लो निर्वाचनमा नौ हजार १५६ मत ल्याएर क्षेत्र नं २ मा एमालेका रिजवान अन्सारीले जितेका थिए तर यस पटक अन्सारीले भने सङ्घीय समाजवादी पार्टीबाट उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा काँग्रेसका रामचनु चौधरी, एमालेका सुरेन्द्र लामा, एमाओवादीका राजकुमार राय, सद्भावनाका अफजल हुसेन, तमसपाका कौशलकिशोर राय, तमलोपाका विनय कर्ण र  चुरे भावरका न्यौपानेबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ ।
अघिल्लो  निर्वाचनमा क्षेत्र नं ३ बाट तमलोपाकी सुमित्रादेवी राय यादवले जितेको यो क्षेत्रमा अहिले एमालेको स्थिति बलियो रहेको छ । यस क्षेत्रमा एमालेका हरि उप्रेती र काँग्रेस केन्द्रीय सदस्य मीना पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुनेछ भने मधेसी दलको स्थिति कमजोर देखिएको छ ।
क्षेत्र नं ४ बाट अघिल्लो चुनाव जितेका सद्भावनाका अध्यक्ष महतोलाई यस पटकको चुनावमा तमसपाका अध्यक्ष यादवले चुनौती दिएका छन् । यी दुवै उम्मेदवारले एमालेका राजनारायण साहसँग कडा प्रतिस्पर्धा गर्ने स्थिति छ ।
क्षेत्र नं ५ मा तमसपा नेपालबाट खोभारी राय, फोरम (लोकतान्त्रिक)का वरिष्ठ उपाध्यक्ष रामेश्वर राय, तमलोपाका जिल्ला अध्यक्ष जगलिला राय, फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादव र  सद्भावनाका जिल्ला अध्यक्ष प्रमोद साहबीच कडा प्रतिस्पर्धा छ ।
क्षेत्र नं ६ मा काँग्रेसका अमरेशकुमार सिंह र  तमसपाका शिवपूजन रायबीच कडा प्रतिस्पर्धा देखिएको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले पनि सर्लाही क्षेत्र नं ६ बाटै उम्मेदवारी दिएका छन ।
सङ्ख्याको दृष्टिकोणले हेर्ने हो भन क्षेत्र नं १ मा ३६, क्षेत्र नं २ मा ४५, क्षेत्र नं ३ मा ४६,  क्षेत्र नं४ मा ३९,  क्षेत्र नं ५  मा ४६ र क्षेत्र नं ६ मा ५२ उम्मेदवार छन् । सङ्घीयताको ढाँचाका विषयमा बहस चलिरहेको समयमा चुनावी मैदानमा उत्रेका मधेसवादी दल र अन्य दलले अहिले जनताबीच सङ्घीयताकै नारा दिएर मतदातासँग मत मागिरहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us