गोरखपुरमा लुटिएपछि मानसिक असन्तुलन

काठमाण्डु टुडे २०७० कार्तिक १ गते ५:०४ मा प्रकाशित

बागलुङ, १ कात्तिक–भारतको पञ्जावबाट नेपाल फर्कने क्रममा गत शनिबार गोरखपुरमा लुटिएका एक युवाको मानसिक सन्तुलन बिग्रिएको छ ।
कामको खोजीमा डेढ महिनाअघि पञ्जाव पुगेका मल्म गाविस–७ का २६ वर्षीय ईश्वर साहानी दसैँमा घर फर्कने क्रममा गोरखपुरमा अपरिचित व्यक्तिको समूहबाट लुटिएका थिए ।
गत शनिबार राति १ बजेतिर गोरखपुर रेल स्टेसन नजिकै बसिरहेको अवस्थामा आपराधिक व्यक्तिले नशालु पदार्थ सुँघाएर साहानीलाई बेहोस तुल्याई साथमा रहेको नगद र झोला लुटेका थिए । नगद तथा सामान लुटिसकेपछि पनि निर्घात कुटपिटमा परेका साहानीलाई घाइते अवस्थामा घटना भएको दुई दिनपछि बुटवलको लुम्बिनी अञ्चल अस्पताल परिसरमा भेटिएको उनका बुबा लोकबहादुर साहानीले बताए ।
कुटपिटबाट घाइते साहानीको शरीरभरि नीलडाम छन् । नशालु पदार्थ र कुटपिटका कारण साहानीको मानसिक सन्तुलन बिग्रन पुगेको हो । साहानीलाई थप उपचारका लागि बुधबार काठमाण्डु लगिएको छ । गोरखपुरमा बेहोस पारिएका साहानीले केही मात्रामा होस फर्केपछि घरपरिवार र आफन्तलाई आफू लुटिएको र भैरहवा लिन आउनका लागि आग्रह गरेको बुबा लोकबहादुरले बताए ।
“पञ्जावबाट आउँदा रेलमा आएको र गोरखपुर ओर्लेर सुनौलीका लागि बस पर्खिरहेको बेला छोरा लुटिएको रहेछ”– बुबा लोकबहादुरले भने“चौतारोमा बसिरहेको बेला समूहमा आएका व्यक्तिले नगद, झोला र अन्य सरसमान लुटेको भन्ने थाहा पाइयो ।”
डेढ महिनाअघि मात्र रोजगारीका लागि त्यहाँ पुगेका ईश्वरसँग धेरै मात्रामा नगद नभए पनि २०, ३० हजार रुपैयाँ लुटिएको हुनसक्ने उनको परिवारले जनाएको छ । त्यसबाहेक साहानीसँग भएको झोला र अन्य सरसामन पनि लुटिएको छ ।
आफू भैरहवा आउन लागेको बताएपछि ईश्वरका आफन्तजन खोजीका लागि भैरहवा हुँदै गोरखपुरसम्म पुगेका थिए । भोलिपल्ट २७ गतेसम्म पनि भैरहवा र गोरखपुरमा नभेटिएका ईश्वर त्यसको अर्को दिन अकस्मात लुम्बिनी अञ्चल अस्पतालको परिसरमा बेवारिसे अवस्थामा फेला परेका उनको परिवारले जनाएको छ । लुटिएपछि होस आएको बेला साथमा रहेको मोबाइलबाट घरमा फोन गरे पनि पछि उक्त मोबाइल पनि उनको साथमा नरहेको पाइएको छ ।
लुम्बिनी अञ्चल अस्पताल परिसरमा भेटिँदा उनी अर्धनग्न अवस्थामा रहेको बुबा लोकबहादुरले बताए । अस्पतालको सुरक्षागार्डको सहयोगमा ईश्वरलाई परिवारजनले फेला पारेका थिए । “घरमा भएको एउटा छोरो पनि कमाउन भनेर विदेश गएको थियो, बीचैमा दैव लाग्यो अब के गर्ने जिन्दगीभरि दुःख पाउनेभइयो”– बुबा लोकबहादुरले भने ।
कुटाइ र नशालु गन्ध सुँघाइएका कारण उनको मानसिक असन्तुलन खल्बलिन पुगेको हो । साहानीले खाना पनि नखाने, धेरै मानिस देख्यो भने भाग्ने, डराउने, अस्वाभाविक खालका व्यवहार देखाउने गर्न थालेपछि परिवारले उपचारका लागि काठमाण्डु पुरयाएका हो ।
“के गर्ने कमाउन विदेश गएको छोरो दसैँमा घर आउने धोखोले यस्तो घटनामा पा¥यो, अब ऋण धन गरेर भए पनि उपचार गर्नैप¥यो”– बुबा लोकबहादुरले भने । उनको यस्तो अवस्था देखेर श्रीमती र दुई छोरी गहिरो पीडामा परेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us