लीलाका भगवान् सिनेस्टार सुनील सेट्टी

काठमाण्डु टुडे २०७० असोज ३१ गते ५:०० मा प्रकाशित

शिवराज भट्ट
धनगढी: ‘जसको कोही हुँदैन, उसको सहारा भगवान् हुन्छ’ भनेजस्तै डँडेल्धुरा गणेशपुरकी बालिका लीला विकका लागि भारतीय सिनेस्टार सुनील सेट्टी भगवान् भएका छन्।Sunil

मस्तिष्कज्वरोले सिकिस्त भएपछि भारतको उत्तराञ्‍चल राज्यस्थित खटिमाको एक निजी अस्पतालमा भर्ना गरिएकी लीलाको उपचारमा रकम अभाव खड्किएको थियो। बलिउड स्टार सुनीलले यो खबर पाएपछि उपचारमा लाग्‍ने सबै खर्च बेहोर्ने भए। सुनीलले लीलाको उपचारका लागि पैसा पठाइदिएपछि अहिले उनको अवस्था खतरामुक्त छ।

घटना विवरणअनुसार किसन विककी नौ वर्षीया छोरी लीला एक साताअघि घरमै बिरामी परेकी थिइन्। उनलाई उपचारका लागि डँडेल्धुराकै उपक्षेत्रीय अस्पतालमा भर्ना गरियो तर चिकित्सकले मस्तिष्कज्वरोले समातेकाले ठूलो अस्पतालमा लैजान सल्लाह दिए। ‘उपचार गराउन लैजाने नजिकको स्थान भारत थियो। त्यसैले उत्तराञ्‍चल राज्यको खटिमास्थित आनन्द अस्पताल लगेर भर्ना गरें’, लीलाकी आमा दुर्गादेवीले भनिन्, ‘डाक्टरले छोरीको उपचारका लागि कम्तीमा पनि ३५ हजार भारु लाग्‍ने बताएपछि उपचार नै नगरी घर फर्किने तयारी गरेकी थिएँ। तर मुम्बईका मालिकले अस्पताललाई पैसा पठाइदिनुभयो र उपचार सम्भव भयो। उहाँ हाम्रा लागि भगवान् बन्नुभयो।’

दुर्गाले मुम्बईमा चौकीदारीको काम गर्ने पतिलाई फोनमार्फत छोरी सिकिस्त भएको जानकारी गराइन्। यो कुरा सुनीलले किसनमार्फत थाहा पाएपछि उपचारमा लाग्‍ने रकम आएको दुर्गाले बताइन्। ‘मुम्बईका मालिकले उपचारका लागि रकम पठाएपछि छोरी बाँचिन्’, दुर्गाले भनिन्। दुई महिनाअघि कामको खोजीमा मुम्बई पुगेका दुर्गाका पति किसन तिनै सिनेस्टार सुनीलको घरमा चौकीदारीको काम गर्छन्।

अस्पतालकी प्रबन्धक रश्मी जोशीले सुनीलले आफ्नो घरमा काम गर्ने किसनकी छोरीको उपचारका लागि अस्पतालका नाममा पैसा पठाइदिएको बताइन्। नयाँदिल्लीका आफ्ना मित्र इन्टरलाइन बिजनेस सोलुसन प्रालिका सिनियर महाप्रबन्धक सञ्जय सिन्हामार्फत सुनीलले कुरुवाखर्च १५ हजार र उपचारका लागि ३५ हजार रुपैयाँ पठाइदिएका छन्। ‘सुनील सेट्टीले उपचारमा लाग्‍ने सबै खर्च बेहोर्छु भन्नुभएको छ। राम्रो उपचार गर्नू भनेर दैनिक फोन गर्नुहुन्छ’, जोशीले भनिन्, ‘बालिकाको अवस्था सोध्‍नुहुन्छ। खानपान र उपचारमा कुनै कमी नगर्न भन्नुहुन्छ।’

पैसा आएपछि दुर्गा पनि खुसी छिन्। ‘मालिकले उपचारमा कुनै कमी आउँदैन भनेर लीलाका बुबालाई पनि पठाउनुभएको छैन। राम्रो मालिकको घरमा काम गर्नुभएको रहेछ’, दुर्गाले भनिन्, ‘हामीसँग एक हजार पनि थिएन। गाउँबाट गाडीभाडा सापटी मागेर डँडेल्धुरा आएका थियौं। त्यहाँबाट खटिमासम्मका लागि आफन्तले सहयोग गरे।’

दसैंको टीकाको दिन छोरी लिएर दुर्गा आनन्द अस्पताल पुगेकी थिइन्। आईसीयूमा राखिएकी छोरीले दुई दिनपछि आँखा खोलेपछि खुसीका आँसु रोक्‍न नसकेको दुर्गाले बताइन्। ‘मेरो भगवान् मालिक हुन्। उहाँले मर्न लागेकी छोरी बचाइदिनुभयो’, उनले भनिन्।

लीलाको उपचारमा अस्पतालले डाक्टर डीके त्रिपाठी र मनमोहन व्यासलाई खटाएको छ। त्रिपाठीले सुरुमा बालिकाको अवस्था एकदमै नाजुक रहेको तर अहिले खतरामुक्त रहेको जानकारी दिए। ‘यस्तो ज्वरोले मगज ‘ब्लास्ट’ हुन्छ तर अब अवस्था सामान्य बन्दैछ’, उपचारमा खटिएका अर्का चिकित्सक व्यासले भने, ‘सुनील सेट्टीको फोन आएपछि हामी उत्साहित छौं। बालिकाको जीवन बचाउनु हाम्रो पनि जिम्मेवारी हो।’ उनले बालिकालाई अझै दुई साता आईसीयूमा राख्‍नुपर्ने बताए। Annapurnapost Daily

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us