३७१ मा मात्र ३६ महिला उम्मेदवार, खै ३३ प्रतिशत ?

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते ९:१६ मा प्रकाशित

far-westren-nepalकञ्चनपुर, १६ कात्तिक– आसन्न दोस्रो संविधानसभा निर्वाचनमा सुदूरपश्चिमबाट ३६ जना महिलाले उम्मेदवारी दिएका छन् । मङ्सिर ४ मा हुने संविधानसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका नौवटै जिल्लाबाट कुल ३७१ उम्मेदवार रहेकामा महिला उम्मेदवार भने ३६ जना मात्रै रहेका हुन् ।

महिलालाई ३३ प्रतिशत दिने कानुनी व्यवस्था भए पनि सुदूरपश्चिममा त्यो लागू भएको छैन । कुल उम्मेदवारको ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने कानुनी प्रावधान भए पनि सुदूरपश्चिममा १० प्रतिशत महिलामात्रै संविधानसभाको निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
यो सङ्ख्या कुल उम्मेदवारको १०.०२७ प्रतिशत मात्रै हुन आउँछ । पुरुष उम्मेदवारको सङ्ख्या ३३४ रहेको छ ।

हरेक राजनीतिक दलहरुले महिला सहभागिता बढाउने कुरा गरिरहेका बेला यस पटकको निर्वाचनमा भने महिला उम्मेदवारको सङ्ख्या न्यून देखिएको छ । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी र डडेल्धुराबाट मात्रै महिला उम्मेदवारको सहभागिता रहेको देखिएको छ । अन्य दार्चुला, बाजुरा, अछाम, डोटी र बझाङबाट पुरुषले मात्रै यस पटकको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

बाजुरामा एक निर्वाचन क्षेत्र रहेकामा १५ जना, दार्चुलामा एक निर्वाचन क्षेत्र रहेकामा १२ जना, अछाममा दुई वटा निर्वाचन क्षेत्र रहेकामा १९ जना, डोटीमा दुई निर्वाचन क्षेत्रबाट १९ जना र बझाङका दुई निर्वाचन क्षेत्रबाट २९ जना पुरुष उम्मेदवारले उम्मेदवारी दिएका छन् । यसैगरी कैलालीमा छ निर्वाचन क्षेत्रबाट कुल १५३ उम्मेदवार रहेकामा पुरुष १३६ र महिला उम्मेदवार १७ रहेका छन् ।

यस्तै, बैतडीमा दुई निर्वाचन क्षेत्रबाट १९ उम्मेदवार रहेकोमा १७ पुरुष र दुई महिला उम्मेदवार छन् भने डडेल्धुरामा एक निर्वाचन क्षेत्रबाट १६ उम्मेदवार रहेकामा १५ पुरुष र एक महिला उम्मेदवार रहेका छन् । यस्तै, कञ्चनपुर जिल्लामा चार निर्वाचन क्षेत्रबाट ८९ जना उम्मेदवार रहेकामा ७२ पुरुष र १७ महिला उम्मेदवार रहेका छन् ।

संविधानसभा निर्वाचनमा देशैभरिबाट प्रत्यक्षतर्फका जम्मा छ हजार १२८ जना उम्मेदवार रहेकामा ६३६ जना मात्रै महिला उम्मेदवार रहेका छन् । जुन कुल उम्मेदवारको ९.६३५ प्रतिशत मात्रै हुन आउँछ । यस पटकको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा बढी महिला उम्मेदवार ६४ स्वतन्त्रबाट रहेका छन् ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीले ३४, राष्ट्रिय जनमोर्चाले २८, सद्भावना पार्टीले २७, एकीकृत नेकपा माओवादीले २६, नेकपा एमालेले २६, नेपाल परिवार दलले २६, नेपाली काँग्रेसले २५, राप्रपा नेपालले २४ लगायत अन्य केही दलले पनि महिला उम्मेदवार बनाएका छन् । कञ्चनपुरमा भने प्रत्यक्षतर्फ एकीकृत नेकपा माओवादी र नेकपा मालले मात्रै महिला उम्मेदवार बनाएको छ । एमाओवादीले निर्वाचन क्षेत्र नम्बर १मा विना मगर र मालेले निर्वाचन क्षेत्र नम्बर ४ मा मीरा नेपालीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us