सेना २४० निर्वाचन क्षेत्रमा आइतबारदेखि परिचालन

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १६:३१ मा प्रकाशित

काठमाण्डु–नेपाली सेनासहित मुलुकको तीनवटै सुरक्षा निकायले आगामी संविधानसभा निर्वाचनमा मतदाताहरूले निर्भयका साथ मतदान गर्ने वातावरण सुनिश्चित गर्ने लगायतको सुरक्षा प्रवन्ध मिलाउन आफूहरू पूर्ण तयारी अवस्थामा रहेको जनाएका छन् ।
निर्वाचन हुन केवल एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप सुरक्षा निकायहरूले आफ्नो तयारीलाई पूर्णता दिएका हुन् ।
सरकारले मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनलाई दृष्टिगत गरी एकीकृत सुरक्षा योजना तय गरेअनुरूप नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग निर्वाचन सुरक्षा प्रवन्धका लागि खटिनेछन् ।
सोअनुरूप नेपाल प्रहरी र निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका म्यादी प्रहरीले मतदान केन्द्रको भित्री सुरक्षा गर्नेछन । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सो बलले नेपाल प्रहरी र नेपाली सेनासँग समन्वय गरी सहयोगीको भूमिका निर्वाह गर्नेछ ।
नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रहेर सुरक्षाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ । निर्वाचन प्रयोजनका लागि नेपाली सेना मुलुकका २४० वटा निर्वाचन क्षेत्रमा आइतबारदेखि परिचालन हुने सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले बताए ।
सो क्रममा सुरक्षाका हिसावले अति संवेदनशील, संवेदनशील र सामान्य देखिएका निर्वाचन क्षेत्रमा आवश्यकतानुसार सेनानीको नेतृत्वमा १०० जनाको गुल्म र सहसेनानीको नेतृत्वमा ४० जना जनशक्ति रहेको प्लाटुन परिचालन हुने प्रवक्ता पोखरेलले जानकारी दिए । निर्वाचन प्रयोजनका लागि नेपाली सेनाका ६२ हजार जनशक्ति परिचालन हुनेछन् भने त्यसको ‘चेन अफ कमान्ड’ जङ्गी अड्डाले गर्नेछ ।
सुरक्षाका हिसाबले अति महत्वपूर्ण र महत्वपूर्ण रहेका निर्वाचन क्षेत्रमा तीनवटै सुरक्षा निकायको सुरक्षा घेरा रहनेछन् । सामान्य मानिएका निर्वाचन क्षेत्रमा भित्री घेरामा नेपाल प्रहरी र अरू जिम्मेवारी नेपाली सेनाले लिने छ ।
सुरक्षित र भयरहित वातावरणमा निर्वाचन कार्यलाई सम्पन्न गर्न मतदानको तीन दिनअघि मतदान केन्द्र नजिक रणनीतिक विन्दु कायम गरी सुरक्षा प्रबन्धसहित सेना परिचालन हुनेछ । सेनाले तीनवटै सुरक्षा निकायसँग समन्वय गरी सूचना आदानप्रदान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिए ।
यसका अतिरिक्त सेनाले आपतकालीन उद्धार, जगेडा जनशक्ति परिचालन, हेलिकप्टरको व्यवस्थापन, मतपेटिका र मतपत्र ढुवानी, हवाई वेस क्याम्प स्थापनालगायतका काममा पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।
त्यसका लागि नेपाली सेनाले जिल्ला, बाहिनी, पृतना र जङ्गी अड्डामा तुरुन्तै क्षेत्रगत तथा जुनसुकै ठाउँमा पनि परिचालन गर्न सक्ने जगेडा जनशक्ति पनि तयारी अवस्थामा राख्नेछ ।
आउँदो मङ्सिर ४ को निर्वाचनमा देशभरका २४० निर्वाचन क्षेत्रमा दस हजार मतदान स्थल र १८ हजारको हाराहारीमा मतदान केन्द्र रहने छन् भने एक करोड २२ लाख मतदाता छन् ।
समानुपातिक निर्वाचन प्रणालीमा १२२ राजनीतिक दलले भाग लिएका छन् भने प्रत्यक्षतर्फ १३० राजनीतिक दलका ६ हजार १४७ उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । त्यस्तै स्वदेशी÷विदेशी पर्यवेक्षकसमेत निर्वाचन पर्यवेक्षणका लागि खटिन थालेका छन् ।
संविधानसभाबाटै संविधान जारी गर्ने नेपाली जनताको चाहनाअनुरूप सबैको सहभागितामा निर्वाचन भयरहित ढङ्गले सम्पन्न गर्न सरकारले आगामी निर्वाचनमा सुरक्षा व्यवस्था प्रभावकारी र सुदृढ बनाउन कुनै कसर बाँकी नराख्ने अठोटसमेत व्यक्त गरेको छ ।
त्यसका लागि नेपाल प्रहरीका ४८ हजार र म्यादी ४५ हजार गरी नेपाल प्रहरी मातहत रहने ९३ हजार जनशक्ति मतदान केन्द्रको भित्री सुरक्षाका अतिरिक्त उम्मेदवार र मतदाताको सुरक्षाका लागि खटिने नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले जानकारी दिए ।
“सुरक्षित र भयरहित वातावरणमा निर्वाध रूपले निर्वाचन सम्पन्न गराउने सिलसिलामा नेपाल प्रहरी पूर्ण रूपमा तयारी अवस्थामा रहेको छ, मतदान पूर्वको सुरक्षा योजना अनुरूप जनशक्ति खटिसकेको छ” – प्रवक्ता सिलवालले भने ।
त्यस्तै सशस्त्र प्रहरी बलका प्रवक्ता सिंहबहादुर श्रेष्ठले पनि निर्वाचन प्रयोजनका लागि बलबाट २९ हजारभन्दा बढी जनशक्ति खटिने बताए । सशस्त्र प्रहरी बलका ६० जिल्लामा रहेका सुरक्षा शिविरबाट निर्वाचनका लागि जनशक्ति खटिने छन् । यो जनशक्तिले अन्य सुरक्षा निकायसँग समन्वय गरी सहयोगीको भूमिका निर्वाह गर्ने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले  निर्वाचन प्रयोजनका लागि सुरक्षा प्रत्याभूति दिलाउन बल पूर्ण तयारी अवस्थामा रहेको प्रष्ट पारे ।
निर्वाचनको सुरक्षाका लागि स्थानीय तहमा जिल्ला सुरक्षा समिति रहेनछ । गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति रहने व्यवस्था छ । एकीकृत सुरक्षा योजनाअन्र्तगत निर्वाचन हुनु एक महिनाअघि सुरक्षा निकायहरूको परिचालन गरिने व्यवस्था छ ।
सरकारले केही दिनयता क्षेत्रगत रूपमा सुरक्षा निर्वाचन सुरक्षा योजना र चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजनाबारे राय, सल्लाह र सुझाव लिनाका साथै त्यसको प्रभावकारी परिचालनबारे छलफलसमेत गरेको छ ।
ती छलफलमा गृहमन्त्री माधवप्रसाद घिमिरेले धेरैभन्दा धेरै जनताको सहभागितामा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने र निर्वाचनमा व्यवधान खडा गर्नेलाई कानुन मुताविक कारबाही गर्ने दृढतासमेत व्यक्त गरेका छन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us