इराकमा युद्धबाट मर्नेको सङ्ख्या पाँच लाख

काठमाण्डु टुडे २०७० असोज ३० गते १४:५२ मा प्रकाशित

किर्कुक,असोज–इराकको किर्कुक नगरमा एक सुन्नी मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका भक्तजनको बीचमा एक बम विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ भने सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि युद्धग्रस्त यस मुलुकमा मर्नेको सङ्ख्या पाँच लाख पुगेको छ ।
बुधबार मर्नेमा तीन बालबालिका, एक प्रहरी तथा एक सैनिक परेका छन । यस विस्फोटका कारण २६ व्यक्ति घाइते भएको प्रहरी तथा चिकित्सकले बताए ।
मुसलमान धार्मिक समुदायको इद अल–आधाको आरम्भमा मस्जिदमा प्रार्थन गरी मानिसहरू फर्कदै गरेको अवस्थामा उक्त बम विस्फोट भएको थियो । उक्त आक्रमणको केही घण्टापछि अमेरिका, क्यानडा तथा बग्दादका विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक अध्ययनमा अमेरिकाले एक दशक अगाडि इराकमा आक्रमण गरेपछि यस मुलुकमा युद्ध सम्बन्धित मृत्युको सङ्ख्या पाँच लाख पुगेको देखिएको छ ।
बेलायती संस्था इराक बडी काउन्टले यस हिंसामा एक लाख १५ हजार नागरिकको मृत्युभएको उल्लेख गरेको छ र पछिल्लो सङ्ख्या बडी काउन्टले दिएको सङ्ख्या भन्दा निकै बढी हो । यस संस्थाले आफ्नो अध्ययन आमसञ्चारको समाचार, अस्पताल तथा शवगृहका रेकर्ड तथा सरकारी तथा गैर सरकारी संस्थाले राखेको तथ्याङ्कमा आधारित भएको बताएको छ ।
नयाँ अध्ययन प्रतिवेदन अमेरिकामा प्रकाशन भएको हो र यसमा इराकको स्वास्थ्य मन्त्रालयको सहयोग प्राप्त छ । यस अध्ययनमा हिंसाका कारण अधिक मृत्यु भएको देखिए पनि तीमध्ये एक तिहाइ युद्धसँग अप्रत्यक्ष रूपमा संबन्धित रहेको बताइएको छ ।
यसमा सन् २००३ देखि २०११ सम्म मुलुकभर भएका मृत्युको सङ्ख्या जोडिएको छ । यी जानकारी वासिङ्टन विश्वविद्यालयका सार्वजनिक स्वास्थ्य अनुसन्धानकर्ता एमी ह्यागोपियनले दिएका हुन ।
यसमा गर्भवती महिलाले युद्धका कारण स्वास्थ्य सेवा नपाएको, यस्तो अवस्थामा प्रदूषित पानी पिएको, अस्पतालमा धेरै घाइते भर्ना हुँदा उपचार प्राप्त हुन नसकेको कारणले मरेका व्यक्तिको सङ्ख्या पनि जोडिएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us