वेष्ट ईन्डिज २३४ रनमा समेटियो

काठमाण्डु टुडे २०७० कार्तिक २० गते ३:०५ मा प्रकाशित

Sachin_Tendulkarकाठमाण्डु, २० कात्तिक–भारत विरुद्धको दुई म्याचको टेष्ट श्रृंखला अन्तरगत बुधबारको पहिलो खेलमा वेष्ट ईन्डिजले खराब प्रदर्शन गरेको छ । कलकत्ताको ईडन गार्डेन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट ईन्डिज पहिलो पारीमा २ सय ३४ रनमा समेटिएको छ । क्यारेबियन टोलीका लागि मार्लाेन स्यामुअल्सले ६५, शिवनारायण चन्द्रपलले ३६, किरन पावेलले २८, क्रिस गेलले १८, ड्यारेन ब्राभोले २३ बनाए पनि अन्यले राम्रो गर्न सकेनन् ।

भारतका मोहम्मद समीले चार, रविचन्द्रन आस्विनले दुई तथा भुजनेश्वर कुमार, सचिन तेन्दुलकर र प्रज्ञान ओझाले एक–एक विकेट लिए ।

बुधबारै आफ्नो पहिलो पारी थालेको भारतले राम्रो शुरुआत गरेको छ । पहिलो दिनको खेल सकिदासम्म भारतले बिना विकेटको क्षतिमा ३७ रन जोडेको छ । भारतका शिखर धवन २१ र मुरली विजयी १६ रन बनाएर खेलीरहेका छन् । यी दुई देश बिचको दोस्रो टेष्ट आगामी नोभेम्बर १४ देखि १८ सम्म मुम्बईमा हुनेछ ।

१ सय ९९ औं टेष्ट खेलिरहेका स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरले २ सयौं टेष्ट खेल्दै सबैखाले क्रिकेटबाट सन्न्यास लिँदैछन् । यसअघि नै एक दिवसीय र ट्वान्टी–ट्वान्टी क्रिकेटबाट सन्यास लिइसकेका सचिनका लागि वेष्ट इण्डिजविरुद्धको टेष्ट श्रृंखला अन्तराष्ट्रिय क्रिकेटमा अन्तिम खेल हुनेछ ।

सन् १९८९ मा पाकिस्तानविरुद्ध कराँचीबाट आफ्नो अन्तराष्ट्रिय टेष्ट करियर सुरु गरेका सचिनले ५३ दशमलव ८६ को औसतमा १५ हजार ८ सय ३७ रन बनाइसकेका छन् । सचिनको नाममा ५१ वटा शतकको कीर्तिमान छ । एक दिवसीय क्रिकेटमा ४९ वटा शतक र ९६ वटा अर्धशतक प्रहार गरेका सचिन अन्तराष्ट्रिय क्रिकेटमा सय वटा शतक प्रहार गर्ने पहिलो र एकमात्र खेलाडी हुन् ।

अर्को एक रेकर्ड तोडे सचिनले

१९९ औं टेष्ट म्याच खेल्न इडन गार्डेन मैदानमा उत्रिएलगत्तै सचिन तेन्दुलकरले अर्को एक नयाँ रेकर्ड तोडेका छन् । उनी एउटै क्रिकेट मैदानमा सबैभन्दा धेरैपटक टेष्ट क्रिकेट खेल्ने भारतीय क्रिकेटर बनेका छन् । तेन्दुलकर इडन गार्डेन क्रिकेट मैदानमा १३ औं टेष्ट क्रिकेट खेलिरहेका छन् ।

यसअघि यो रेकर्ड सुनिल गावस्करको नाममा थियो । गावस्करले चेन्नाईको एम ए चितम्बरम् मैदानमा १२ पटकसम्म टेष्ट क्रिकेट खेलेका छन् ।

खेलभन्दा व्यक्तिको चर्चा

भारतमा यो खेलभन्दा पनि सचिनको मात्र चर्चा छ । सचिनलाई भारतीय क्रिकेटरहरुले ‘क्रिकेटको भगवान’को रुपमा लिने गर्दछन् । टिकटहरुमा सचिनका फरक फरक तस्विर अंकित गरिएको छ । ६८ हजार दर्शक क्षमताको रंगशालामा दर्शक तथा समर्थकहरुलाई सचिनका तस्विर अंकित बिभिन्न सामग्री वितरण गरिने छ । कतिपय टिकट नपाएपछि निराश भएका छन् । तर,सबैले खेल पाउन् भन्ने उद्देश्यले गाउँ शहरका बिभिन्न स्थानमा ठूला स्क्रीनमा खेल हेर्न पाउने व्यवस्था मिलाइदिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us