अमेरिकी सरकार १६ दिन बन्द: परम्परावाद तथा आधुनिक उदारवादबीच द्वन्द्व

काठमाण्डु टुडे २०७० कार्तिक २ गते ९:५७ मा प्रकाशित

सोह्र दिनसम्म अमेरिकी सरकारका सेवाहरू आंशिक रूपमा बन्द भएपछि बिहीबार ती सेवाहरू पुनः आरम्भ भएका छन् र यसका कारण अमेरिकालाई २४ अर्ब अमेरिकी डलर घाटा हुनाका साथै यसले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा वासिङटनको विश्वसनीयता घटेको अनुभव अन्तर्राष्ट्रिय रूपमा गरिएको छ । यसबीच अमेरिकी परम्परावाद (अमेरिकन कन्जरभ्याटिजम) तथा आधुनिक उदारवाद (मोडर्न लिब¥यालिजम) बीचको यो सङ्घर्ष अन्त्य नभई विश्राम भएको र योद्धाहरू आफ्ना हतियारमा साँध लगाउन व्यस्त रहेको देखिएको छ ।
न्यु योर्क टाइम्सका अनुसार बाराक ओबामाले सन २०१३ को जनवरी २० मा राष्ट्रपति पदको दोस्रो पदावधिको सपथ ग्रहण गरेको केही समयपछि नै योजना तयार भएको यस बन्दले २४ अर्ब अमेरिकी डलर घाटा पार्नुका अतिरिक्त चौमासिक अवधिमा आर्थिक वृद्धि ०.६ प्रतिशत घटाउने अनुमान स्ट्यान्डर्ड एन्ड पोरले गरेको छ ।
यस बन्दको प्रमुख लक्ष्य राष्ट्रपति ओबामाले सन् २०१० को मार्च २३ मा हस्ताक्षर गरेको बिरामी सुरक्षा तथा तिर्नसकिने स्याहार ऐन (पेसेन्ट प्रोटेक्सन एन्ड अफोर्डेबल केयर एक्ट) का लागि कोष रोक्नु रहेको थियो । यस ऐनलाई ‘अफोर्डेबल केयर एक्ट’ वा ‘ओबामाकेयर’ पनि भनिन्छ । स्वास्थ्य स्याहार तथा शिक्षा समायोजन ऐन (हेल्थ केयर एण्ड एजुकेसन रिकन्सिलिएसन एक्ट) का साथमा यस ऐनलाई सन् १९६५ मा ‘मेडिकेयर’ वा ‘मेडिकेड’ पछि अमेरिकाको स्वास्थ्य सेवा प्रणालीमा सबैभन्दा महत्वपूर्ण कानुनी सुधारको रूपमा लिइएको विकिपेडयाले उल्लेख गरेको छ ।
ओबामाकेयरले स्वास्थ्य बिमाको गुणस्तर तथा त्यसलाई तिर्नसकिने क्षमता वृद्धि गर्ने, सार्वजनिक तथा निजी बिमा कार्यक्रमको माध्यमबाट स्वास्थ्य बिमा नगर्नेको दर घटाउने तथा व्यक्ति तथा सरकारका लागि स्वास्थ्य सेवाका लागत कम गर्ने लक्ष्य लिएको छ । यस कानुनमा बिमा गराउनै पर्ने अवस्था, अनुदान तथा बिमा सेवा परिवर्तन जस्ता अनेकौँ संयन्त्रहरू कायम गरिएका छन् । बिमा कम्पनीहरूले पहिले स्वास्थ्य सेवा बिमामा पूर्व सर्त तथा लिङ्गका सर्त राख्ने गरेपनि नयाँ कानुन अनुसार उनीहरूले न्युनतम स्तरमा समान दरमा सबै निवेदकलाई सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सन् २०१२ को जुन २८ मा अमेरिकी सर्वोच्च अदालतले ‘नेसनल फेडरेसन अफ इन्डिपेन्डेन्ट विजनेस’ विरुद्ध ‘सेबेलिस’को मुद्दामा ‘अफोर्डेबल केयर एक्ट’को संवैधानिकता स्वीकार गरेको थियो भने राज्य सरकारले यसलाई लागु नगरेमा पूर्व मेडिकेडलाई दिइने कोष रोकेर दण्ड दिन भने सङ्घीय सरकारले नसक्ने निर्णय गरेको थियो । यस निर्णयपछि पनि यस कानुनले संसद, सङ्घीय अदालत तथा कहिलेकाँही राज्य सरकारहरूमा कठिनाइ भोगिरहेको छ । यस कानुनलाई विरोध गर्ने, कमजोर भएको देखाउने तथा खारेज गर्ने प्रयासमा परम्परावादको वकालत गर्ने समूह, रिपब्लिकन पार्टीका समूह, केही साना व्यवसायिक समूह तथा रिपब्लिकन पार्टीभित्रको कट्टर परम्परावादीहरूको समूह ‘टी पार्टी’ आन्दोलनको सहयोग रहेको छ ।
