प्रचण्डपुत्री र गणेशमान पुत्रको प्रतिस्पर्धा

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १४:३८ मा प्रकाशित

काठमाण्डु–संविधानसभाको आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ मा ०४६ सालको जनआन्दोलनका कमाण्डर तथा काँग्रेसका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र १० बर्षे जनयुद्धका कमाण्डर तथा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल वीच प्रतिस्पर्धा हुदैछ । उनीहरुसँगै प्रतिस्पर्धामा उत्रिएका अन्य उम्मेदवारहरुले पनि मतदातासँग मत माग्दै घरदैलो, अन्तक्र्रिया र कोणसभा गर्नमा व्यस्तता बताएका छन् ।Renu Dahal
उम्मेदवारहरू बिहानदेखि नै चोकचोक र घरदैलोमा मतदाता समक्ष हात जोड्दै मत माग्ने गरिरहेका भेटिन्छन् भने कार्यकर्ता पछिपछि पार्टीका झण्डा बोकेर ठूलै सङ्ख्यामा उम्मेदवारलाई हौसला दिइरहेकाले पनि यसक्षेत्रमा चुनावी अभियानले गति लिइरहेको भान हुन्छ ।  सो क्षेत्रमा प्रमुख तीनदलबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले) का उम्मेदवार चर्चामा रहेपनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), नेकपा माले, राप्रपा, सङ्घीय समाजवादीलगायत साना दल र स्वतन्त्र उम्मेदवारलाई पनि कम आँक्न सकिँदैन ।

अघिल्लो संविधानसभा निर्वाचनमा सो क्षेत्रमा विद्युतीय प्रणालीअनुसार निर्वाचन गरिएकाले त्यसको परिमाण पनि सबैभन्दा छिटो प्राप्त भएको थियो । नमूना मतदान क्षेत्रको रूपमा त्यसबखत विद्युतीय प्रणाली अपनाइए पनि यसपटक राजनीतिक दल र उम्मेदवारको सङ्ख्या बढेका कारण सो प्रणाली लागू नगरी मतपत्रबाट नै मतदान गराइने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो संविधानसभा निर्वाचनमा करिब १५ हजार मत ल्याइ जितेका काँग्रेसका महामन्त्री प्रकाशमान सिंहलाई नै सो पार्टीले  पुनः उम्मेदवार बनाएको छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनको हारको बदला लिने तयारीमा एमाओअवादी र एमाले लागेका छन् ।

घरदैलो कार्यक्रममा व्यस्त रहेका काँग्रेसका उम्मेदवार सिंहले आफ्नो पार्टीलाई मत दिई स्पष्ट बहुमतमा पु¥याए नयाँ लोकतान्त्रिक संविधान दिने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।

सुनधारा, भोटेवहाल, बुद्धनगर, शान्तिनगर, बानेश्वर क्षेत्रमा घरदैलोमा जाँदै काँग्रेस उम्मेदवार सिंहले जनतालाई यसपटक गाँस, बाँस कपाससहितको मौलिक अधिकार सम्पन्न र संसदीय मूल्य र मान्यतासहितको संविधान दिई राजनीतिक सङ्क्रमणको अन्त्य र शान्ति प्रक्रियालाई टुङ्ग्याउने वचन दिँदै आएका छन ।Prakash Man Singh
सो क्षेत्रमा एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल र एमालेको तर्फबाट विद्या न्यौपाने उम्मेदवार छन । एमाओवादीकी उम्मेदवार दाहालले निर्वाचन प्रचारप्रसारको क्रममा सो क्षेत्रमा रहेका पार्टीका समर्थक र शुभचिन्तकसँग एक चरणको छलफल कार्यक्रम सम्पन्न गरिसकेर अब मतदाताको घरदैलो अभियानमा जुटेको जानकारी दिइन् ।

एमाओवादीले केही दिनमै सो क्षेत्रमा बृहत् सभाको कार्यक्रम गर्ने र सो सभालाई एमाओवादी अध्यक्ष दाहालले सम्बोधन गर्ने एमाओवादी क्षेत्र नं १ का निर्वाचन परिचालन समितिका संयोजक चन्द्रबहादुर थापाले बताए । उनले आफ्नो पार्टीको उम्मेदवारको जित सुनिश्चित भएको दाबी गर्दै काँगे्रस उम्मेदवार सिंहसँग आफ्नो पार्टीको प्रमुख प्रतिस्पर्धा रहेको बताए ।

