अमेरिकाले आफ्नो फोन टेप गरेको जर्मन चान्सलरको आरोप

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते २:३० मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक–जर्मन चान्सलर एन्जेला मार्केलले संयुक्त राज्य अमेरिकाले आफू विरुद्ध जासुसी गरेको आरोप लगाएकी छिन् । चान्सलर मार्केलले अमेरिकी राष्ट्रपति बराक ओबामालाई टेलिफोन गरि आफ्नो मोबाईल फोनमा भएको कुराकानीको अमेरिकाले निगरानी राख्ने गरेकोमा आपत्ति जनाएकी हुन् ।

पछिल्लो समय अमेरिकामाथि विभिन्न देशहरुले टेलिफोन कलहरुमा निगरानी राखेको आरोप लगाउँदै आएका छन् । जर्मन चान्सलर एन्जेला मार्केलको आरोप अमेरिका माथि विभिन्न देशहरुले लगाएको आरोपको श्रृङ्खलामध्ये सबैभन्दा पछिल्लो हो ।

मार्केलको आरोपप्रति टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति ओबामाले मार्केलको फोनको निगरानी भईनरहेको र भविष्यमा पनि अमेरिकाले नगर्ने जनाएका छन् । तर ओबामाको टिप्पणीमा भईनरहेको र भविष्यमा पनि नहुने भनिए पनि विगतमा भए नभएकोप्रति कुनै उल्लेख नभएबाट अमेरिकी राष्ट्रपतिको टिप्पणीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि फ्रान्सका राष्ट्रपति फ्रान्सियोर ओलाण्डले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले गोप्यरुपमा फ्रान्सका टेलिफोनहरु टेप गर्ने गरेको आरोप लगाएका थिए । यसअघि ब्राजील र मेक्सिकोले पनि अमेरिकामाथि आफ्ना टेलिफोनहरुमा निगरानी गरेको आरोप लगाएका थिए । ब्राजीलकी राष्ट्रपति दिलमा रौसेफले विरोध स्वरुप आफ्नो पूर्वनिर्धारित अमेरिका भ्रमण रद्ध गरेकी थिईन् । मेक्सिकोका राष्ट्रपति एन्रिक पिना नियटोले पनि आफ्नो फोन कलहरु निगरानीमा राखिएको भन्दै अमेरिकासँग आपत्ति जनाएका थिए । नियटोले अमेरिकाले फोन टेपिङबारे छानविन गरिने आस्वासन दिएको जनाएका छन् ।

फ्रान्सले केवल ३० दिन भित्र अमेरिकाले फ्रान्सबाट भएका ७ करोड कलहरु टेप गराएको आरोप लगाएको थियो । राष्ट्रप्रमुखकै टेलिफोन टेपिङ गरिएको जर्मनीले लगाएको आरोप ब्राजील र मेक्सीकोको आरोप पछि तेस्रो हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us