एमाओवादी उम्मेदवारमाथि आक्रमण

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ११:२६ मा प्रकाशित

प्यूठान, ३ कात्तिक– एकीकृत माओवादी प्युठान–२ का उम्मेदवार कृष्णध्वज खड्कमाथि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताले आक्रमण गरेका छन् ।
जिल्लाको लुङमा चुनावी प्रचार सकेर फोप्लीमा कार्यकर्ताको घरमा बास बसेका बेला खड्कामाथि शनिबार राति आक्रमण भएको एकीकृत माओवादी प्यूठानले जनाएको छ ।

आक्रमणबाट खड्का सामान्य घाइते भएका छन् । आक्रमणमा परी एमाओवादी मगरात राज्य समिति सदस्य कृष्ण घिमिरे गम्भीर घाइते भएका छन् । उनको छातीमा गहिरो चोट लागेको हो ।

खाना खाएर सुत्न लागेका बेला ५/७ जनाको संख्यामा आएका वैद्य माओवादीका कार्यर्ताले एक्कासि ढुंगामुढा प्रहार गरी आक्रमण गरेको खड्काले बताए ।

यसैबीच नेकपा–माओवादीका जिल्ला इन्चार्ज हरिबहादुर केसीले उम्मेदवारलाई चुनाव नलड्न आग्रह गरिए पनि आक्रमण गर्ने पार्टी नीति नभएको दाबी गरेका छन् । नेकपा–माअ‍ोवादीले संविधानसभाका उम्मेदवारलाई गाउँ प्रवेशमा रोक लगाउने घोषणा गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us