एमाले उम्मेदवार न्यौपाने पनि घरदैलो अभियानमा व्यस्त छिन् । बानेश्वरको थापागाउँमा निर्वाचन परिचालन समितिको कार्यालय खोलेर उनले सोमबारदेखि विधिवत् रुपमै निर्वाचन परिचालन अगाडि बढाएको बताइन् ।

घरदैलोको अभियानमा कात्यायनी, शङ्खमूल, बुद्धनगर, अनामनगर, घट्टेकुलोलगायतका क्षेत्रमा पुगिसकेको र बाँकी क्षेत्रमा पनि जाने क्रम जारी रहेको उनले बताइन् । आफ्नो मुख्य प्रतिस्पर्धा काँग्रेस उम्मेदवार सिंहसँग हुने उहाँको भनाइ छ ।

आफूले चुनाव जित्नेमा ढुक्क हुँदै न्यौपानेले भनिन् “यो क्षेत्रका मतदाताले पहिलो पटक स्थानीय उम्मेदवारलाई ठूलो पार्टीले टिकट दिएको भन्दै मेरो उम्मेदवारीको स्वागत गरिरहेका छन् । अरु ठूला पार्टीका उम्मेदवार यो क्षेत्रका स्थानीय नभएकाले स्थानीय व्यक्तिले नै सो क्षेत्रको समस्या बुझ्दछ भन्दै मलाई भोट हाल्छौँ भन्नुभएको छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका तर्फबाट सो क्षेत्रका उम्मेदवार भरत जङ्गम पनि निर्वाचनको प्रचारप्रसारमा सक्रिय छन । उनले सोमबार बुद्धनगर, शङ्खमूललगायतका क्षेत्र र ती क्षेत्रमा बागमती नदी किनाराको सुकुम्बासी बस्तीमा पुगेर राप्रपा नेपाललाई मतदान गर्न आग्रह गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

उम्मेदवार जङ्गमले आफू भ्रष्टचार विरोधी अभियन्ताको रूपमा लामो समयदेखि सो क्षेत्रमा क्रियाशील रहेको र साथै आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र घोषणा, संवैधानिक राजतन्त्रको कार्यसूचीलाई धेरै मतदाताले समर्थन गरेको दाबी गरे ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का उम्मेदवार निर्मल थापाले लाखेचौरमा सम्पर्क कार्यालय स्थापना गरी सबै टोलमा घरदैलो कार्यक्रमअन्तर्गत मतदातासँग मत माग्ने कार्य भइरहेको बताए ।

उम्मेदवारहरूसँग बानेश्वर,बुद्धनगर, शान्तिनगर,मिनभवन क्षेत्रका मतदाताहरूले संविधान बन्नेमा आफूहरू अझै विश्वस्त हुन नसकेको धारणा राख्दै खानेपानी र बाटोघाटोको उचित व्यवस्था गर्न उम्मेदवारसँग माग गरेका छन् ।

क्षेत्र नं १ मा २४ वटा मतदान केन्द्र, काठमाडौँ महानगरपालिकाका १०, ११, ३२, ३४ वडा रहेका छन् । सो क्षेत्रमा गत संविधानसभामा करिब ५१ हजार मतदाता रहेकामा अहिले फोटोसहितको मतदाता नामावली दर्ता गराउने प्रक्रियामा केही मतदाता घटेर ४९ हजार १५४ पुगेको प्रमुख जिल्ला निर्वाचन अधिकृत अच्युत बिष्टले बताए ।

निर्वाचन क्षेत्र नं १ मा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार गरी ४७ जना प्रत्यक्ष उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रमा सङ्घीय समाजवादी पार्टीका नरेश ताम्राकार, नेकपा (माले)का उमाकुमारी शर्मा, राष्ट्रिय जनमोर्चाका धनश्याम खनाल, राप्रपाका सुशीलकुमार भट्टराईले प्रतिस्पर्धा गरिररहेका छन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us