दूतावासका कर्मचारीको तलब बढ्ने

काठमाण्डु टुडे २०७० असोज २५ गते ११:२३ मा प्रकाशित

अमेरिका । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले दूतावासमा कार्यरत स्थानीय कर्मचारीको तलब बृद्धि र बीमाको व्यवस्था गर्न सरकार तयार रहेको बताएका छन् । अमेरिकास्थित नेपाली दूतावासले गरेको स्वागत कार्यक्रममा अर्थमन्त्री कोइरालाले आफूले भ्रमण गरेका प्रत्येक देशका दूतावास र कुटनीतिक नियोगहरुले यस विषयमा भोगेको यथार्थबारे आफू जानकार रहेको बताउँदै सेवा सुविधा बृद्धि गर्ने आश्वासन दिए ।

स्थानीय कर्मचारीहरुको समय सापेक्ष सुविधामा वृद्धि नहुँदा दूतावासकै काम प्रभावित भएको भन्दै उनले दूतावासले भोगिरहेका समस्या लिखित रुपमा नेपाल सरकारलाई पठाउन आग्रह पनि गरे ।

सो अवसरमा अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्माले भिसा प्रणाली अनलाइन नहुँदा नेपालीहरुले झन्झट व्यहोर्नु परेको गुनासो गरेका थिए । अहिले जारी गर्ने गरिएको तीन प्रकारको भीसालाई एकै किसिमको बनाउन, १० वर्षमुनिकालाई निशुल्क भीसा दिने गरिएकोमा अब सबैलाई भीसा शुल्कको व्यवस्था गर्न र भीसा स्टिकरको गुणस्तर स्तरोन्नति गर्न उनले माग गरे ।

अर्थमन्त्रीका स्वकीय सचिव सुमिन ढकालका अनुसार सो अवसरमा अर्थ सचिव शान्तराज सुवेदी, अर्थ मन्त्रालय वैदेशिक महाशाखा प्रमुख मधुकुमार मरासिनी, उपसचिव टेकबहादुर खत्रीको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us