संविधान बनाउन सकेनौं भने जनताको कठघरामा उभिन्छौं

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते ५:२१ मा प्रकाशित

पूर्णाकुमारी सुवेदी पूर्वउपसभामुख तथा उम्मेदवार बाँके क्षेत्र नम्बर ६ Purnakumari_Subedi
० पहिलो पटकको संविधानसभाको चुनावमा जुन उत्साह जनतामा थियो, अहिले त्यो उत्साह छैन । कतिपय जनताले अब हामी भोटै हाल्दैनौं भनेका छन् । जनतालाई नेपालमा नयाँ संविधान बन्छ भन्ने कुराको विश्वास नै छैन त ?
–जनता पहिलो संविधानसभाबाट नै नयाँ संविधान बन्छ भन्ने कुरामा ढुक्क थिए । तर नयाँ संविधान बन्न नसकेपछि जनतामा केही निराशा पनि आएकै हो । तर अहिले भने जनता नै उत्साहित भएका छन् ।  तपाईले भने जस्तै सबै जनता त्यसरी निराश छैनन् बरु धेरै सचेत भइरहेका छन् । २०६९ जेठ १४ गते जसरी पनि नयाँ संविधान चाहिन्छ भनेर चर्को घाममा जनताले संविधानसभा घेरेकै थिए । जनता नै परिवर्तनका बाहक हुन् । जनताले जहिले पनि परिवर्तन चाहन्छन् । पहिलो पटक संविधान बन्न नसकेपछि यसपटक दोश्रो संविधानसभाको चुनाव गराउन लागिएको हो । दोश्रो पटक पनि संविधान बनेन भने जनताले कसैलाई पनि छोड्दैनन् ।
० भनेपछि अब पनि संविधान बनाउन सकिएन भने अरु दलसँगै एमाओवादी पनि जनताको कठघरामा उभिनुपर्ने भयो हैन त ?
–एमाओवादीकै एजेण्डा संविधानसभा हो । अरु पार्टीलाई त जनताले नै घिसारेर संविधानसभा मान्न बाध्य बनाएका हुन् । हामीले भनेका छौं, स्पष्ट बहुमत दिनुहोस् स्थिर सरकारबाट समृद्ध नेपाल र नयाँ संविधान बनाउँछौं । पहिले जस्तै ठुलो पार्टी मात्र जनताले एमाओवादीलाई बनाए भने प्रतिगामीले षड्यन्त्र गरिहाल्छन् । जनता यो कुरामा सजग हुनप¥यो । जनताले यसपटक संविधान र विकासका लागी स्पष्ट बुहमत एमाओवादीलाई दिनैपर्छ । कुरा रह्यो अरु दल र एमाओवादीको । एमाओवादीलाई अरु दलसँग जनताले तुलना गर्नै सक्दैनन् किन कि जनताकै लागि हामीले दश वर्षसम्म रगत पसिना बगायौं । अझैं पनि हामी देश र जनताकै लागि लडिरहेका छौं । हामीलाई स्पष्ट बहुमत दिएर पनि हामीले संविधान बनाउन सकेनौं भने जनताको कठघरामा उभिन्छौं ।
० तपाईलाई पहिलो संविधानसभाको चुनावमा त्यही क्षेत्रमा जनताले जिताएर पठाए, तर संविधान बनाउन सक्नु भएन । यसपटक संविधान बनाएरै छोड्छु भनेर जनतालाई विश्वास दिलाउने बलियो आधार के छ त ?
–पहिलो संविधानसभाको चुनावमा यही क्षेत्रमा जनताले मलाई भारी मत दिएर जिताउनु भएको हो । मैंले ४ वर्षसम्म संविधानसभाको उपसभामुख भएर काम गरें । त्यतिबेला संविधानसभाको चुनावमा जनताले सबै राजनीतिक दल मिलेर संविधान बनाउ भनेर म्यान्डेट दिएका थिए । जनताले कुनै एउटा दललाई दुई तिहाइ नदिनुको कारण पनि बहुमतीय प्रणालीबाट नभएर सहमतीय प्रणालीबाट संविधान बनाउन भन्नु हो । संविधानसभा भङ्ग हुने रातमा त म धेरै रोएँ । मेरो कुरा गर्नुहुन्छ भने उपसभामुख हुँदा बाँके जिल्लाको विकासमा धेरै जोड दिएकै हो । अर्को कुरा त्यतिबेला एमाओवादीको पक्षमा दुईतिहाइ बहुमत नआएकै कारणले संविधान बनाउन दिएनन् प्रतिगामीहरुले । यसपटक स्पष्ट बहुमत दिनुहोस, हामीले संविधान बनाउँछौं भनेर जनतालाई भनिरहेका छौं । विश्वास दिलाउने प्रमुख आधार संविधानको पक्षमा धेरै रगत–पसिना बगाउने हाम्रै पार्टी हो । यही संविधानसभाका लागि आफ्नो दलको नेतृत्वमा बनेको सरकारलाई हटाएर प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने हाम्रो पार्टी नै हो । हामीले प्रतिबद्धतापत्रमा पनि स्पष्ट भनेका छौं । दोश्रो आधार जनताको दुईतिहाइ बहुमत हो । हामीले स्पष्ट बहुमत दिनुहोस् संविधान र विकास तीव्र गतिमा गर्छौं भनेका छन् ।
० एमाओवादीको प्रतिबद्धता–पत्रमा ठुला–ठुला कुरा छन् तिनलाई पुरा गर्ने आधार के छ त ?
