
यसपटक हिउँदमा लोडशेडिङको अवधि गत वर्षको भन्दा बढ्न नदिन भारतबाट थप ७० मेगावाट बिजुली ल्याउने तयारी भइरहेको नेपाल विद्युत प्राधिकरणले बताएको छ।
अहिले १ सय ७० मेगावटसम्म विद्युत भारतबाट भित्र्याउन सकिने भएपनि केही प्राविधिक सुधार गरेर यसपालि २ सय ४४ मेगावाटसम्म ल्याउने तयारी भएको जनाइएको छ।
हाल तालिकामा हप्तामा २७ घण्टा लोडशेडिङ तोकिएपनि उद्योगधन्दाहरु बन्द भएकाले १७ घण्टामात्रै विद्युत कटौती हुने गरेको विद्युत प्राधिकरणले जनाएको छ।
तर मंसिरदेखि सुख्खा बढ्ने हुनाले लोडसेडिङमा वृद्धि हुंदै जाने र खासगरी माघ, फागुन र चैतमा त्यो अधिकतम १२ घण्टासम्म हुने बताइएको छ।
लक्ष्य
अहिले छिमेकी मुलुक भारतबाट हरेक दिन १ सय ३५ मेगावाट विद्युत आइरहेको छ।
तर यसपटक लोडशेडिङलाई दैनिक १२ घण्टामै सीमित राख्न नियमित उत्पादन हुने बाहेक, मल्टिफ्यूल र डिजेल प्लान्टबाट ३० मेगावाट विद्युत उत्पादन गरिने र थप भारतबाट ल्याइने बताइएको छ।
प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने, “हिउँदमा भारतबाट कुल २ सय ४४ मेगावाट विद्युत आपूर्ति गर्ने लक्ष्य हो।”
यसरी करीब ७० मेगावट थप विद्युत ल्याउन कतिपय प्राविधिक सुधारहरु भइसकेको र भारत पनि उक्त परिमाणमा बिजुली दिन सकरात्मक रहेको क्षेत्रीले बताए।
‘सकारात्मक’
उनले भने, “प्रसारण लाइनमा सुधारको काम भइरहेको छ। छठ लगत्तै पनि गर्छौं। भारतसँग थप बिजुलीका लागि आग्रह गरिएको छ र उ सकारात्मक छ।”
गत वर्ष झण्डै ११ सय मेगावाट विद्युत माग भएकोमा यस वर्ष बढेर १२ सय मेगावाट पुगेको प्राधिकरणको भनाइ छ।
यस्तो मागको बढोत्तरीलाई ध्यानमा राखी लोडसेडिंग गत वर्षकै सीमामा राख्न पनि भारतबाट थप विद्युत ल्याउनुपर्ने वाध्यता रहेको अधिकारीहरु बताउँछन्। source BBC