अमेरिकी राजनीति परम्परावाद तथा आधुनिक उदारवादका दुई सैद्धान्तिक धरातलमा अडेको छ । सन् १९५४ मा दासताविरोधी कार्यकताहरूले स्थापना गरेको ‘ग्रान्ड ओल्ड पार्टी’ (जीओपी) को रूपमा रहेको रिपब्लिकन पार्टीका तर्फबाट अब्राहम लिङकन यस मुलुकको राष्ट्रपति बनेका थिए । यस दलको सैद्धान्तिक धरातल अमेरिकी परम्परावाद हो । इतिहासविद् ग्रेगोरी स्नाइडरले अमेरिकी परम्परावादका केही आधारहरू पहिचान गरेका थिए र त्यसमा परम्परालाई सम्मान गर्ने, गणतन्त्रलाई समर्थन गर्ने, कानुनी राज्य तथा क्रिस्चियन धर्म मान्ने तथा पश्चिमी सभ्यतालाई प्रतिरक्षा गर्ने कुरा परेका थिए ।
उनीहरूको वित्तीय परम्परावादले सानो सरकार, कम कर, सीमित कानुन, स्वतन्त्र व्यवसायलाई समर्थन गर्छ भने सामाजिक परम्परावादले विद्यालयमा प्रार्थना तथा मृत्युदण्डलाई समर्थन गर्छ तर गर्भपतन, समलिङ्गी वैवाहिक सम्बन्धलाई अस्वीकार गर्छ । उनीहरू विदेशी आप्रवासीमाथि प्रतिबन्ध लगाउनुपर्ने धारणा राख्छन् । उनीहरू बलियो विदेशनीति, सैनिक तथा इजरायललाई समर्थन गर्छन् । उनीहरू बन्दुक राख्न पाउने अधिकारको समर्थन गर्छन् । विलियम एफ बक्लीका अनुसार केन्द्रीकृत सरकारको शान्तिको समयमा काम भनेको नागरिकको जीवन, स्वतन्त्रता तथा सम्पत्तिको रक्षा गर्नु हो र सरकारका अन्य कामले स्वतन्त्रता हर्छ र प्रगतिमा बाधा दिन्छ । यसैले सरकारको वृद्धिलाई निरन्तर रूपमा विरोध गर्नुपर्छ ।
अर्कोतिर डेमोक्र्याटिक पार्टी थोमस जेफर्सनको डमोक्र्याटिक–रिपब्लिकन पार्टीको विकसित रूप हो । सन् १९३० देखि यस दलले सामाजिक उदारवाद तथा प्रगतिको धारलाई अवलम्बन गरेको छ । आधुनिक अमेरिकी उदारवादको यस धारमा सामाजिक न्याय तथा मिश्रित अर्थतन्त्रलाई समर्थन गरिन्छ । अमेरिकी उदारवादमा अफ्रिकी अमेरिकीका लागि मतदानको अधिकार, महिलाको गर्भपतनको अधिकार, समलिङ्गीको अधिकार तथा शिक्षा तथा स्वास्थ्यमा सरकारी कार्यक्रमहरूलाई समर्थन गरिन्छ । यो सिद्धान्त थियोडोर रुजवेल्टको नवराष्ट्रवाद, वुड्रो उल्सनको नव स्वतन्त्रता, फ्र्याङ्लिन डी रुजवेल्टको ‘न्यु डिल’, ह्यारी ट्रुम्यानको ‘फेयर डिल, जोन अफ केनेडीको ‘न्यु फ्रन्टियर’ तथा लिन्डन जोनसनको ‘ग्रेट सोसाइटी’मा आधारित छ ।
अमेरिकी आधुनिक उदारवादमा जोन मेनार्ड किन्सको आर्थिक सिद्धान्तले केन्द्रीय भूमिका खेलेको छ । किन्सले मुलुकको समृद्धिका लागि सरकारले सुक्ष्म अर्थतन्त्रलाई व्यवस्थापन गर्नुपर्छ, बेरोजगारी न्यून राख्नुपर्छ, मुद्रास्फीति नियन्त्रण गर्नुपर्छ र वृद्धिलाई उच्च राख्नुपर्छ भन्ने धारणा राख्नुभएको थियो । यसैले जोन एफ केनेडीले अमेरिकी उदारवादीलाई पछाडि नहेरेर अगाडि हेर्ने, नयाँ बिचारधारालाई स्वीकार गर्ने, जनताको भलाई, उनीहरूको स्वास्थ्य, आवास, शिक्षा, नोकरी, नागरिक अधिकार तथा स्वतन्त्रतालाई ध्यान दिने व्यक्तिको रूपमा व्याख्या गरेका छन । आधुनिक अमेरिकी उदारवादले आर्थिक असमानताको विरोधमा काम गर्छ र समतामुलक समाजमा विश्वास गर्छ ।
