साउदी अरेयिबाद्धारा सुरक्षा परिषदको निर्वाचित सदस्यता अस्वीकार

काठमाण्डु टुडे २०७० कार्तिक १ गते १३:४२ मा प्रकाशित

रियाद, १ कात्तिक–साउदी अरेबिया संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा निर्वाचित भएको एक दिनपछि यस संस्थाले विश्वमा द्वन्द्व समाधान गर्ने विषयमा दोहोरो चरित्र देखाएको भन्दै यसको सदस्यता अस्वीकार गरेको छ ।
साउदी अरेबियाको विदेश मन्त्रालयले सुरक्षा परिषद्को काम गर्ने संयन्त्र तथा दोहोरो चरित्रले यसलाई विश्वमा शान्ति स्थापना गर्ने आफ्नो कर्तव्य पालना गर्न तथा जिम्मेवारी बहन गर्न नदिएको धारणा व्यक्त गरेको छ ।
मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा विश्वको शान्ति तथा सुरक्षा संरक्षण गर्ने यसको कर्तव्य पालना गर्न तथा जिम्मेवारी वहन गर्न यसलाई सुधार नगरिएसम्म र साधन उपलब्ध नगराएसम्म सुरक्षा परिषद्को सदस्यता अस्वीकार गर्नुभन्दा साउदी अरेबियासँग कुनै विकल्प नभएको उल्लेख गरिएको छ ।
तेलधनी परम्परावादी साउदी अरेबिया बिहीबार पहिलोपटक १५ सदस्यीय सुरक्षा परिषद्मा निर्वाचित भएको हो । विश्वमा द्वन्द्व समाधान गर्ने प्रमुख जिम्मेवारी यस संस्थाले लिएको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि साउदी अरेबियाका राजदूत अब्दुल्ला अल–मौलिमीले रियादले विवाद समाधान गर्न शान्तिपूर्ण उपाय तथा उदारवादी विचारलाई समर्थन गरिरहेकाले यो कुरा त्यसैको प्रतिविम्ब भएको बताए ।
विदेश मन्त्रालयले सुरक्षा परिषद्ले मध्यपूर्वमा लामो समयसम्म कायम द्वन्द्व समाधान गर्न नसकेको र यस क्षेत्रलाई पारमाणविक युद्धको चेतावनीबाट पनि जोगाउन नसकेको भनी यसको सदस्यता लिन अस्वीकार गरेको पनि उल्लेख गरेको छ ।
उसले तीन वर्षसम्म सिरियामा चलेको युद्ध तथा इजरायल तथा प्यालेस्टाइनबीच निरन्तर रुपमा चलेको द्वन्द्वलाई पनि विशेष गरी यस संस्थाको सदस्यता अस्वीकार गर्नुको प्रमुख कारण मानेको छ ।
सुरक्षा परिषद्मा अमेरिका, बेलायत, फ्रान्स, रसिया तथा चीन स्थायी सदस्य छन् । अन्य १० सदस्य दुई वर्षका लागि साधारणसभाबाट निर्वाचित हुन्छन् । हरेक वर्ष पाँच स्थानका लागि निर्वाचन हुन्छ ।
साउदी अरेबियालाई १९३ सदस्ययुक्त साधारणसभाले छनौट गरेका हो । उसको साथमा चिली, चाड, लिथवानिया तथा नाइजेरिया पनि यसका सदस्य भएका छन् ।
सुरक्षा परिषद्का सदस्यहरुले साउदी अरेबियाको निर्वाचनलाई स्वागत गरेका थिए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us