हरितगृह ग्यास खराव अवस्थामा,मौसम परिवर्तनमा अझै असर देखिने

काठमाण्डु टुडे २०७० कार्तिक २० गते १५:२८ मा प्रकाशित

जेनेभा–पृथ्वीको वातावरणमा हरितगृह ग्यासको घनत्व सन् २०१२ मा हालसम्मको सबैभन्दा खराव अवस्थामा पुगेको छ । यसले मौसम परिवर्तनलाई अझै द्रुत बनाउन थालेको जानकारी संयुक्त राष्ट्र सङ्घको मौसमसम्बन्धी संस्थाले बुधबार दिएको छ ।
विश्व जलवायु सङ्गठनका प्रमुख मिसेल जराडले जेनेभामा पत्रकारहरूलाई हरितगृह ग्यासको घनत्व हालसम्मको सबैभन्दा अधिक देखिएको बताए ।
सङ्गठनले बुधबार हरितगृह ग्यासका विषयमा आफ्नो वार्षिक प्रतिवेदन प्रकाशन गरेको छ । प्रतिवेदनमा कार्बन डाइअक्साइड (सीओटु), मिथेन तथा नाइट्रस अक्साइडको घनत्व सन् २०१२ मा हालसम्मकै सबैभन्दा अधिक रहेको उल्लेख गरिएको छ ।
सीओटुलाई पृथ्वीको तापक्रम वृद्धिका लागि प्रमुख कारणको रूपमा लिइएको छ र पृथ्वीको वातावरणमा यसको उपस्थिति प्रति दश लाखमा ३०३.१ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको । सन् १७५० लाई पूर्व औद्योगीकरणको अवस्था मान्दा सीओटुको उपस्थिति गत वर्ष १४१ प्रतिशत वृद्धि भएको देखिएको छ ।
संयुक्त राष्ट्र सङ्घको वातावरण कार्यक्रमले एक दिन अगाडि आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै औद्योगीकरण पूर्वको अवस्थामा पृथ्वीको तापक्रम दुई डिग्री सेल्सियसभन्दा कमका दरले वृद्धि हुने सम्भावना घटेको उल्लेख गरेको छ । संयुक्त राष्ट्र सङ्घको मौसमसम्बन्धी वार्ता आउँदो साता वार्सामा आरम्भ हुनेछ ।
संयुक्त राष्ट्र सङ्घले दुई डिग्री सेल्सियसभन्दा कमका दरले पृथ्वीको तापक्रम वृद्धि हुने लक्ष्य राखेको छ र यसलाई हरितगृह ग्यासको उत्सर्जनले प्रभावित बनाउँदै गएको देखिएको छ । ऊर्जा उद्योग, यातायात तथा कृषिमा जिवाष्ममा आधारित इन्धन बल्दा यो ग्यासको उत्सर्जन हुने गर्छ ।
सङ्गठनका प्रमुख जराडले आफ्नो संस्थाले यस विषयमा अनुगमन गरिरहेको र यसमा मानव क्रियाकलापका कारण पृथ्वीको वातावरणमा रहेको ताप सङ्कलन गर्ने ग्यासको वृद्धिले वातावरणमा रहेको प्राकृतिक सन्तुलनलाई खल्बल्याएको र मौसम परिवर्तनलाई प्रमुख रूपमा प्रभाव पारेको देखिएको बताए ।
एडिनवरा विश्वविद्यालयका कार्बन व्यवस्थापन विशेषज्ञ डेमी रीले मौसम परिवर्तनका विषयमा वार्ता, उत्सर्जनको नियमन तथा कार्बन बजारको सफलता हरितगृह ग्यासको घनत्वमा भर पर्ने बताए ।
उनले वित्तीय दुर्घटना तथा केही मुलुकमा यस ग्यासको उत्सर्जनमा कमी देखिए पनि पृथ्वीको वातावरणमा एकपछि अर्को वर्ष कार्बन डाइअक्साइडको घनत्व बढिरहेको देखिएको बताए ।  रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us