क्यान्सरको मुख्य कारण वायु प्रदुषण

काठमाण्डु टुडे २०७० असोज ३१ गते १५:०६ मा प्रकाशित

जेनेभा–वायु प्रदुषण क्यान्सर रोगको मुख्य कारण रहेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले हालै गरेको एक अध्ययनमा यो तथ्य भेटिएको हो ।
घर बाहिर हुने गरेका धुवाँ धुलोका साथै सवारीका साधनहरुबाट निस्किने प्रदुषित धुवाँ र सडकको धुलोको कारण यस्तो रोगको प्रकोप पछिल्ला वर्षहरुमा बढ्दै गएको पाइएको सो अनुसन्धानमा उल्लेख छ ।
विश्व स्वास्थ्य सङ्गठनको क्यान्सर रोगसम्बन्धी अनुसन्धान गर्ने संस्था इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले बिहीबार सार्वजनिक गरेको सो अनुसन्धानमा उक्त तथ्य भेटिएको हो ।
‘हामीले हाल आएर यो तथ्य भेटेका छौँ कि क्यान्सर रोगबाट हुने अधिकांश मृत्युहरुको कारण घरबाहिर हुने गरेको प्रदुषण पाइएको छ’सो अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
उक्त अनुसन्धानमा लेखिएको छ–‘यो प्रदुषण नै मानिसको फोक्सो र ब्लाडरमा हुने क्यान्सरको सबैभन्दा ठूलो कारण हो ।’
यस अघिका अनुसन्धानहरुमा पनि यो वायु प्रदुषणलाई मानवको स्वासप्रस्वास र मुटुसम्बन्धी समस्याको कारकका रुपमा पाइएको थियो ।     तर त्यो भन्दापनि अझ खतरनाक रुपमा हाल आएर उक्त प्रदुषणका कारण क्यान्सरकै खतरा रहेको तथ्य भेटिएको सो अनुसन्धानले देखाएको हो ।
सन् २०१० पछिको तथ्याङ्कले यस अवधिमा भएका कम्तीमा पनि दुई लाख ३० हजार जना फोक्सोको क्यान्सरका रोगीहरुको मृत्युको कारण पनि वायु प्रदुषण नै रहेको पाइएको छ ।
हालैका वर्षहरुमा विश्वका केही प्रमुख शहरहरुमा वायु प्रदुषणको मात्रामा निकै नै बृद्धि भइरहेकोले क्यान्सरको खतरा पनि झन बढ्न सक्ने अनुमान सो अनुसन्धानमा गरिएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us