भारतमा चक्रवातपीडित घर फर्के

काठमाण्डु टुडे २०७० असोज २८ गते ९:३० मा प्रकाशित

गोपालपुर (भारत) २८ असोज-भारतमा गत १४ वर्षमा सबैभन्दा प्रभावशाली ठानिएको चक्रवातका कारण अन्यत्र गएका लाखौँ मानिस आफ्नो घर तथा व्यापारमा फर्केका छन् । यसबीच चक्रवातबाट प्रभावित क्षेत्रमा व्यापक उद्धार कार्यक्रम सञ्चालन भएको छ ।
यस चक्रवातका कारण १० लाख मानिसलाई अन्यत्र शरण लिन लगाइएको थियो । चक्रवातबाट १८ व्यक्तिको मृत्यु भएको देखिएको छ भने यसले क्षतिको एउटा रेखा खिचिदिएको छ ।
फाइलिन नामक यस चक्रवातले उडिशा तथा आन्ध्रप्रदेशलाई प्रभावित बनाएको थियो । चक्रवातमा हावाको गति २०० किलोमिटर प्रति घण्टा रहेको अनुमान गरिएको छ । चक्रवातको मार्गमा रुख उखेलिएका छन्, ट्रक पल्टेको छ र विद्युतका सञ्जाल नष्ट भएको छ ।
यस राज्यका विशेष उद्धार आयुक्त प्रदीप्त कुमार मोहपात्रले यस चक्रवातका कारण उडिशामा ६ लाख जनता घरवार बिहीन भएको र हजारौँ गाउँ प्रभावित भएको जानकारी दिए ।
यस चक्रवातका कारण उडिशामा १७ व्यक्तिको मृत्यु भएको छ भने एक व्यक्तिको आन्ध्रप्रदेशमा मृत्युभएको छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आइतबार साँझ यस चक्रवातका कारण ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेका छन । उनले अधिकारीहरूलाई छिटो उद्धार तथा पुनस्र्थापना कार्य आरम्भ गर्न आग्रह गरेका छन । उनले उद्धार अधिकारीहरूलाई उच्च स्तरको तयारीका लागि धन्यवाद दिए । भारतमा सन् १९९९ मा गएको चक्रवातका कारण आठ हजार व्यक्तिको मृत्युभएको थियो ।
अधिकारीहरूले यस चक्रवातपूर्व उडिशामा आठ लाख ७३ हजार स्थानीय वासिन्दालाई अन्यत्र सारेका थिए भने आन्ध्र प्रदेशमा एक लाख व्यक्तिलाई अन्यत्र सारेका थिए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us