प्रमुख तीन दलकै जित्ने दावी

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते २:१६ मा प्रकाशित

सङ्खुवासभा, १७ कात्तिक –आसन्न संविधानसभा चुनावमा पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको दुवै निर्वाचन क्षेत्रमा प्रमुख तीन दलले आफूले नै जित्ने दाबी गरेका छन् ।

दुई वटा निर्वाचन क्षेत्र रहेको सङ्खुवासभा जिल्लामा क्षेत्र नं १ मा १८ दल र क्षेत्र नं २ मा १३ दल चुनावी प्रतिस्पर्धामा उत्रेका भए पनि ठूला तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा (एमाले) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अघिल्लो संविधानसभाको चुनावमा क्षेत्र नं १ बाट एकीकृत नेकपा (माओवादी)का पूर्णकुमार राई र क्षेत्र नंं २ बाट नेकपा एमालेका डम्बर खड्का विजयी भएका थिए । पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नं १ मा विजयी भए पनि क्षेत्र नं २ मा अप्रत्यासित रुपमा हारेकोमा यस पटक दुवै क्षेत्रमा एकीकृत माओवादीको विजय सुनिश्चित भएको एकीकृत माओवादी क्षेत्र नं २ का प्रत्यक्षतर्फका उम्मेदवार राजेन्द्रकुमार किरातीको भनाइ छ ।

क्षेत्र नं १ मा अघिल्लो संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीले मतदातालाई डर त्रास देखाएर चुनाव जितेको भए पनि यस पटक भने माओवादीले नजित्ने एमाले काँग्रेसको भनाइ छ । यस पटक क्षेत्र नं १ मा नेकपा एमालेका जिल्ला अध्यक्ष र नेपाली काँग्रेसका जिल्ला सभापति उम्मेदवारका रुपमा प्रस्तुत भएका कारण पनि एकीकृत माओवादीले सजिलै नजित्ने बरु तीनै दलबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुको ठम्याइ छ ।

यता क्षेत्र नं २ मा भने २०४८ साल यता नेकपा एमालेले एक पटक पनि नहारे पनि सो दलका तत्कालीन नेता अशोक राईले नेकपा एमाले छाडेर सङ्घीय समाजवादी पार्टी गठन गरेपछि नेकपा (एमाले)का पूर्व जिल्ला उपाध्यक्षसहितको जिल्ला तहका कार्यकर्ता उक्त पार्टीमा गएका र एमालेकी पूर्व सभासद् लक्की शेर्पा तथा जलजला गाविसका पार्टी अध्यक्ष पनि एकीकृत माओवादीमा प्रवेश गरेका कारण नेकपा (एमाले)लाई चुनाव जित्न अप्ठ्यारो परेको देखिन्छ ।

एक–दुई जना कार्यकर्ता कतै जाँदैमा नेकपा (एमाले)ले हार्नु भनेको दिउँसै सपना देख्नु जत्तिकै हो भन्दै नेकपा एमाले क्षेत्र नं २ का उम्मेदवार राजेन्द्र गौतम भन्छन्, ‘न त नेकपा एमालेले क्षेत्र नं २ मा २०४८ यता हारेको थियो न त अब नै हार्नेछ, २ नं मात्र हैन १ नं क्षेत्रमा पनि नेकपा एमालेको जित सुनिश्चित छ ।’

क्षेत्र नं २ मा एमाले र क्षेत्र नं १ मा माओवादीलाई जनताले राम्ररी बुझिसकेको र उनीहरुबाट जनता वाक्क भइसकेका कारण यसपटक दुवै क्षेत्रमा नेपाली काँग्रेसको जित पक्का भइसकेको क्षेत्र नं १ का नेपाली काँग्रेसका प्रत्यक्षतर्फका उम्मेदवार तारामान गुरुङको दाबी छ । अघिल्लो संविधानसभाको निर्वाचनमा क्षेत्र नं १ मा नेकपा एमालेका कवानसेन राईलाई पछि पार्दै एकीकृत नेकपा माओवादीका पूर्णप्रसाद राई १२ हजार ९४८ मत ल्याएर विजयी भएका थिए भने क्षेत्र नं २ मा एकीकृत नेकपा माओवादीका राजेन्द्रकुमार किराती र नेपाली काँग्रेसका स्व गोपालराज पहाडीलाई पछि पार्दै नेकपा एमालेका स्व डम्बर खड्का १० हजार ८७० मत ल्याएर विजयी भएका थिए ।

विसं २०६४ को संविधानसभाको चुनावमा सङ्खुवासभा क्षेत्र नं १ मा कुल मतदाता ६६ हजार ६२० रहेकोमा ३२ हजार ८८२ मत खसेको थियो भने एक हजार ६२७ मत बदर भएको थियो । यस्तै क्षेत्र नं २ मा कुल ६५ हजार ४९८ मतदाता रहेकामा ३३ हजार ४४५ मत खसेको थियो भने एक हजार ८८३ मत  बदर भएको थियो । यसपालि पनि जिल्लामा महिला उम्मेदवार कम रहेका छन् । क्षेत्र नं १ मा दुई जना महिला उम्मेदवार रहेका छन् भने क्षेत्र नं २ मा एक जना पनि महिला उम्मेदवार रहेका छैनन् ।

जनजातिको बाहुल्य रहेको सङ्खुवासभा जिल्लामा प्रायःजसो राजनीतिक दलले जनजाति समुदायका उम्मेदवारलाई नै अगाडि सारेका छन् । क्षेत्र नं १ मा ११ जना र क्षेत्र नं २ मा पाँच जना जनजाति समुदायका उम्मेदवार रहेका छन् ।

अघिल्लो संविधानसभाको चुनावमा क्षेत्र नं १ मा नौ वटा दल र क्षेत्र नं २ मा ११ वटा दल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए भने यस पटकको निर्वाचनमा क्षेत्र नं १ मा नौ वटा र क्षेत्र नं २ मा दुई वटा दल चुनावी मैदानमा थपिएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us