तिहार नआउँदै गाउँ ढकमक्क

काठमाण्डु टुडे २०७० कार्तिक २ गते ८:२५ मा प्रकाशित

भक्तपुर, २ कात्तिक–गाउँ गाउँमा गरिएको व्यावसायिक फूलखेतीका कारण यतिखेर जिल्लाका अधिकांश गाउँ राताम्यै भएका छन् ।
जिल्लामा फूलखेती गरिएका गाउँघर र टोल टोलका आँगनदेखि बारीमा समेत लहरै मखमली र सयपत्री फूल ढकमक्क फुलेका छन् । भक्तपुरको सबैभन्दा बढी फूलखेती हुने जिल्लाको दक्षिणी भेगको गुण्डु गाविसका घरघर यतिखेर राताम्मै बनेका छन् । गुण्डु मात्र नभई ताथली, नङ्खेल, दुवाकोट र झौखेलको वनमाला टोल राताम्यै देखिन्छ ।
पुख्र्यौली पेसाका रूपमा यहाँका वनमाला समुदायले गर्दै आएको फूलखेतीमा राम्रो आम्दानी गरिएको देखेपछि यहाँका अन्य जातिका बासिन्दाले पनि केही वर्षदेखि फूलखेती गर्न थालेका छन् । सुडाल, दुवाकोट, चाँगु, झौखेल, बागेश्वरी, नङ्खेल, चित्तपोल, सिपाडोल, कटुञ्जेलगायत गाविसका कैयाँै गाउँ विभिन्न जातका फूलले ढकमक्क भएका छन् । मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसान अहिले यसतर्फ आकर्षित भएको गुण्डु गाविसमा छ वर्षदेखि फूलखेती गर्दै आउनुभएकी सरिता कुँवरले बताए ।
धानखेतीभन्दा चौगुणा बढी आम्दानी हुने र बारीमा मकैसँगै फूलखेती गर्न सकिने भएकाले एकै पटक दोहोरो आम्दानी हुने गरेको उहाँको भनाइ छ । उनले भने“जेठमा रोपिएको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ फूल बिग्रिएन भने एक सिजनमा एक रोपनी जग्गाबाट रु ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिन्छ ।”
पछिल्लो समयमा गुण्डुमा फूलमा विषादीको प्रयोग गर्न थालिएपछि उत्पादन घट्दै गएकामा यहाँका कृषकले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समयमा फूलखेतीमा रोग लाग्न थालेपछि किसानले विषादीको प्रयोग गरेका छन् । गुण्डुमा मात्र २०० रोपनीभन्दा बढी जग्गामा फूलखेती गरिएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us