चेपाङ बालबालिकालाई गैरआवासीय नेपालीबाट एकलाख सहयोग

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ३:५८ मा प्रकाशित

nrnचितवन–आर्थिक विपन्नता तथा भौगोलिक विकटताका कारण पठन पाठनबाट बञ्चित चेपाङ बालबालिकालाई आवासीय सुबिधा दिएर पठन पाठनको ब्यवस्था मिलाउदै आएको चितवनको गामबेशी चेपाङ संरक्षण केन्द्रलाई गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सात जना शारीरिक अपाङ्ग सहित ४७ जना चेपाङ बालबालिकालाई आश्रय दिदै आएको संरक्षण केन्द्रको भवन निर्माणका लागि परिषदले सहयोग गरेको हो ।

संघका निवर्तमान अध्यक्ष जिवा लामिछानेले केन्द्रका सल्लाहकार रवि रोषीलाई एक कार्यक्रमकाबीच काठमाण्डुमा एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे । संघको च्यारिटी फण्ड अन्तर्गत परोपकार कार्यका लागि आर्थिक सहयोग गरिएको लामिछानेले जानकारी दिए । यसअघि चितवनको पिठुवामा रहेको बिन्देश्वरी निमाविमा संचालित बिन्देश्वरी गामबेशीको चेपाङ घर नामक छात्रावास भवन निर्माणका लागि समेत संघका निवर्तमान अध्यक्ष जिवा लामिछाने र अफ्रिका क्षेत्र संयोजक हिक्मत थापाको पहलमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदबाट १० लाख रुपैयाँ सहयोग भएको थियो ।

रत्ननगर १३ जयमंगलामा रहेको स्थानिय समाजसेवी कमलचन्द्र खनालको घरमा संचालन हुदै आएको संरक्षण केन्द्रमा चितवनका सिद्धी, कोराक, काउले, लोथर तथा मकवानपुरको काकडा गाबिसका चेपाङ बालबालिकालाई आश्रय दिईएको छ । रत्ननगर नगरपालिकाले उपलब्ध गराएको जग्गामा संरक्षण केन्द्रको भवन निर्माणका लागि प्रकृया शुरु भएकोे गामबेशीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिए । संरक्षण केन्द्रको आम्दानीको नियमित स्रोत नभएकाले बिभिन्न दाताहरुको सहयोगबाट बालबालिकालाई खाद्यान्न तथा स्टेशनरी सामानको ब्यवस्था मिलाउने गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us