
वासिङटन– संयुक्त राज्य अमेरिकाले पाकिस्तानलाई सैन्य तथा आर्थिक सहायता प्रदान गर्ने गोप्य निर्णय गरेको छ । अमेरिकाले पाकिस्तानलाई सहयोगस्वरुप एक अर्ब ६० लाख अमेरिकी डलर बराबरको रकम प्रदान गर्ने निर्णय गरेको हो ।
तालिवानी नेता ओसामा बिन लादेन र अमेरिकी ड्रोन हमलामा पाकिस्तानी सेनाहरुको मृत्युपछि पाकिस्तान र अमेरिकाको सम्बन्ध बिग्रिदै गएको बेला अमेरिकाले पाकिस्तानी सहयोग रोक्दै आएको थियो । पाकिस्तानका नवनियृुक्त प्रधानमन्त्री नवाज शरिफ अमेरिका भ्रमणमा निस्किन केही दिन बाँकी रहँदा यो समाचार सार्वजनिक भएको हो ।
प्रधानमन्त्री शरिफ यसै हप्ता अमेरिकी भ्रमणमा निस्कदैछन् । पाकिस्तान र अमेरिकाको सम्बन्धमा सुधार आइसकेको बताउँदै अमेरिकाले पाकिस्तानलाई सहयोग गर्न सुरु गरेको अधिकारीहरुको भनाइ छ । पाकिस्तानले पाएको सहयोगबारे भने दुवैतर्पmबाट कुनै आधिकारिक जनाकारी आइनसकेको एजेन्सीहरुले जनाएका छन् । अमेरिकी कंग्रेसले भने सहयोगका लागि रकम छुट्याउने काम गरिसकेको छ । आगामी वर्षको पूर्वाद्धदेखि नै पाकिस्तानलाई सहयोग प्राप्त हुन थाल्नेछ । पाकिस्तानलाई आतंकवादविरुद्ध लड्नका निम्ति सहयोग पुन सुरु गरेको अमेरिकी अधिकारीहरुको भनाइलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति र पाक प्रधानमन्त्री भेटवार्ता हुने
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच आगामी बुधबार भेटवार्ता हुने भएको छ ।
हाल अमेरिकामा रहेका पाकिस्तानी प्रधानमन्त्री शरिफ र राष्ट्रपति ओबामाबीच सो भेटवार्ता हुन लागेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जनाएको छ ।
यो उच्चस्तरीय भेटवार्ता सन् २००९ पछि पहिलो पटक हुन लागेको समाचारमा जनाइएको छ । हालैका वर्षहरुमा यी दुई देशका बीचको सम्बन्ध चिसिँदै आएको छ । त्यसअघि पाकिस्तानी प्रधानमन्त्रीसँग अमेरिकी विदेश मन्त्री जोन केरीले आइतबार नै भेटने पनि अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्री केरी आइतबार युरोपेली देशको भ्रमणमा जान लागेकोले त्यसअघि उनले पाकिस्तानी प्रधानमन्त्री शरिफलाई भेट्न लागेको समाचारमा जनाइएको छ ।
अमेरिकी विदेश मन्त्रालयका एकजना वरिष्ठ अधिकारीले भने– हामीले विगतका केही वर्षहरुदेखि निकै नै कठिन सम्बन्धका साथ काम गरिरहेका छौँ त्यसैले यस भेटले दुई देशको सम्बन्ध सुधार गर्नका लागि सहयोग पु¥याउने छ ।
उक्त भेटवार्ताका एजेण्डाहरु अहिले नै स्पष्ट नभईसकेको भएपनि पाकिस्तानले हालैका वर्षहरुमा सामना गरिरहेको आतङ्कवादका विरुद्धको कारबाहीलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी पाकिस्तानले केही समययतादेखि उर्जा क्षेत्रमा सङ्कटको सामना गरिहेकोले उर्जाको आपूर्तिका लागि पनि सो अवसरमा कुराकानी हुने उनले बताए ।
अमेरिकाले सन् २०११ मा पाकिस्तानमा लुकेर बसेका अल कायदाका प्रमुख ओसामा बिन लादेनको हत्या गरेपछि पाकिस्तानी सांसदले पाकिस्तानको अनुमति बिना अमेरिकी सेना प्रवेश गरेको भनी विरोध जनाएका थिए ।
त्यस्तै अमेरिकी मानवरहित विमानले पाकिस्तानको विशेषगरी पेसावर र मिरान्साह क्षेत्रमा आक्रमण गर्दा सर्वसाधारणको ज्यान गएको भन्दै पाकिस्तानले पनि विरोध गर्दै आएको छ ।