भिसी पुनको नाममा प्रवासीको सहयोगमा सडक निर्माण

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते ७:५३ मा प्रकाशित

म्याग्दी, १६ कात्तिक–बेलायत सरकारको उच्च सैनिक सम्मान भिक्टोरिया क्रस (भिसी) प्राप्त गरेका म्याग्दीका स्वर्गीय तुलबहादुर पुनको स्मृतिमा उनको जन्मगाउँमा सडक निर्माण गरिएको छ ।
रोजगारीको सिलसिलामा प्रवासमा रहेका र स्थानीयवासीले चन्दा सङ्कलन गरेर बेनी जोमसोम सडकखण्डमा पर्ने बेग गाविसको तिप्ल्याङ्देखि पुनको जन्मगाउँ बादुक जोड्ने शाखा सडक निर्माण गरिएको हो । स्वर्गीय पुनले गाउँको नाम विश्वसामु चिनाएकाले उनको सम्मानका लागि सडकलाई ‘तिप्ल्याङ–बादुक पुनभिसी सडक’ नामकरण गरिएको बेग गाविसका सचिव चित्रनाथ शर्माले बताए ।
पाँच किलोमिटर सडक निर्माण गर्न गाविसले रु दुई लाख ५० हजार र स्थानीयको रु ३७ लाख ५८ हजार ७४५ लगानी भएको उनले जानकारी दिए । हङकङ, बेलायत, कोरिया, जापान, अमेरिका, कतार, बहराइन र सिङ्गापुरमा रहेका तथा बसाइँ बराइँ गरेर पोखरा, काठमाण्डु पुगेका बेगबासीबाट चन्दा सङ्कलन गरी सडक निर्माण गरिएको बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष योगकुमार फगामीले बताए ।
सडक निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत, सामान ढुवानी र गाउँमा उत्पादित कृषि उपज बजारीकरणमा सहयोग पुगेको सडक निर्माण समितिका उपाध्यक्ष बेगबहादुर पुर्जाले बताए । पुनको विसं २०६८ वैशाख ८ गते ८९ वर्षको उमेरमा तिप्ल्याङमा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us