–तपाईले यो कुरा पनि बुझ्नुपर्छ कि हिजो हामीले गणतन्त्र र नयाँ संविधानको कुरा गर्दा मान्छेहरु हाँस्थे । तर आज त्यो सम्भव भयो नि । त्यस्तै अहिले हामीले समृद्ध मुलुक बनाउने प्रतिबद्धतापत्र ल्याएका छौं । कतिपय दललाई डाहा पनि भएको छ, लौ एमाओवादीले त सबै जनताको पक्षमा पो घोषणापत्र बनाएछ, जनताले हामीलाई भोट दिंदैनन् भनेर । अर्को कुरा परिवर्तन चाहने, संविधान चाहने जनता त एमाओवादीमै लागेका छन् । यथार्थको धरातलमा टेकेर हामीले प्रतिबद्धतापत्र ल्याएकाले पनि स्पष्ट बहुमत ल्याएर पुरा गर्न सम्भव छ, यसमा कुनै शंका नै छैन ।
० उसो भए जनताको प्रतिक्रिया कस्तो छ त ?
– जनताका केही गुनासा पनि छन् । ठुलो पार्टी भएर संविधान बनाउन किन सक्नु भएन भनेर भनिरहेका छन् । हामीले स्पष्ट बहुमत नभएका कारण संविधान बनाउन सकेनौं भनेर जनतालाई स्पष्ट पारिरहेका छौं । जनताले त एमाओवादीलाई जिताउनुपर्छ भनिरहेका छन् । हामी जनताको घरदैलोमा पुग्दा जनताले भोट तपाईलाई हाल्छौं तर अब संविधान जसरी भए पनि बनाउनुहोस भनिरहेका छन् ।
० एमाओवादीलाई पार्टी फुटको असर चुनावमा पर्छ भन्छन् नि त ?
–तपाईले जिल्लामा हेर्नुभयो भने खासै पार्टी फुटको असर छैन । फुटेर गएका केही साथीहरु पनि आफ्नै घरमा फर्किसक्नु भयो । माथि केही लिडर गएकाले तल पनि असर छ भनेर केही मान्छेले मनोवादी तरिकाले तर्क गरेका होलान् । तर तल संगठनमा हेर्नुभयो भने हाम्रो संगठन मजवूत छ । जनता पनि हाम्रै पक्षमा छन् ।
० कस्ता एजेण्डा बोकेर जनतामाझ पुग्नु भएको छ नि ?
–गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, महिला, दलित, जनजाति, पिछडिएका क्षेत्रका एजेण्डा छन् । सबै नेपालीको मुक्तिका एजेण्डा हामीले बोकेका छौं । नयाँ संविधान त हाम्रै एजेण्डा हो नि । गणतन्त्र, संघीयता त हाम्रै एजेण्डा हो नि । केही विकास निर्माणका कुरा पनि छन् । भूमिहीनका अधिकार सुनिश्चित गर्ने, दलितका अधिकार सुनिश्चित गर्नका लागि जनमुखी संविधान बनाउने एजेण्डा छन् ।
० चुनावको बेला जनताको घरमै पुगेर सपना बाँड्ने जितेपछि जिल्ला नफर्कने प्रवृत्ति पनि छ । तपाईको हकमा त्यो लागू हुन्छ कि हुँदैन ?
–मैले पहिलो संविधानसभाको चुनावमा यही क्षेत्रबाट जितेकी हुँ । मेरो संविधानसभामा आफ्नो दायित्व गहन हुँदाहुँदै पनि यस क्षेत्रमा आएकै थिएँ । यहाँको विकासमा जोड दिएकै थिएँ ।
० नियम कानून बनाउने ठाउँमा पनि ४ वर्ष उपसभामुख भएर काम गर्ने अवसर पाउनुभयो । अहिले पनि नेपालमा महिलाहरुमाथि महिला हिंसा र घरेलु हिंसा भइरहेका छन् । यस्को अन्त्यका लागि कस्तो संविधान बनाउनु पर्ला ?
–नेपालमा महिलाहरुमाथि जति हिंसा भइरहेका छन् त्यसको अन्त्यका लागि महिलामैत्री संविधान बनाउनु पर्दछ । महिलामाथि यो वा त्यो नाममा हिंसा गर्नेलाई कडा कानूनको व्यवस्था गर्नुपर्दछ । अब बन्ने संविधान महिलामैत्री बनाउनुपर्छ, जसले महिलामाथि भएका शोषण, दमन, हिंसाको अन्त्य गरोस् । अर्कोतिर राज्यको नीति निर्माण तहमा महिलाको समावेशी सहभागिताको सुनिश्चितता गराउनुपर्छ ।
० जनताको घरदैलोमा चुनाव प्रचार–प्रसारमा हुनुहुँदो रहेछ, चुनावी गतिविधि कसरी अगाडि बढाइरहनु भएको छ ?
–अहिले हामी सबै एमाओवादीका नेता तथा कार्यकर्ता जनताकै घरदैलोमा छौं । जनता अहिले सबै धान काट्न लागेकाले पनि हामी धानबारीमै गएर जनतालाई भेटिरहेका छौं किन कि कार्तिक महिनामा त जनता धान काट्नमै व्यस्त हुनुहुन्छ । हामीले १० वर्षीय जनयुद्धमा पनि जनताकै घरदैलोमा जनश्रमसँग जोडिंदै आएका थियौं । अहिले पनि हामी जनतासँग धान काट्दै भोट मागिरहेका छौं । त्यसमा पनि बाँके निर्वाचन क्षेत्र नं. ४ मा त हामीले कोणसभा पनि गरिरहेका छौं । त्यो भन्दा बढी अहिले हामी घरदैलो अभियानमै छौं । प्रचारप्रसारमा पनि तीव्र रुपमा गइरहेका छौं । कृष्णसेन समाचार सेवा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us