अमेरिकामा हाल ड्मोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको रूपमा बाराक ओबामा छन भने संसदको तल्लो सभा प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको बहुमत रहेको छ र संसदको माथिल्लो सभामा डेमाक्र्याटिक पार्टीको बहुमत रहेको छ । यसरी विभाजित सरकारको उपस्थितिमा सैद्धान्तिक धरातलमै दुई पार्टीबीच सङ्घर्ष हुनु अनौठो होइन र हरेक दुई वर्षमा निर्वाचन भोग्नुपर्ने परिस्थितिमा अर्को निर्वाचनका लागि तयार रहनु दुबै दलका लागि आवश्यक हुन्छ ।
अमेरिकामा सरकार आंशिक रूपमा बन्द गर्ने काम भएको यो पहिलो पटक होइन । सन् १९९५ तथा १९९६ मा पनि तत्कालिन डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति बिल क्लिन्टन तथा संसदको तल्लो सभामा रिपब्लिकन पार्टीका तर्फबाट सभामुख न्युट गिनरिचबीच मेडिकेयरको विषयमा विवाद चलेको थियो र सन् १९९५ को नोभेम्बर १४ देखि नोभेम्बर १९ सम्म र सन् १९९५ को डिसेम्बर १६ देखि सन् १९९६ जनवरी ६ सम्म दुई पटक गरी २७ दिनसम्म सरकार आंशिक रूपमा बन्द भएको थियो ।
यस वर्ष सन् २०१४ को आर्थिक वर्षका लागि खर्च विधेयक पारित हुननसक्दा अक्टोबर १ देखि १७ सम्म सरकार आंशिक रूपमा बन्द हुँदा करिब आठ लाख कर्मचारी आंशिक रूपमा कामबाट हटाइए र १३ लाख कर्मचारीलाई उनीहरूको पारिश्रमिक कहिले पाउने हो भन्ने कुरा थाहा नपाइकनै काममा आउन भनियो । धेरै सेवा स्थगन भए र बन्द गरिए । सरकारी कामलाई प्रभाव पार्न नदिने कानुन लागु हुने सेवाका कर्मचारी मात्र काममा रहे । प्रायः सबै सरकारी सङ्ग्हालय, राष्ट्रिय निकुन्ज बन्द भए । राष्ट्रपति ओबामाले बु्रनाई, मलेसिया, फिलिपिन्स तथा इन्डोनेसियाको भ्रमण रद्द गरेका थिए । युरोपेली महासङ्घसँगको प्रस्तावित ‘ट्रान्सएटलान्टिक फ्री ट्रेड एरिया’सम्बन्धी बैठक रद्द भयो । इजरायललाई दिने भनिएको सहयोग ढिला भयो ।

यसैबीच आंशिक रूपमा सरकार बन्द तथा ऋण सीमा नाघ्दाको असरका बारेमा चिनियाँ तथा जापानी सरकारका तर्फबाट पनि आफ्ना धारणा आए भने अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टिन लेगार्डले पनि निकैपटक बोलिन । यस बन्दलाई अगाडि बढाउन संसदको तल्लो सभा प्रतिनिधिसभाका रिपब्लिकन सदस्यहरू तथा माथिल्लो सभा सिनेटका टेड क्रुज जस्ता सदस्यहरूले निकै परिश्रम गर्नुपरेको थियो । उनीहरूको एउटै लक्ष्य ‘ओबामाकेयर’लाई लागू गर्न नदिन त्यसका लागि आवश्यक कोष रोक्नु थियो । स्पष्ट थियो उनीहरू यस सेवाबाट सरकारको आकार र खर्चमा वृद्धि हुने र निजी व्यवसायमा नकारात्मक प्रभाव पर्ने शास्त्रीय सैद्धान्तिक तर्कमा थिए ।
‘ओबामाकेयर’ पछाडिको तर्क समतामूलक समाजमा सबैले तिर्नसक्ने खर्चमा स्वास्थ्य सेवा पाउनुपर्छ र सरकारले त्यो उपलब्ध गराउनुपर्छ भन्ने थियो । यसै विषयमा बाराक ओबामाले सन् २००८ तथा २०१२ को राष्ट्रपति पदको निर्वाचनमा अधिक समय र स्रोत खर्चनु परेको थियो । ती निर्वाचनलाई यसै विषयमा जनमत सङ्ग्रहको रूपमा पनि लिइएको थियो । यो कुरा स्वीकार गर्ने अवस्थामा रिपब्लिकन पार्टी कहिल्यै पनि रहने गरेको छैन ।
