बेल्जियम नागरिकद्वारा ६ लाख सहयोग

काठमाण्डु टुडे २०७० कार्तिक १ गते ३:१७ मा प्रकाशित

म्याग्दी, १ कात्तिक–म्याग्दीको घार–२ चित्रेमा रहेको न्यू हिमालय युवा क्लबको भवन निर्माणमा बेल्जियम नागरिक पलभाण्डा मर्टेलले ६ लाख रुपैयाँ सहयोग गरेका छन ।
यसअघि चित्रेमा शान्ति मेडिकल हल र लालीगुराँस प्राविको भवन निर्माणमा समेत आर्थिक सहयोग गरेका मर्टेलले क्लबको निर्माणाधीन भवनका लागि ६ लाख रुपैयाँ सहयोग गरेको क्लब अध्यक्ष नारायण पुनले जानकारी दिए ।
निर्माणाधीन भवनको सहयोगदाता मर्टेलले बिहीबार उद्घाटन गरेका छन । चित्रेमा विवाह गरेका मर्टेल दसैँ मनाउन आएका हुन । सोही अवसर पारेर क्लबले निर्माणाधीन भवनको उद्घाटन गरेको जनाएको छ । स्थानीयवासीको दुई लाख बराबरको जनश्रमदान गरी कुल आठ लाखमा उक्त भवन निर्माण गरिएको क्लबले जनाएको छ ।
क्लबले विजयादशमीको अवसरमा आयोजना गरेको विविध खेलकुद तथा सांस्कृतिक मेलाको अवसरमा बेल्जियम नागरिक मर्टेलले गाउँको शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा आफूले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
गत वर्ष क्लबलाई उनले एक लाखबराबरको खेलकुद सामग्री प्रदान गरेको क्लब अध्यक्ष पुनले जानकारी दिए । सोही अवसरमा पुख्र्याैली नृत्य र विविध सांस्कृतिक कार्यक्रमसमेत देखाइएको थियो । यसैबीच न्यू हिमालय युवा क्लबको आयोजनामा दसैँ विशेष खेलकुद तथा सांस्कृतिक मेला सुरु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us