फिलिपिन्सको विमानस्थल विश्वको सबैभन्दा नराम्रो

काठमाण्डु टुडे २०७० कार्तिक १ गते १५:३८ मा प्रकाशित

मनिला, १ कात्तिक–मनिला विमानस्थलको टर्मिनल–१ विश्वको सबैभन्दा नराम्रो टर्मिनलको रूपमा दोस्रो पटक देखिएको छ । यो नतिजा ट्राभल वेबसाइटले गरेको अनलाइन सर्वेक्षणमा देखिएको हो ।
यस सर्वेक्षणको नतिजालाई अस्वीकार गर्दै यहाँका अधिकारीहरुले विमानस्थलमा सुधार भइरहेको दाबी गरेका छन् ।
‘‘द गाइड टु स्लिपिङ इन एयरपोर्ट्स’’ नाम गरिएको वेबसाइटमा मनिलाको विमानस्थलको टर्मिनल–१ विश्वको सबैभन्दा भीडयुक्त टर्मिनलको रूपमा हेरिएको छ । सर्वेक्षणमा सेवाग्राहीले प्राप्त गरेको आराम, सुविधा, सफाइ, सेवालाई आधार बनाइएको थियो ।
टर्मिनल–१ मा सुविधा निकै नराम्रो अवस्थामा भएको, त्यहाँका कर्मचारी र विशेष गरी ट्याक्सी चालक पनि इमान्दार नभएको, लामो समयसम्म कुर्नु परेको तथा अधिकारीहरूको व्यवहार पनि नरम नभएको सर्वेक्षणमा देखिएको छ ।
यी पुराना समस्या भएको दाबी टर्मिनल–१ का व्यवस्थापक दाँते बसन्तले बताए । उनले सरकारले यी समस्या समाधान गरिसकेको दाबी गरे ।     उनले मनिला विमानस्थलको क्षमता प्रति वर्ष ६५ लाख यात्रुलाई सेवा दिने भए पनि गत वर्ष यहाँबाट ८१ लाख पर्यटकले सेवा लिएको दाबी गरे ।
इटालीको बर्गामो विमानस्थलको टर्मिनल दोस्रो सबैभन्दा नराम्रो टर्मिनलको रूपमा देखा परेको छ । यहाँ व्यक्तिहरू कमिज वा जुत्ता पनि नलगाएको अवस्थामा घुमिरहेको देखिने गरेको उल्लेख गरिएको छ ।
यसपछिको स्थानमा कलकत्ता, इस्लमाबाद तथा पेरिसको बुभे टर्मिनल परेको छ । सबैभन्दा राम्रो टर्मिनलमा सिङ्गापुरको चाङ्गी, सोलको इन्चोन, आम्र्सटरडमको सिफोल, हङकङ तथा हेलसिन्कीको वान्टा टर्मिनल देखा परेका छन् ।
मनिलाको यात्रुका लागि बनाइएको चार टर्मिनलमा टर्मिनल–१ सबैभन्दा पुरानो टर्मिनल हो र त्यो ३२ वर्ष आगाडि बनेको हो । यस टर्मिनललाई सुधार गर्न सरकारले पाँच करोड ८० लाख अमेरिकी डलर बराबर खर्च गरेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us