सेप्टेम्बर २० देखि प्रतिनिधिसभाले ‘ओबामाकेयर’का लागि कोष रोक्दै अन्य खर्चसहित खर्च विधेयक पारित गर्ने र त्यसमाथि सिनेटले संशोधन गर्दै ओबामाकेयरको पनि कोष कायम गर्दै पारित गर्ने क्रम चल्न थाल्यो । यसरी संसदको दुबै सभाबाट एउटै विधेयक पारित हुनसकेन । रिपब्लिकन सिनेटर तथा टीपार्टीका प्रभावशाली व्यक्तिको रूपमा देखिएका टेड क्रुजले सिनेटले चाहे अनुसारको विधेयक पारित हुन नदिनका लागि २१ घण्टासम्म बोल्नु परेको थियो । राष्ट्रपति ओबामाले ‘अफोर्डेबल केयर एक्ट’ लागू हुन नदिने कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने अडान लिइरहेका थिए ।
यसबीच सरकारी बजेटको मात्र प्रश्न रहेन सरकारको ऋण सीमाको समयसीमा अगाडि आउन थाल्यो र त्यो अक्टोबर १७ मा पथ्र्यो । त्यसलाई बढाउनु आवश्यक थियो । यो ऋण सीमा नबढ्दा अमेरिका इतिहासमा पहिलो पटक ऋण तिर्न असफल हुन्थ्यो । यस समयमा रिपब्लिकन पार्टीका तल्लो सभाका उदारवादी सदस्यहरू सरकार बन्दबाट निकै दिक्क भएका थिए र उनीहरूले अब यसको दोष टेड क्रुज तथा ‘टी पार्टी’माथि लगाउन थालेका थिए । अक्टोबर १५ दिन जीओपीका नेताहरू आफ्ना सांसदहरूलाई आफ्नै विधेयकमा कायम गराउन दुई पटक असफल भए । यसैकारण सिनेटका बहुमतका नेता ह्यारी रिड तथा अल्पमतका नेता मिच म्याकोनेलले जनवरी १५ सम्मका लागि सरकारलाई कोष उपलब्ध गराउने तथा फेब्रुअरी ७ सम्म ऋण सीमा विस्तार गर्ने प्रस्तावमा सहमति गरे । त्यसैलाई सिनेटले ८१ मत पक्षमा र १८ मत विपक्षमा रहने गरि पारित गरिदियो ।
अब प्रतिनिधिसभाका सभामुख जोन बोयनरले पनि यसै विधेयकलाई परित गरिदिने बताए । सिनेटको प्रस्तावलाई प्रतिनिधिसभाले २८६ मत पक्षमा र १४४ मत विपक्षमा रहेर पारित गरिदियो । सभामुख बोयनरले पनि यस विधेयकको पक्षमा मतदान गरे । अक्टोबरको मध्यरातमा राष्ट्रपति ओबामाले यसमा हस्ताक्षर गरे र अमेरिकी सरकार पुनः खुलाभयो । सभामुख बोयनरले आफूहरूले राम्रो युद्ध लडेको भए पनि विजय हुन नसकेको स्वीकार गरे भने राष्ट्रपति ओबामाले कसैले पनि यस सङ्घर्षबाट विजय हाँसिल नगरेको बताए ।
सरकार बन्द गर्ने रिपब्लिकन पार्टीका कट्टरपन्थीहरूको समूह टीपार्टीको करिब नौ महिनाको तयारी तथा १६ दिनसम्मको बन्दले आउँदो जनवरी १५ र फेब्रुअरी ७ मा यस्तै समस्या दोहोरिने छैन भन्ने कुरामा कोही पनि विश्वस्त छैनन् । दुबै पार्टीमा आफूलाई प्रभावशाली ठान्ने व्यक्तित्वहरूले आफू अर्को सङ्घर्षका लागि तयार भएको बताएका छन् । अमेरिकी विभाजित सरकार र हरेक दुई वर्षको निर्वाचनमा यी दुई दलबीच अमेरिकी परम्परावाद र आधुनिक उदारवादबीचको सैद्धान्तिक सङ्घर्ष अन्त्य हुने सङ्केत कतै पनि देखिएको छैन । रासस (स्रोत: विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्था र इन्टरनेटका सामग्री)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us