जीवनकै पहिलो भोटः परिणाममा प्रत्यक्ष असर

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १३:३१ मा प्रकाशित

भक्तपुर,कात्तिक– आउँदो संविधानसभाको निर्वाचनमा अघिल्लो संविधानसभाको निर्वाचनमा कम्तिमा १२ वर्ष उमेर पुगेकाहरुको मतले परिणाममा प्रत्यक्ष रुपमा असर पार्ने देखिन्छ । त्यतिबेला १२ वर्ष पुगेकाहरु अहिले १८ वर्ष पुगिसकेका छन् भने त्यतिबेला १८ वर्ष नपुगेका अन्य तर अहिले मतअधिकार हासिल गरेका युवाहरु प्रशस्तै छन् । उनीहरुको मत पर्ने उम्मेदवार तथा पार्टीको परिणाम अनुकुल हुने प्रष्ट देखिन्छ ।

यसपटक मतअधिकार पाएका युवाहरु पनि आफ्नो मतलाई सुरक्षित गर्न चाहन्छन् र निर्वाचनमा सहभागी हुन उत्साही देखिन्छन् । जीवनमा पहिलोपटक नै राष्ट्रको मूल कानुन बनाउन मत हाल्न पाएको अवसरलाई उनीहरु खेर फाल्न चाहदैनन् । पहिलो पटक यसपाली मतदान गर्न लागेका युवा मतदाता उत्साह र कौतुहल लिएर मङ्सिर ४ गतेको प्रतीक्षा गरिरेहका छन् ।

youth_nepal_logo_kedar_shrestha_creation

युवाहरु खुशी

निर्वाचनबारे थाहा भएको तर उमेर नपुगेका कारण २०६४ को निर्वाचनमा मतदान गर्न नपाएका युवायुवतीले यस पटक मतदान गर्न पाउने भएपछि उनीहरू निकै खुसी देखिन्छन् ।

जिल्लाको सिरुटार गाविसकी अनिता थापा यस पटक पहिलो पटक मतदान गर्न पाउने भएपछि खुसी लागेको बताउँदै भन्छिन् ‘यसपटक मतदान गर्न पाउने भएकोले म निकै उत्साहित भएको छु, बिहानै गएर मत खसाल्छु ।’ दधिकोट गाविसकोे अरनिको उच्च माविमा आएको घुम्ती शिविरमा मतदाता नामावलीमा नाम दर्ता गराएका प्रकाश न्यौपाने पनि मतदान गर्न पाउने भएकोमा उत्साहित छन् ।

जिल्लाकै सुडाल गाविसकी सरस्वती थापाको पनि उस्तै भनाइ छ । थापाले भनिन्, ‘गत संविधानसभा निर्वाचनमा उमेर नपुगेर भोट हाल्न पाइएन, यसपालि त भोट हाल्न पाइने भो, मेरो भोट संविधान बनाउन सक्ने पार्टीलाई जानेछ ।’ नगरकोट गाविसका अम्मर लामाले भने, ‘पहिलो पटक भोट हाल्न पाएकोमा औधी खुसी छु, मेरो भोट सडक, पर्यटन र गाउँको विकास गर्ने योजना लिएर आएका उम्मेदवारलाई जान्छ ।’

विगतका चुनावमा अरूले भोट हालेको हेरेर बस्दा पनि रमाइलो लाग्ने गरेको बताउने बालकोट गाविसका उमाकान्त खत्रीले यस पटक आफैँले भोट हाल्न पाउँदा झन खुसी लागेको बताउँछन् ।     जिल्लाको चाँगु गाविसका सरिता गैंडाले आफ्नो भोट विकासका लागि रहेको उल्लेख गर्दै गाउँको विकास गर्न प्रतिबद्ध उम्मेदवारलाई भोट दिने बताइन् । छालिङ गाविसका श्याम हात्ती, भक्तपुर नगरपालिका बोलाछेंकी अनिता खर्बुजा, थिमी नगरपालिकाका रामहरि तकों, व्यासीका उमेश बोहजु पनि पहिलो पटक भोट हाल्न पाएकामा उत्साहित भएको बताउँछन् ।

महिला बढी
धुन्चे– संविधानसभा सदस्य निर्वाचनमा मतदान गर्ने मतदातामध्ये अधिकांश जिल्लामा पुरुषहरुको संख्या बढी छ । तर, रसुवामा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ ।

जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार २३ हजार ५२४ मतदातामध्ये महिलाको सङ्ख्या १८४ बढी रहेको छ । जसमध्ये ११ हजार ८५४ महिला र ११ हजार ६७० पुरुष रहेका छन् । ८३ प्रतिशत जनजातिको बाहुल्यता रहेको रसुवा जिल्लामा १३ राजनीतिक दल र तीन स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।

चुनावी मैदानमा उत्रने दलहरूमा नेपाली काँग्रेस, एनेकपा (माओवादी), नेकपा (एमाले), राप्रपा नेपाल प्रमुख मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले बताए । बयालीस मतदान केन्द्र रहने रसुवा जिल्लामा ३१ विद्यालय, एक स्वास्थ्य केन्द्र र तीनवटा गाविस भवन मतदान केन्द्रको रुपमा प्रयोग हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us