चाँडै निर्वाचन गर्न मालद्वीपलाई महासचिव बानको आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते ९:०४ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घ, ४ कात्तिक–संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले चाँडै निर्वाचन गर्न मालद्वीपको सरकारसमक्ष आग्रह गरेका छन ।  महासचिव बानले गत शनिबार निर्वाचनको कार्यलाई प्रहरीले अवरोध पु¥याएको घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन । Ban-ki-moon
गत शनिबार मालद्वीपमा राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी सकिएको थियो । तर त्यसैदिन बिहान निर्वाचन आयोगबाट मतपत्र बाहिर ल्याउने क्रममा नै त्यहाँको प्रहरीले अवरोध गरेको थियो ।
सो अवरोधका कारण निर्वाचन नै रोकिएको थियो । उक्त कार्यको त्यहीँको निर्वाचन आयोगले पनि विरोध गरेको छ ।
मालद्वीपको स्वतन्त्र निर्वाचन आयोगका प्रमुख आयुक्तले सो प्रहरी हस्तक्षेपलाई मालद्वीपमा प्रजातन्त्रमाथि भएको इतिहासकै सबैभन्दा घातक हमला भनेका छन ।
रोकिएको सो निर्वाचन जतिसक्यो चाँडै सम्पन्न गर्न बानले विज्ञप्तिमार्फत आग्रह गरेका छन । मालद्वीपमा निर्वाचनका क्रममा देखिएको बिलम्बले निकै ठूलो अप्रजातान्त्रिक हलचल ल्याउन सक्नेतर्फ पनि उनले सबैको ध्यानाकर्षण पनि गराएका छन ।
महासचिव बानका प्रवक्ता मार्टिन नेसिर्कीले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जतिसक्यो चाँडै शान्तिपूर्ण र विश्वसनीय निर्वाचनका माध्यमबाट प्रजातान्त्रिक मूल्य मान्यताको संरक्षण गर्न आग्रह गरिएको छ ।
मालद्वीपको संविधानमा आगामी नोभेम्बर ११ सम्म मात्र वर्तमान राष्ट्रपतिको कार्यकाल रहने व्यवस्था छ । तर अहिले नै निर्वाचन हुन नसकेमा उक्त संवैधानिक प्रावधानको हनन् हुनसक्ने बताइएको छ ।
सो संवैधानिक प्रावधान अगावै संविधानको सम्मान हुने किसिमले निर्वाचन गरी नयाँ राष्ट्रपतिलाई नै कामगर्नसक्ने वातावरण मिलाउने पनि उहाँले सो विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ ।
सन् २००८ मा बहुदलीय राजनीतिक व्यवस्था अंगालेको मालद्वीपमा संयुक्त राष्ट्रसङ्ले पनि समय समयमा प्रजातन्त्रको पक्षमा काम गर्ने सहयोगका लागि विशेष दूत पठाउने गरेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us