दक्षिण कोरियाली राष्ट्रपति माथि अस्लिलताको आरोप

काठमाण्डु टुडे २०७० कार्तिक २० गते १५:१४ मा प्रकाशित

सोल, २० कात्तिक–दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन–हेले उत्तर कोरियाली नेता किम जोङ–उनसँग कुनै पनि बखत शिखर बैठक गर्न आफू तयार रहेको बताएपछि प्योङयाङल उनलाई ‘नैतिक रूपमा अश्लील’ (मोरल भल्गारिटी) को आरोप लगाएको छ ।
उत्तरको कोरियाली शान्तिपूर्ण एकीकरण समितिले दक्षिण कोरियाली राष्ट्रपति पार्कले प्योङयाङविरुद्ध उक्साहटपूर्ण टिप्पणी गरिरहेको समयमा नेता किमसँग शिखर वार्ता गर्न चाहेको भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।park-geun-hye
समितिले एक विज्ञप्ति प्रकाशन गरी दक्षिण कोरियाली राष्ट्रपति पार्कको शिखर बैठकको धारणा सही नभएको र यो मुलुकभित्र तथा बाहिरको राजिनीतिक सङ्कटको समयमा अन्तिम आश्रय मात्र भएको दाबी गरेको छ ।
उक्त विज्ञप्ति उत्तर कोरियाली सरकारी समाचार संस्थाले वितरण गरेको छ । दक्षिण कोरियाली राष्ट्रपति पार्कले गत साता फ्रान्सेली दैनिक पत्रिका ल फिगारोलाई दिएको अन्तर्वार्तामा उक्त धारणा व्यक्त गरेकी थिइन ।
अन्तर्वार्तामा राष्ट्रपति पार्कले कोरियाली प्रायद्वीपमा अन्तरसीमा सम्बन्ध सुधार्न तथा शान्ति प्रवर्धन गर्न आवश्यक परेमा आफू उत्तर कोरियाली नेता किमसँग शिखर बैठक गर्न पनि इच्छुक रहेको बताएकी थिइन ।
यसो भए पनि उनका वरिष्ठ प्रेस सचिव ली जुङ–ह्युनले उनको टिप्पणीलाई अधिक रूपमा नलिन र यो एक सैद्धान्तिक उत्तर भएको बताएका थिए ।
दक्षिण कोरियाली राष्ट्रपति पार्कले शनिबार पेरिसको भ्रमण गरेकी थिइन । उनी यस भ्रमणमा बेलायत तथा बेल्जियम पनि पुग्ने कार्यक्रम तय भएको थियो ।
उत्तर कोरियाले दक्षिण कोरियाली राष्ट्रपति पार्कको टिप्पणीले कसैलाई पनि प्रभाव नपार्ने दाबी गरेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us