नेपाली महिला फुटबल टोलीको कतार विरुद्ध ६–० को जीत

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते १:४२ मा प्रकाशित

Nepal-Flagकाठमाण्डु, ८ कात्तिक–कतारमा मैत्रीपूर्ण फुटबल खेल खेल्न गएको नेपाली महिला फुटबल टोलीले पहिलो खेलमा उत्कृष्ट जीत हासिल गरेको छ । कतारको महिला फुटबल टीम र नेपाली महिला फुटबल टीमबीच शुक्रबार भएको खेलमा नेपाली महिला टोलीले कतारलाई शून्यका विरुद्ध ६ गोलले पराजित गर्‍यो ।

नेपालकालागि सजना राणाले दुई गोल गरिन् । अनु लामा, निरु थापा, चन्द्रा भण्डारी र प्रमिला राईले एक–एक गोल गरे । नेपालका लागि पहिलो गोल खेलको १२ औं मिनेटमा सजना थापाले गरेकी थिईन् । पहिलो गोल गरेको १५ मिनेट पछि अनु लामाले नेपालको अग्रतालाई दोब्बर पारिन् । खेलको ३० औं मिनेटमा मध्यक्रमकी खेलाडी निरु थापाले तेस्रो गोल गरिन् । त्यसलगत्तै खेलमा ब्यक्तिगत दोस्रो गोल गर्दै सजना राणाले नेपालको अग्रतालाई चार–शून्यमा पुर्‍याईन् । नेपालको लागि बाँकी दुई गोल खेलको ६६ औं मिनेटमा कप्तान चन्द्रा भण्डारी र ७१औं मिनेटमा प्रमिला राईले गरे ।

दुईवटा मैत्रीपूर्ण खेलकोलागि कतार पुगेको नेपाली महिला फुटबल टोलीले अर्को खेल आईतबार खेल्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us