जीप दुर्घटनामा मर्नेको संख्या पाँच पुग्यो

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते २:४५ मा प्रकाशित

तानसेन, ८ कात्तिक–पाल्पाको चिदीपानीमा विहीबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते टेकबहादुर ढेगाको उपचारको क्रममा विहीबार राती मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो ।

विहीबार दिउँसो चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बहादुरपुर–२ पाल्पाका ६३ बर्षीया हुमिशरा बाह्रघरे, जल्पा–९ का २६ बर्षीया ज्ञानीसरा सारु, सोही ठाउँका ८६ बर्षीय बदल सिंह सारु र जल्पा ७ का ५० बर्षीय चन्द्र बहादुर बाह्रघरे रहेका छन् ।

भारतीय पेन्सन शिविर सिलाङ्दीबाट जल्पा जाँदै गरेको लु १ ज १२३० नम्बरको जीप विहीबार दिउँसो चिदिपानी गाविसको भुटुकेभन्ज्याङ भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते १० जनाको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको छ ।

 

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
यसैबीच सुर्खेतको उत्तरगंगामा दुईवटा मोटरसाईकल आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा सुर्खेतका ३८ वर्षिय खगेन्द्र चालीसे रहेका छन् । उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका अर्का मोटरसाईकल चालक विजय कार्कीलाई थप उपचारको लागि बाँकेको नेपालगन्ज पठाईएको छ ।  विहीबार राति साढे १० बजे भे १ प ५४७१ नम्बरको मोटरसाईकल र भे २ प ५४७९ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएका थिए ।

यसैगरी काठमाण्डुको जोरपाटीमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा दुर्घटना हुँदा एकजना गम्भीर घाईते भएका छन् । घाईते हुनेमा मोटरसाइकलको पछाडी सवार चावहिल बस्ने २८ बर्षीय सवित बुढाथोकी रहेका छन् । गम्भीर घाईते बुढाथोकीको शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको छ ।

गएराती सवा ९ बजे जोरपाटीबाट बौद्ध तर्फ जाँदै गरेको बा ४३  प १७२३ नम्बरको मोटरसाईकल दोलखा घर भई हाल बौद्ध बस्ने २६ बर्षीय मिना टासी शेर्पाले चलाएका थिए । उनले अत्याधिक मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाउँदा अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक शेर्पा भने दुर्घटनामा सामान्य घाईते भएका छन् । सवारी साधन र चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us