पुलिसलाई राष्ट्रिय महिला फुटबलको उपाधि

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १४:५४ मा प्रकाशित

natiola women footballहेटौँडा, १५ कात्तिक– साविक विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब १५ औं एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

हेटौँडा–६ गौरीटारस्थित निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानको खेल मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा एपिएफलाई १–० गोलले हराउँदै पुलिसले उपाधि कब्जा गरेको हो ।     निकै प्रतिस्पर्धात्मक खेलको ८५ औं मिनेटमा एपिएफकै सजना रानाले गरेको आत्मघाती गोल नै पुलिसका लागि बरदान सावित भयो ।

खेलको पहिलो हाफमा पुलिसलाई दबाबमा राखेको भए पनि एपिएफ पुलिसलाई उपाधि सुम्पन बाध्य भयो । १–० ले पछि परेपछि खेलमा फर्कने प्रयासमा निकै आक्रामक देखिएको एपिएफले गोल फर्काउन नसकेपछि लगातार चारपटक उपाधि हात पार्ने धोको पूरा गर्न सकेन । एनसेल फुटबलमा पुलिसले पहिलोपटक एपिएफलाई पराजित गरेको हो ।

जितसँगै पुलिसले नगद रु तीन लाख, शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने एपिएफले रु एक लाख ५० हजारमा चित्त बुझाउनु परेको छ । सेमिफाइनल प्रवेश गर्ने कैलाली र नेपाल आर्मीले रु ५०/५० हजार प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई एन्फाका महासचिव धीरेन्द्र प्रधान, एनसेलकी सञ्चार निर्देशक सञ्जु कोइराला, मध्यक्षेत्रका डिआइजी विज्ञानराज शर्मालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

नवलपरासी र हेटौँडामा संयुक्तरुपमा सञ्चालित प्रतियोगितामा २५ जिल्ला र तीन विभागीयसहित २८ टिमले भाग लिएका थिए । यसैबीच, सशस्त्र प्रहरी बल एपिएफकी सजना राना प्रतियोगिताकै उत्कृष्ठ घोषित हुँदै यामाहाको स्कुटर प्राप्त गरेकी छिन् । आत्मघाती गोल गरेर उपाधि पुलिसलाई सुम्पिए पनि प्रतियोगिता अवधिभर उनले सर्वाधिक १६ गोल गरेकी थिइन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा प्रशिक्षकमा भने नेपाल पुलिसले बर्चश्व जमाएको छ । पुलिसकी निरु थापा, घिमकुमारी गुरुङ र नमिता दली क्रमशः उत्कृष्ठ फरवार्ड, उत्कृष्ठ डिफेन्स र उत्कृष्ट गोलरक्षक घोषित भइन् ।

पुलिसकै सन्देश श्रेष्ठले उत्कृष्ठ प्रशिक्षकको पुरस्कार प्राप्त गरे । उत्कृष्ठ मिडफिल्ड भने एपीएफकी नमिता नगरकोटी भइन् । सबैले जनही नगद रु २५ हजार प्राप्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us