जापानमा चक्रवातबाट मृत्यु हुने १७ पुगे

काठमाण्डु टुडे २०७० असोज ३० गते १४:२२ मा प्रकाशित

टोकियो, ३० असोज–जापानको राजधानी टोकियोमा आएको विफा नामको चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।
जापानको प्रशान्त क्षेत्रीय तटीय क्षेत्रलाई गएरातिदेखि शक्तिशाली चक्रवातले प्रभावित पारेको छ । सो प्रभावका कारण १७ व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
जापानी अधिकारीहरुले उक्त आँधीबाट मृत्यु हुनेको सङ्ख्यामा अझै बृद्धि हुनसक्ने जनाएका छन् । उनीहरुका अनुसार उक्त आँधीमा परी दर्जनौँ व्यक्ति हराइरहेका छन् ।
सो विफा नाम गरेको प्रशान्त क्षेत्रीय चक्रवात गएको करिब एक दशकमा सबैभन्दा शक्तिशाली मानिएको छ । यसले टोकियोको दक्षिणमा रहेको तटीय क्षेत्रका घरहरूलाई प्रभावित बनाएको छ । उक्त आँधीबाट मृत्यु भएका व्यक्तिको शव घरभित्रै भेटिएको छ । आँधीका कारण घर भत्किएपछि कयौँ व्यक्ति घरभित्रै थिचिएका थिए ।
उद्धारकर्मीहरूले ती घरभित्र च्यापिएका व्यक्तिलाई जिवीतै उद्वारको प्रयास गरिहेको जनाएका छन् । तरपनि चक्रवात प्रभावित केही क्षेत्रमा पुग्न प्रहरीलाई अझै कठिनाइ भइरहेको छ ।
कयौँ स्थानीय व्यक्तिलाई उद्धार गरी आश्रय अस्थायी शिविर निर्माण गरेर राखिएको छ । यसैबीच टोकियोमा करिब ४०० उडान अवरुद्ध भएको छ । केही अन्तर्राष्ट्रिय उडान पनि रद्द भएको अल निप्पोन एयरवेज तथा जापान एयरवेजले जानकारी दिएका छन् ।
चक्रवातका कारण ६० हजारभन्दा बढी यात्रु प्रभावित भएको बताइएको छ । उक्त चक्रवातका कारण हावाहुरीले रुखका हाँगा भाँचेर सडक अवरुद्ध पारेको र भीषण वर्षापनि भएको बताइएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us