सुरक्षा परिषद्का विषयमा साउदी अरेबियाको अडानलाई अरब लिगका प्रमुखद्वारा समर्थन

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते १४:४९ मा प्रकाशित

काइरो, ३ कात्तिक–अरब लिगका प्रमुख नबिल अल–अरेबीले आइतबार साउदी अरेबियाले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को सदस्य बन्न अस्वीकार गर्ने भनी लिएको अडानलाई समर्थन गर्दै यो संस्था अरब विश्वमा आफ्नो जिम्मेवारीका लागि असफल भएको बताएका छन ।
उनले पत्रकारहरूलाई सुरक्षा परिषद्को व्यवस्थापनको विधिमा साउदी अरेबियाले गरेको विरोध सही भएको र अन्तराष्ट्रिय शान्ति स्थापना गर्ने जिम्मेवारीमा सुरक्षा परिषद् असफल भएको बताए । उनले अरब मुलुक, प्यालेस्टाइन तथा सिरिया गत ६ दशकमा सुरक्षा परिषद्को कमजोरीका कारण सबैभन्दा नराम्रोसँग प्रभावित भएको बताए ।
अरब मुलुकहरूले साउदी अरेबियालाई १५ मुलुकयुक्त सुरक्षा परिषद्को स्थान परित्याग गर्ने आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको एक दिन पछि उनको भनाइ आएको हो । संयुक्त राष्ट्र सङ्घका लागि अरब मुलुकका राजदूतहरूले सउदी अरेबियाले सुरक्षा परिषद्मा अरब र मुसलमान विश्वलाई प्रतिनिधित्व गर्नु महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए ।
साउदी अरेबियाले बिहीबार सुरक्षा परिषद्को सदस्यमा विजय हासिल गरेको थियो तर रियादले पछि यस संस्थाले सिरिया तथा मध्यपूर्वका विषयमा दोहोरो चरित्र देखाएकाले यो स्थान नलिने बताएको थियो । धेरै कूटनीतिज्ञ तथा विश्लेषकले साउदी अरेबियाको विरोध अमेरिकालाई सन्देश भएको धारणा राखेका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us